मोहन दुवाल, वरिष्ठ साहित्यकार
कथा, उपन्यास र आत्मकथ्यमा विशिष्ट स्थान बनाउन सफल साहित्यकार हुन् वी.पी. कोइराला । राजनीतिमा आफ्नै दृष्टि–बिम्ब राखेर प्रजातान्त्रिक आन्दोलनका शिखर–पुरुष भएकै कारणले राजनीतिमा जति चर्चा परिचर्चा भए उनी त्यति साहित्यमा चर्चा भएको देखिँदैन । तर पनि साहित्य लेखनमा यिनले छोडेर गएका सिर्जना कृतिहरुमार्फत् यिनको विश्लेषण र मूल्यांकन गरिँदा भन्न सकिन्छ यिनी साहित्य सिर्जनामा पनि होचा देखिँदैनन् । मनोविज्ञानका अनेकौं पक्षहरुलाई आफ्नो आख्यानमा भर्न सिपालु भएकै कारणले यिनको साहित्यमा मानवीय मनोविज्ञान छताछुल्ल छन् । पात्रहरुको चरित्र–चित्रणमा पनि ज्यूँदोपन ल्याउन यिनी सफल छन् । यौन मनोविश्लेषण गर्न खप्पिस भएकै कारणले यिनी यौनवादी साहित्यकारका रुपमा परिचित जस्तो देखिएता पनि यिनका आख्यानहरुमा पोखिएका सामाजिक जीवनका यथार्थहरु प्रभावकारी र हृदयस्पर्शी छन् ।
उपन्यास लेखनमा आफ्नै पहिचान छोड्न सफल उपन्यासकार कोइरालाले आफ्ना सबैजसो उपन्यासमा इतिहास पृष्ठभित्रका क्रमहरु, सामाजिक परिवेशसँग गाँसिएका मर्म कथाहरु, मानवजन्य यौन भावनाका उन्मादहरु कथाका पात्र–पात्राहरुमार्फत् सम्प्रेषित छन् । तीन घुम्ती मान्छेहरुले भोग्ने घुम्तीका क्रमहरुबाट सिर्जित कथा प्रसङ्गका उपन्यास हुन् । नरेन्द्रदाई मान्छेकै जीजिविषाका कथा क्रमहरु हुन् । सुम्निमा किराँती संस्कृतिभित्रकी जिउँदो पात्रा हुन् । बाबु, आमा र छोरा भिन्न प्रकृति बोकेर लेखिएको वातावरणभित्रको कथा हो । हिटलर र यहुदी तथा मोदिआइनमा अर्कै खालको मानसिक धरातलका कथा–व्यथाहरु चित्रित छन् ।
वि.सं. १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मेका वी.पी. कोइरालाका पुख्र्यौली घर दुम्जा हो । पिता कृष्णप्रसाद कोइराला र माता दिव्यादेवीको कोखबाट जन्मेका चूडामणि नै विश्वेश्वरप्रसाद कोइराला हुन् । उनका पिता सामाजिक चेत् भएका चेतनशील नागरिक भएकै कारणले समाजमा खटिरहन रुचाए । स्कुल खोल्ने, अस्पताल स्थापना गर्ने, गरीब–दुुःखीजनप्रति सहानुभूतिपूर्वक भावना राख्ने यी आदि कार्यहरुले गर्दा उनी समाजका बलिया पथप्रर्दशक सावित भए । त्यसताका समाजको भलाई गर्न रुचाउने व्यक्तिहरु राणा शासकहरुका आँखाका कसिङ्गर हुन्थ्यो । यही स्थितिबाट राणाजीहरुले देश निकालाको आदेश दिए अन्यथा जेल–जीवन भोग्नुपर्ने अवस्थामा पु¥याए । त्यसपछि उनी काशीमा रहन गए । भारतमा चल्दै गरेको आन्दोलन र पिताको समाजसेवा र राजनीतिप्रतिको लगावबाट वी.पी.ले आफू सानो छँदा नै आफूभित्र राजनीति चेतना भर्ने मौका प्राप्त गरे । सानैदेखिको यस खालको वातावरणले वी.पीले राजनीतिमा आफ्नो छवि बनाउन सफल रहे । भारतमा धेरै वर्ष निर्वासनसम्म हुन बाध्य बनाइएका यिनका जीवनका धेरैजसो क्षणहरु त्यतै बितेको पाइन्छ । गान्धी, नेहरुको राजनीतिक प्रभाव र प्रेमचन्दको साहित्यिक सिर्जनाका प्रभाव यिनमा परेको देखिन्छ ।
दोषी चश्मा यिनको चर्चित कथासङ्ग्रह मानिन्छ । श्वेत भैरवी पछिल्लोचोटि प्रकाशित कथासङग्रह हो । पहिलो प्रकाशित कथासङग्रहजस्तो यो कृति त्यति चर्चामा आएको देखिँदैन । राजनैतिक नेता भइकन पनि कथा, उपन्यासमा अर्थात् आफ्नो सिर्जनामा राजनैतिक आदेश र आग्रह अस्वाभाविक ढङ्गले सम्प्रेषित गरेको देखिँदैन । भारतका प्रसिद्ध कथाकार प्रेमचन्द यिनका कथा लेखनका प्रेरणा दिने गुरु मानिन्थ्यो । भारतमा छँदाबस्दा प्रेमचन्दसँग निकै नजिक हुने र सम्पर्क भएकै कारणले कथामा यिनको प्रभाव पर्नु अस्वाभाविक थिएन । १९३१ मा वी.पीले चन्द्रवदन कथा शारदामा प्रकाशित गराएर आफूलाई सर्वप्रथम कथाकारका रुपमा चिनाएका हुन् । चेखबबाट विशेष प्रभावित रहेका कथाकार कोइरालाले यिनकै प्रभावमा परेर उच्च वर्गको आडम्वरपूर्ण जीवन र अन्तरविरोधका क्रमहरु आफ्नो कथाका विषयवस्तु बनाएका हुन् । कर्णेलको घोडामा यस खालका दृष्टि–बिम्ब सम्प्रेषित छन् । कथाका सम्बन्धमा उनले एकठाउँमा यसरी उल्लेख गरेका छन् –“मेरा कथाबाट अरुले जे माने लगाउन त्यो त उनीहरुको आफ्नो दृष्टिकोण हो । तर मैले जैले पनि आफ्ना कथाबाट सामाजिक कुनै एक बिन्दुलाई लिएर त्यसमा आफ्नो दृष्टिकोण राख्न चाहेको छु ।”
सुन्दरीजलमा जेलजीवन नबिताएको भए यस खालका कालजयी कृतिहरु अवश्य लेखिने थिएनन्, यो त अहोभाग्यजस्तो भयो वी.पीका लागि । एकजना लेखक भई आफूलाई चिनाउन जेलजीवनले वी.पीलाई साथ दियो । लेखक हुन एकान्त समय चाहिने रहेछ । त्यही समय प्राप्ति भयो वी.पीका लागि जेलजीवन । एकजना विशिष्ट राजनीतिज्ञ । नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखरपुरुष जस्ले जीवनभर राजनीतिमा आफ्नो व्यथा–कथा गाँसे । त्यस्ता राजनीतिज्ञले आफूलाई साहित्यमा चिनाउन पनि सफल रहे । कृतिगत ढङ्गले विवेचना गर्दा भन्न सकिन्छ आफ्नै पहिचान र बिम्ब देखाएर आफूलाई शाक्तिशाली लेखकका रुपमा चिनाए ।
साहित्यमा आफूलाई अराजकतावादी र राजनीतिमा समाजवादी भन्न रुचाउने यिनले राजनीतिमा सुन्दर खालको विशिष्ट अनुहार फ्रेममा सजाएर गएका छन् त्यस्तै साहित्यिक पोट्रेटमा पनि यिनले आफ्नो अनुहार चम्किला र हँसिला बनाएर गएका छन् । एक खालको विचार बोकेर नेपालको प्रजातन्त्रको आन्दोलनमा नेतृत्व लिएर प्रजातन्त्रवादीका शीर्षस्थ नेताका रुपमा आफूलाई उभ्याउन सफल यिनले आफ्नो रचना–कृतिहरुलाई उल्लेखयोग्य साहित्यिक कृतिहरुमा स्थापित गर्न सफल छन् । विचार आ–आफ्नो ढङ्गको, रोजाइ आ–आफ्नो किसिमको भनेझैं वी.पीले रोजेको राजनीति दृष्टिमा मेरो पनि मत्यैक्यता होला अथवा भिन्न नै छ भनौं । तर साहित्यिक दृष्टिले भन्नुपर्दा भन्न सकिन्छ उनीद्वारा सिर्जित सिर्जनाहरु साहित्यका उत्कृष्ट पानाहरु हुन् ।
वी.पी.ले कवितामा पनि कलम चलाएका छन्, त्यस्तै निबन्ध, प्रवन्धमा पनि लेख–रचना लेखेका छन् तर कथा र उपन्यासमा जति अन्य विधामा चर्चा चलेनन् । उनको मृत्युपछि निस्केका आत्मसंस्मरणका पुस्तकहरुमा आफ्नो कथा, मेरा जीवनकथा, जेल जर्नलले वी.पी.लाई एकजना सफल आत्मसंस्मरण लेखकका रुपमा यी ग्रन्थहरुले चिनाए । राजनीति र साहित्यका सम्बन्धमा उनी लेख्ने गर्छन् –“राजनीति साहित्यको विषय हुन सक्छ तर तिनमा कुनै सम्बन्ध छैन । ढुङ्गा र कलामा कुनै सम्बन्ध छैन यद्यपि कलापूर्ण कुनै मूर्ति ढुङ्गाको हुन सक्छ ।” त्यस्तै उनले लेखे –“सुन्दर कृतिलाई इतिहासले छुँदैन, काल निरपेक्ष हुन्छ ।’ साहित्यमा वी.पीको अराजकतावादी सोच यस्तो रह्यो –“कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ । अरुलाई हिँडिसकेको बाटोमा खुट्टा हाल्न मन लाग्दैन, आफूले हिँड्ने बाटो आफै बनाउन चाहन्छ । समाजभन्दा व्यक्तिलाई महत्व दिन्छु । जे कुरामा पनि मानिस पक्षलाई समर्थन गर्छु । नियम, कानून व्यवस्था या कुनै प्रकारको अंकुश पनि कुनै धर्म, वाद र रीतिस्थितिका नाउँमा सहन सक्क्तैन । खतराको उसलाई आकर्षण छ । भौतिक तृप्तिभन्दा दैवी असन्तोषलाई ऊ अँगाल्छ ।” आफ्नै तर्क र आफ्नै विचार दृष्टिमा साहित्य लेखन गर्दै आएका यिनले साहित्यको संवेदनशीलता यसरी लेखेका छन् –“कलाको उद्देश्य मानव अनुभूतिको विस्तार गर्नु हो, हाम्रो संवेदनशीलतालाई परिवद्र्धित पार्न हाम्रो भावनाको क्षमतालाई व्यापक पार्नु हो । साहित्यको अभिप्राय शाश्वत हुन्छ । मानिसको विकास बौद्धिक क्षेत्रमा ज्ञानको अभिवृद्धिको प्रक्रियाद्वारा र भावनात्मक क्षेत्रका सहानुभूति र संवेदनशीलताको अभिवृद्धिद्वारा हुन्छ ।” दृष्टिमा दार्शनिकता राखेर साहित्यिक सिर्जनामा मन दिएर गएका वी.पी.ले आख्यान साहित्यमा आफ्नै खालको आयाम निर्माण गरेर गएका छन् । यिनका आत्मवृत्तान्तहरु साहित्यिक दृष्टिले पनि उल्लेख योग्य छन् ।
आधुनिक नेपाली साहित्यकारहरुमा वी.पी. कोइराला बहुमुखी प्रतिभाका धनी साहित्यकार मानिन्छन् । सिर्जना र शिल्पकारितामा आफ्नैपन भएका लेखकका रुपमा यिनको गणना गर्न सकिन्छ । तर पनि यिनका साहित्यिक स्वरहरु विसङ्गतिवादी र अस्तित्ववादी भावनाले अभिपे्ररित छन् । शिल्पचेत भएकै कारणले विश्वेश्वरप्रसाद कोइराला अर्थात् वी.पी. कोइराला साहित्यिक इतिहासमा स्मरणीय नाम बन्न सफल छन् । उपन्यास र कथामा मात्र होइन आत्संस्मरणका पुस्तकहरुमा पनि बौद्धिकता र तार्किकता प्रयोग गर्न कोइराला सिपालु छन् । उनको कृतिमा फ्रायदवादी मनोविज्ञानको प्रत्यक्ष प्रभाव रहेका भए तापनि नेपाली परिवेश र घटना परिघटनाहरु स्वभाविक किसिमले प्रकट भएका छन् ।
राजनीतिमा आफ्नो खालको संसार बनाउन सफल राजनीतिज्ञ भएर पनि साहित्यमा उत्कृष्ट कृतिहरु लेख्न सफल साहित्यकार भएकै कारणले उनी प्रसिद्ध साहित्यकारका रुपमा प्रख्यात छन् । उनी आफ्नो आत्मसंस्मरण यसरी लेख्छन् –“मलाई प्रेमचन्दद्वारा साहित्यमा आकर्षित गरिएको हो । पछि सूर्यविक्रम ज्ञवालीले, जो तिनताक दार्जीलिङमा शिक्षक तथा नेपाली साहित्य सम्मेलनका कर्ता–धर्ता थिए, मलाई नेपालीमा लेख्नका लागि उत्साह दिए र उनको आग्रहले नै मैले काठमाडौंको शारदा मासिक पत्रिकामा जसको सम्पादक कवि सिद्धिचरण थिए, चन्द्रवदन भन्ने कथा लेखेँ । ……… सबभन्दा बढ्ता मलाई चेखव मनपर्छ । त्यसपछि मोपाँसा, टाल्सटाय, गोर्की र बनार्ड शा पनि मलाई मन पर्छ । नेपाली साहित्यमा प्रभावित भएको त भन्न सकिन्न, तर देवकोटा र सम मलाई मनपर्छ ।” उनी प्रष्ट आफ्नो राजनीतिक विचार–गुरुका सन्दर्भमा र साहित्यिक दृष्टि–बिम्बका बारेमा यसरी लेख्छन् –“म प्रथमतः महात्मा गान्धी र त्यसपछि कार्लमाक्र्स औ अन्त्यमा सिग्मण्ड फ्रायडबाट प्रभावित भएको हुँ । तर गान्धी र माक्र्सलाई साहित्यमा प्रयोग गर्न सकिंदैन किनभने उनीहरु सामाजिक छन् । फ्रायडमात्र वैयक्तिक भएकाले मैले त्यही क्षेत्र चुनें ।”
राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी चिन्तनबाट प्रभावित विश्वेश्वरप्रसादका साहित्यिक आयामहरु अविस्मरणीय र उदाहरणीय छन् । उनका आफ्नै खालका मान्यताहरु छन् । साहित्यमा आफ्नै प्रकारका शैलीहरु छन् । उनका मान्यताका यी हरफहरु मनन गर्न लायकका छन् –“……… समाजमा प्रत्येक व्यक्तिको आ–आफ्नै इच्छा, आकाङ्क्षा, दुःख–सुख, विचार आदिमा आफैले निर्णय गर्नुपर्छ । एउटाको अवस्थामा अर्कोले विचार गर्न सक्दैन । के गर्नु, नगर्नु प्रत्येकले आफै सोच्नुपर्छ । मैले बुझेको अस्तित्ववाद यही हो ।” यही त हुन् वी.पी. कोइरालाका साहित्यिक आयामहरु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |