प्रभातफेरी अनलाइन५२२ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ९, मंगलबार (१ साल अघि)
१. विषय प्रवेश
शुरूमा मानिसले शिकार गर्न सिकेका थिए । पशुपङ्क्षी मारेर खाएका थिए । आजभन्दा छ, सात हजारअघिदेखि मात्रै खेतीपाती गर्न थालेका हुन् । अहिलेसम्म पनि खाद्यसंस्कृतिमा मासुले परिकारको सूचिबाट हट्नु परेको छैन । मान्छेले मात्रै मासु खाएका पनि होइनन् । अन्य थुप्रै प्राणीहरू छन्; जो मासु खान्छन् । कतिपयले आफ्नै सन्तान वा आफ्नै वर्गको पनि मासु खान्छन् । शाकाहारीका रूपमा चिनिएका वनस्पतिमध्ये कतिपयले मासु खाने प्रकृति विकास गरेका देखिन्छन् ।
गोमांस अर्थात् गाई वा गोरुका मासु खाने संस्कृति संसारभरि पाइन्छन् भन्दा फरक पर्दैन । अहिलेको हकमा हिन्दू बाहेककाले खान्छन् । यतिखेर गोमांस भोजन गर्ने प्रशस्त हिन्दू भइसकेका छन् । यद्यपि, नेपाल नामक देशमा गोमांस वर्जित र खुल्ला दुवै छ । गाईगोरु काट्न वा मार्न वा त्यस्ता कार्य गर्न गराउन पाइन्न भन्ने कानूनी व्यवस्था छ । त्यसैले कानूनतः वर्जित छ । अर्कोतिर मरेका गाईगोरुका मासु खानका लागि निश्चित समुदायलाई खुल्ला छोडिएको छ । त्यसो त खुल्ला पनि छ ।
वर्जित र खुल्ला दुवै भएकाले समस्या देखिनु स्वाभाविक हो । जिउँदोको मासु खान मिल्दैन । मरेपछि वा मरेकाको खाने हो । मर्ने चाहिँ दुई प्रकारको हुँदोरहेछ । पहिले त मारेपछि मर्ने हो अनि अर्को भनेको विशेष कारण मरेपछि मर्ने हो । अब मरेर कि मारेर भन्ने प्रश्न उठ्छ । विपक्षीका लागि मरेर खाएका भएपनि मारेर भन्ने आरोप लगाउनु धर्म लाग्न सक्छ । कमजोर भएपछि मरेर खाएको भएपनि मारेर भन्ने आरोपमा जेलमा थुनिनु कुनै अनौठो हुने भएन । यो लेख भने विशेषतः ’’किन छोड्दैनन् गोमांस संस्कृति ?’’ सँग सम्बन्धित रहेको छ ।
२. गोमांस संस्कृति
गोमांस शब्द संस्कृत भाषाबाट आएको स्पष्ट छ । ’गो’ अर्थात् गाईगोरु र ’मांस’’ अर्थात् मासु भनेर बुझेपछि गलत हुँदैन । यसैलाई तामाङले ’लङस्य’ वा ’मे÷म्हे स्य’ भन्छन् । अङ्ग्रेजी बोल्नेले ’बीफ’ वा ’भील’ भन्छन् । अन्ततः गाई वा गोरुको मासु नै हो । तथापि, शब्दको चयन वा प्रयोगले विशेष अर्थ राख्छ । गोमांस भन्नेले अखाद्य मान्छन् । ’लङस्य’ वा ’बिफ’ लगायतका अन्य नामबाट बुझ्नेले खाद्य संस्कृतिको एक परिकार ठान्छन् । खानयोग्य मान्नेहरू गाईगोरु काट्छन् । हिन्दूहरूले काट्दैनन् । तिनीहरूका लागि त्यही काट्ने काम स्वतः हत्या हुन्छ । हत्या भनेपछि सजाय हुन्छ । काटेर खानु सामान्य कुरा भएकोले सजायको कुरै आउँदैन ।
यहीनेर हत्या कि काटेर खाएको भन्ने विषयले मानिसको दृष्टिकोण निर्माण गर्छ । हत्या वा बध शब्दका प्रयोग गर्ने हिन्दू हुन्छन् । काटेर खाएका भन्ने अहिन्दू कहिन्छन् । त्यसोभए हिन्दू र अहिन्दू मूल्य मान्यता के कस्ता छन् ? यी दुई फरक संस्कृतिले कसरी हेर्छन् भन्ने बारेमा बुझ्न निम्नानुसार उपशीर्षकसहित हेर्नुपर्ने हुन्छ ।
(क) हिन्दू संस्कृति
हिन्दू संस्कृतिमा गोमांस भोज्य वा अभोज्य भन्ने बारेमा दुई थरी मत रहेका देखिन्छन् । शुरूमा यो संस्कृतिले पनि गोमांसलाई भोज्य मानेको देखिन्छ । भन्छन्, मधुपर्कले कोरली गाईको मासुबाट बनेको परिकारलाई बुझाउँथ्यो । हिन्दू भनेर दाबी गर्नेलाई वैदिक पनि भन्छन् । वेद मान्ने भएकाले वैदिक भनेका हुन् । त्यसो त वेदको पनि पहिलो र प्रमुख चाहिँ ऋग्वेद हो । ऋग्वेदका दशौँ मण्डलमा गोमांसको प्रशस्त उदाहरणहरू देखिन्छन् । विवाह र दाहसंस्कारको बेला गोरुको मासु अनिवार्य मानिन्थ्यो । घरको जग राख्दा होस् वा पाहुना आउँदाखेरि गोमांस संस्कृति कायम थियो । कुन वर्गको पाहुनालाई कस्तो गाई, गोरु वा कोरली र कस्ता रङका भन्ने समेत उल्लेख गरिएका हुन्थे । गोमेद यज्ञको वर्णन पनि गर्दथे । यस सम्बन्धमा डा. सुरेंद्र कुमार शर्मा ’अज्ञात’ले आफ्नो पुस्तक ’’क्या बालू की भीत पर खडा है हिंदू धर्म ?’’मा स्पष्ट शब्दमा वेदको श्लोकसहित उल्लेख गरेका छन् ।
शुरूमा हिन्दूले गोमांसलाई खाद्यसंस्कृतिको एउटा परिकारको रूपमा मानेका थिए । पछि आएर एकाएक अभोज्यमा परिवर्तन गरेको पनि देखियो । खासमा भारतवर्षमा बौद्धको व्यापक चहलपहल भएपछि हत्या हिंसा र बलिप्रथाको व्यापक विरोध भयो । त्यतिखेर भारतवर्षमा सबैभन्दा धेरै गोमांस संस्कृति प्रचलित थियो । त्यसैले मासुको आपूर्तिका लागि सबैभन्दा बढी सङ्ख्यामा गाईगोरु मारिन्थे । बौद्धको विरोधका कारण हिन्दूले कम्तिमा पनि सबैभन्दा धेरै सङ्ख्यामा गाईगोरु काट्ने संस्कृतिलाई रोक्न बाध्य भयो । गोमांस रोक्नकै लागि सातौं शताब्दीतिर आएपछि एउटा नयाँ मिथको सिर्जना गरे । त्यसक्रममा कामधेनु गाईको कहानी बुने । उक्त गाईलाई मानिसको जननीको रूपमा व्याख्या थाले । अबदेखि गाई नै हिन्दूको माता भएकीले मारेर खानु त परैको कुरा, झुक्किएर गोडाले लागेछ भनेपनि आमालाई लात हाने बराबरको पाप लाग्छ भन्न थाले । आफूले खान छोडे छोडे; अरूलाई पनि खान पाइन्न भनेर वर्जित गर्न पछि परेनन् ।
(ख) अहिन्दू संस्कृति
गौमांससम्बन्धी अहिन्दूका पनि दुई पाटा रहेका छन् । तिनमा आदिवासी जनजातीय समुदायगत पाटो एउटा र अर्को चाहिँ हिन्दूलाई समेत गोमांस संस्कृतिबाट छुटाउने भूमिका खेलेको बौद्ध धर्मावलम्बी पाटो पर्दछन् । बौद्ध धार्मिक मान्यताले कुनै पनि प्राणीको हत्या गर्न वर्जित गरेको छ । त्यसैले मासु संस्कृति सम्भव नै भएन । तथापि, आदिवासी जनजाति लगायतका अन्य अहिन्दूमध्ये गोमांसलाई खाद्य संस्कृतिको पाटो नमान्ने शायदै पाइएलान् ।
तामाङ जस्तो राष्ट्र (समुदाय)लाई सोध्ने हो भने गौमांस यसकारण पनि भोज्य रहेको छ कि, ज्वरोको बेला गोमांसलाई औषधीको रूपमा प्रयोग गर्न सकिन्छ । त्यस्तैगरी एक प्रकारको ’स्योप्टो’ (घ्यङसिङ) मन्साउने क्रममा पनि गोरुको बलि दिनुपर्ने हुन्छ । तामाङ भाषाविद् अमृत योन्जन–तामाङले उदृत् गर्नु भएअनुसार तामाङ गीत नै म्हेला स्यादेन म्ल्हाला कन ! खैमा तला बिमा ह्रङ !! अर्थात् भातसँग गोमांसको तरकारी ! कहिले पो होला भनेजस्तो !! स्मरण रहोस् कि, अमृत योन्जन–तामाङले ’’कइरन’’ मासिक वर्ष १ अङ्क ३ (१९९१)मा गोमांस सम्बन्धित विभिन्न लेखकका लेखहरू प्रकाशित गरेपछि कान्तिपुरले त मृत्युदण्ड दिनुपर्छ भनेर सम्पादकीय नै लेखेका बताउँछन् ।
३. विश्वास पद्धति
हरेक मूल्य मान्यताका पछाडि विश्वास पद्धतिले काम गरेका हुन्छन् । विश्वास पद्धति बिना कुनै पनि संस्कृतिको जन्म सम्भव हुँदैन । निरन्तरता र निषेधको प्रश्नै बन्दैन । गोमांस भोज्य वा अभोज्य भन्ने सम्बन्धमा आ–आफ्ना विश्वास पद्धतिको फरक पाटा छन् । कसैका लागि भोज्य र औषधी समेत हो । कतिका लागि सोच्न पनि नसक्ने विषय हो । त्यसैले भोज्य वा अभोज्य मध्ये कुनै एकको मात्रै चर्चा गर्ने वा एउटाको पक्ष लिएर बहस गर्ने हो भने अति पक्षपाती हुनेछ । ठीक कि बेठीक भनेर खोज्ने र व्याख्या गर्ने हो भने निष्कर्ष निस्कने छैन । निष्कर्षका लागि त बीचमा बसेर समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययन तथा व्याख्या विश्लेषण गर्नुपर्ने हुन्छ । यसको लागि पनि हिन्दू र अहिन्दू विश्वास पद्धतिलाई केलाएर हेर्नुपर्ने हुन्छ ।
(क) हिन्दू विश्वास पद्धति
माथि नै उल्लेख गरिएअनुसार हिन्दूमा दुई पाटा छन् । शुरुवाती पाटोमा गोमांस भोज्य थियो । गोमेद यज्ञबाट लाभ हुन्थ्यो । कुन बेला वा अवस्थामा कस्ता, कत्रा तथा कस्तो रङको गोमांस प्रयोग गर्ने भन्ने तोकिएको थियो । विवाहमा बधूले बरलाई स्वागतभोजमा कस्तो गोमांस खुवाउने भन्ने थियो । दाहसंस्कारका बेला काटिएको गोरुको बोसोको खोला पछ्याउँदै मृतकले पितृलोकमा पुग्नुपर्थ्यो । सातौं शताब्दीतिरबाट उल्लेखित विश्वास पद्धतिमा परिवर्तन गरियो । अब गाई आमा सरहकी भइन् । यसरी परिवर्तन गर्न नपाइने भन्ने हुँदैन । हिँजो खाइयो भन्दैमा आज र भोलि पनि खानैपर्छ भन्ने हुँदैन । परिमार्जन र परिष्करण जाहेज ठहरिन्छन् ।
त्यसैले अहिलेका हिन्दू (सनातनी÷वैदिक) भन्नेका विश्वास पद्धतिमा गोमांस अभोज्य भइसकेको छ । यसको दूधको महिमा व्यापक छ । यसले दिने गोबर र गहुँतको औषधीय गुण अपरम्पार छ । यसले निकाल्ने ’आमाक्क्क्’ (बाँक्क्क्) ध्वनिलाई बुझ्न सकेमा मात्रै पनि जीवन धन्यताको सुमार्गतिर लाग्नेछ । कसैले गोमांसको भोजन गर्छ भने, ऊ सिधै नरकको भागिदार हुने सुनिश्चित छ ।
यस्तैगरी हिन्दूभित्र कम्तिमा पनि दयाभाग र मिताक्षर जस्ता सम्प्रदायका मूल्य मान्यतालाई हेर्न सक्नुपर्दछ । साक्त, शैव, वैष्णव र कृष्णप्रणामी लगायतका फरक मतलाई केलाउनु पर्दछ । हिन्दूभित्रको सार्की भनिएकामा प्रचलित मूल्य मान्यता र गोमांसलाई अलग्गै राखेर हेर्नुपर्ने हुन्छ । यो देशले सार्की र तामाङलाई गाईगोरुका सिनोका लागि ’मेक्चन’ (मेगजिन) नामक कर असुलेको थियो ।
(ख) अहिन्दू विश्वास पद्धति
अहिन्दू विश्वासभित्र पनि माथि नै भनिएजस्तै बौद्ध र अबौद्ध मान्यताका मूल्य मान्यता फरक हुन्छन् । यहाँ भने गोमांसको प्रसङ्ग भएकोले बौद्ध बाहेका विश्वास पद्धतिलाई हेर्ने प्रयास गर्नुपर्ने देखिन्छ । खासमा नेपाली समाजमा तामाङ, थकाली र किरात लगायतका सभ्यतायुक्त राष्ट्रहरूका विश्वास पद्धतिलाई छुटाउन मिल्दैन । त्यस्तैगरी तराई क्षेत्रमा रहेका केही समुदायको पीडा पनि भुल्नु हुँदैन ।
तामाङ, थकाली र किरात सभ्यतामा गोमांसहार पहिलेदेखि नै थियो । अहिलेसम्म पनि प्रचलित छ । यसले कहिल्यै छोडेन र छोड्ला जस्तो पनि छैन । यिनीहरूका देउकुल (तामाङको लसोल) अर्थात् कुलपूजा पनि भन्ने गरेका पूजाको लागि गोरु बलि अनिवार्य रहेको देखिन्छ । शाहकाल शासनसँगै किरात सभ्यताका राष्ट्रले गोरुको भुत्ला राँगामा सारेका भन्ने पनि देखिएका छन् । कतिपयले गोरुको सिङ मात्रै राखेर प्रतीकात्मक बलि दिएका भन्ने पनि पाइन्छन् । थकालीका कुलपूजामा चारवटासम्म गोरुका टाउको चाहिन्थ्यो भन्छन् । तामाङको कतिपय ह्रुइ (सिन्धुली मावरको थोकर लामा लगायत)ले आफ्नो लसोलको क्रममा गोरुको बलि दिन्थे । अहिले पनि प्रतीकात्मक रूपमा भएपनि दिन्छन् । सिनोको टुक्रा भएपनि लगेर बलि दिन्छन् ।
तामाङ समाजमा प्राप्त एकथरी मान्यतानुसार शुरूमा समुद्र, जमीन र देउता आठ आठ रहेछन् । मान्छे भने नौ जना भएछन् । भागबण्डाको क्रममा एकजनालाई त नपुग्ने नै भयो । नपुगेको मान्छेका लागि नयाँ देउता खडा गरेछन् । देउतालाई गोरुबलि दिनुपर्ने भएछ । गोरुलाई तामाङ शास्त्रीय भाषामा ’लङ’ भन्दछन् । त्यसरी ’लङ’ बलि दिने मान्छेको ह्रुइ पनि ’लङकोर’ राखेछन् । तेमालका तम्बा गन्बाका अनुसार लङकोर (लामाखोर)का लसोल (कुलपूजा) गर्दा गाई÷गोरुका टाउको भएपनि राख्नैपर्ने हुन्छ । यो देशको सत्ताले गोरु काट्न नदिएपछि यो ह्रुइको लसोलमा व्यापक समस्या देखापर्दै आएको हो । समाधानको लागि नयाँ मान्यता बनाए; जसअनुसार यो ह्रुइको लसोल गरेपछि त्यसको प्रतापले गाउँको कुनै पनि गाई वा गोरु कुनै पनि व्यहोरावश मर्नु वा मारिनु पर्दछ । यदि म¥यो भने लसोल सफल र मरेन भने असफल भयो भन्ने विश्वास गर्दछन् ।
४. उपचारविधिमा गोमांसको महत्त्व
उपचारविधिमा औषधीमूलो गर्ने, झारफूक गर्ने साथै मन्साउने तार्ने जस्ता उपायहरू आदिवासी सभ्यताको प्रमाण हो । तामाङ लगायतका हिमाली सभ्यतामा ’अम्ची’ (आम्ची) विधा निकै पुरानो मानिन्छ । तामाङमा नै बाँचुञ्जेल उपचार गर्ने जिम्मा बोम्बो (अम्ची– जडीबुटी) साथै मरेपछि तारिदिने चाहिँ लम (लामा)को मान्दछन् ।
विश्व मानव सभ्यतालाई हेर्ने हो भने उपचारको क्रममा जडीबुटी, तन्त्र, मन्त्र र यन्त्रका प्रयोग पाइन्छन् । आधुनिक उपचार पद्धतिको अतिरिक्त हिलिङ÷सम्मोहन साथै आखेटोपहारका प्रयोग पनि प्रशस्त हुन्छन् । अनेक रोगका लागि सोही अनुसारका आखेटोपहार प्रयोग हुने हुनाले नै अवैध धन्दाको रूपमा फस्टाएका पनि पाइन्छन् । यस्तैगरी तामाङ उपचार पद्धतिमा ’मेस्या’ (गोमांस)लाई औषधीको रूपमा साथै तार्ने मन्साउने क्रममा प्रयोग गर्दछन् ।
(क) औषधीय प्रयोग
मानिसको शरीरमा ज्वरो आउनु सामान्यदेखि असामान्य दुवै मान्नुपर्ने हुन्छ । कुनै ज्वरो सामान्य र साधारण हुन्छन् । कतिपय ज्वरो भने असामान्य÷अस्वाभाविक तथा खतरनाक पनि हुन्छन् । तामाङ परम्परागत मौलिक उपचार विधिमा मेस्यलाई पनि औषधीको रूपमा प्रयोग गर्दछन् । विशेषतः ज्वरो आएको अवस्थामा गाईगोरुका मासुलाई औषधीको रूपमा प्रयोग गर्छन् । विश्वमा गौमांसलाई अझै पौष्टिक मानेका पाइन्छन् ।
(ख) तार्ने मन्साउने पद्धति
तामाङ बोम्बो उपचार विधिमा तार्ने र मन्साउने पद्धति पनि हुन्छन् । बोम्बो विश्वास अनुसार बिमार पर्नुमा कुनै शक्तिको हात हुन्छ । त्यस्ता अनेक शक्ति हुन्छन्; जसले पिरेपछि बिमार हुन पुग्छन् । खासमा तिनले सम्बन्धित मानिस वा पशुपङ्क्षीलाई आफ्नो आहार बनाउन खोजेको हुन्छ । कतिले फ्याट्टै प्राण लिन्छन् त कतिले पिर्छ मात्रै । कतिले पिरेर बिस्तारै–बिस्तारै गरी अन्ततः मार्छन् । त्यस्तो अवस्थामा पनि उपाय लगाउन सकिन्छ । सकेसम्म बोम्बोले झारफूकको क्रम चलाउँछ । झारफूक गरेर नसकेमा तार्न वा मन्साउन थाल्छन् ।
तार्ने वा मन्साउने क्रममा बिमारीको सट्टा खाद्यबस्तु तथा पशुपङ्क्षीका बलि दिन्छन् । बलि दिनुको मुख्य अभिप्रायः बोम्बो आफ्नै निमित्त खानाको जोहो गरेको भन्ने गम्भीर आरोप लगाउने गरेका छन् । यो आरोपमा तथ्यता पनि देखिन्छ । यद्यपि, बलिको अर्थ खानाको जोहो भन्दा पनि बिमारीलाई निको पार्नु हो । अनेक कारण अहिले यो पद्धति अविश्वसनीय भएको हो ।
तामाङ समाजमा ’स्योप्टो’ (घ्यङसिङ) हुन्छ भन्ने विश्वास पाइन्छ । यो विश्वास अनुसार ’स्योप्टो’मा पनि कुखुरा, बाख्री र गोरुको मासु खाने गरी कम्तिमा पनि तीन प्रकारका हुन्छन् । यसले छोएमा वा पिरेमा हातगोडाका जोर्नी तथा हड्डी दुख्न थाल्छन् । कटकटी खाएर सहन नसक्नेसम्म हुन्छ । कतिपय ह्रुइका तामाङको मूलढोकामा सिधा उभिनु हुँदैन भन्छन् । उभिएको अवस्था ’स्योप्टो’ले हान्छ र बिमारी पार्छ । यसलाई पनि झारफूक गरेर निको पार्न सकिन्छ । मासु खाने प्रकारको रहेछ भने मासु नदिई हुँदैन । त्यस्तैमा गोरुको मासु खाने स्योप्टो लागेको रहेछ भने अन्य उपाय रहँदैन । अहिले पनि गोरुको प्रतीक स्वरूप सिनोले टार्ने गरेका पाइन्छन् ।
यस्ता क्रियालाई अन्धविश्वास भन्न पनि सक्छन् । यसलाई अन्धविश्वास होइन पनि भन्न सकिन्न । त्यसो त गाईलाई आमा मान्ने साथै गोबधको कानून बनाएर सजायको व्यवस्था गर्नुलाई चाहिँ वैज्ञानिक भन्न सकिन्न । त्यसैले गोहत्या वा गोबध अपराध हो भन्ने हिन्दू मूल्य मान्यता पनि अन्धविश्वासको एक स्वरूप नै हो । त्यसैले यस्ता विषयलाई वैज्ञानिक वा अन्धविश्वास भन्नुको सट्टा मौलिक सांस्कृतिक पाटोको रूपमा लिन र बुझ्न सक्नुपर्दछ ।
यस्ता मान्यतामा परिवर्तन अन्यले भन्दा पनि समुदायका अभ्यासकर्ता स्वयम्ले गर्दै जाने कुरा हो । आफूले नखाँदैमा अरूले पनि नखानु भन्नु न्यायसङ्गत हुँदैन । हिन्दूले पुज्दैमा अन्यले पनि पुज्नुपर्छ भन्न मिल्दैन । एकले मनेपछि अर्कोले पनि मान्नैपर्छ भन्ने हो भने राईले खसी खाँदैनन् । त्यसैले हिन्दूले पनि नखानु भन्न कहाँ युक्तिसङ्गत हुन्छ र ? आफ्नो मान्यता ठीक अनि अन्यका कुरीति भन्नु धार्मिक सहिष्णुता तथा सद्भावमा खलल पु¥याउने कार्य हुन्छ ।
५. के कतिसम्म गरे गोमांसको लागि ?
नेपाली समाजमा हेर्ने हो भने गोमांसका लागि हुने नहुने गरेका भन्न सकिन्छ । यसमा पनि हिन्दू र अहिन्दूका रुपमा निम्नानुसार स्पष्ट पार्न सकिन्छ ।
(क) हिन्दू राज्यसत्ता
नेपाललाई हिन्दू राज्यसत्ताको रुपमा विकास गरिएको थियो । त्यसैले राज्यसत्ताले गोमांसमाथि एक किसिमको प्रतिबन्ध लगाउँदै आयो । परिणामतः माथि उल्लेख गरिएजसरी तामाङ, थकाली र किरातहरूले आफ्नो लसोल (कुलपूजा) गर्न पाएनन् । राज्यसत्ताले हिन्दूको मात्रै धर्म, मूल्य, मान्यता र कुलपूजालाई मान्यता दिँदै आयो । अन्यका माथि प्रतिबन्ध लगाइरह्यो । संविधानमा पनि गाईगोरुका कुरा उल्लेख गरे । गाईलाई राष्ट्रिय जनावर बनाए तर यहीँका आदिवासी जनजातिलाई गाईगोरुभन्दा पनि तल राखे । तिनका पक्षमा केही व्यवस्था गरेनन् । उल्टै अङ्कुस् मात्रै लगाउन छोडेनन् । जानी–जानी गौबध भन्दै फसाउनुमा आत्मगौरव गरेर अपराधको प्रकरणलाई तन्काउँदै आयो । केही वर्षअघि गोर्खाका निर्दोष लाक्पा तामाङलाई गोली प्रहार गरी हत्या गरे । विरोधमा आवाज उठ्ने नै भयो । त्यसपछि गौबधको झूठो आरोप लगाउनसमेत यो राज्यसत्ता पछि परेन । अहिले धेरै स्थानमा प्रहरीले नै गौबधको आरोप लगाउने र बार्गेनिङ गरी ठग्ने एउटा माध्यम बनाएका भन्ने जनगुनासा बढेका देखिन्छन् ।
यो नेपाल नामक देशमा अहिन्दूहरुमाथि हिन्दूसत्ताको जन्मदेखि नै तरह–तरहका शोषण, दमन साथै विभेद जारी रह्यो । मरेको र खाएको भन्ने बेलामा तामाङको छोरोले मारेको र खाएको भन्यो रे भन्दै जेलमा कोचेर खुबै पुरुषार्थ प्रदर्शन गर्दै आयो । कयौं तामाङको घरबार बर्बाद पार्दै आयो । यो तामाङको छोरोले मरेको भन्न नजानेर मारेको भनेको हो भन्ने तथ्य थाहा पाएरै पनि कालो नियत राखेर फसाइरह्यो । यो मानवता विरोधी अक्षम्य अपराध थियो । अझै पनि यो देशमा सरकार चलाइरहेको ओलीको ’पार्टी धामी र झाँक्रीहरूले चल्दैन’ भन्ने विश्वासमा कमी आएको देखिएन ।
उदारहणको लागि खदाप्रतिको प्रहारलाई लिन सकिन्छ । बौद्धधर्म, सम्भोट लिपि र खदा संस्कृतिलाई प्रधानमन्त्रीको कुर्सीमा बसेर गरेको अपहेलापूर्ण सम्बोधन लोकतान्त्रिक कुनै पनि हालतमा थिएन । वास्तवमा त्यो मान्यता र भनाई सिधै जातीय द्वैष फैलाउने, नश्लीय एकता तथा धार्मिक सहिष्णुतालाई भड्काउने र खलल पार्ने खालकै थियो । त्यतातिर कसैको ध्यान गएन । अन्ततः खदालाई समाप्त पार्न ढाकाको बेकामे गलबन्दीलाई स्थापित गर्न गराउन हदैसम्मको अन्यायपूर्ण रबैया अपनायो । सत्ता र शक्तिको व्यापक दुरुपयोग गर्दै खदालाई सीमित पार्दैछ ।
भन्छन्, यो सतीले सरापेको देश हो । कसैका पनि समयमा सही बुद्धि आउँदैन । ओली संलग्न यो देशको कथित सत्तालाई हिन्दू, हिन्दूत्त्व, गाई साथै हिन्दू एकात्मक तथा एकाङ्की अन्धो राष्ट्रवादको ठूलो घमण्ड देखिन्छ । हिन्दूमात्रै महान् भन्ने गहिरो छाप प्रदर्शन गर्दैछ । यहीनेर तामाङ लगायतका अन्य राष्ट्र समुदायले यो नेपाल नामक देश, यसले अहिलेसम्म अवलम्बन गर्दै आएको, भाषा, धर्म, संस्कृति र मान्यतालाई हत्यारका हतियार ठाने भने के होला ?
मानौं तामाङको छोराले यी सबैलाई आफ्नो शत्रु ठान्यो भने के होला ? मेरो तामाङ मात्रै महान् हो । ओलीको लागि नेपाली भनिएको राज्यसत्ता, यसको भूमि, यसको सार्वभौमसत्ता जीवनभन्दा ठूलो भनेजस्तैगरी तामाङले तामाङ राष्ट्र, तामाङ राष्ट्रियता, भाषा, धर्म र संस्कृति मात्रै महान् हो । हिन्दूसत्ता भनेको दुश्मन मात्रै हो भन्दै सोही अनुसार अघि बढ्ने हो भने के होला ? ओलीले जातीय, धार्मिक तथा सांस्कृतिक अहमता राख्नु उचित हुन्छ भने तामाङको छोराले त्यस्तैगरी तामाङ राष्ट्र, राष्ट्रियता, धार्मिक साथै सांस्कृतिक अहमता राख्न किन नपाइने ?
यो देश निर्माणका नाममा तामामाङको भूमि लुटेका थिए । पुर्खाका शीर गिँढेका थिए । चेलीबेटीलाई केटीस्या बनाएका थिए । दादा, मामा र पीपा बनाएर दबाएका थिए । तिनका एक–एक क्षतिपूर्ति माग्ने र नपाएमा शत्रुका विरुद्ध लड्नु नै जीवनको एउटै मात्र धर्म हो भन्ने भावना जागृत भयो भने ओलीले धान्न सक्ला ? मै हुँ भन्ने कथित स्वनामधन्य नेताले सम्बोधन गर्न सक्छन् ?
कुनै जमानामा आफैँले पनि खाएको गोमांस आफूले खान छोडेपछि अन्यले पनि खान नपाउने भन्नु मानवता विरोधी सोच तथा स्वजातीय अहमताको पराकाष्टा हो । दुःखको कुरो, गणतन्त्र नेपालको घोषणासँगै गाईलाई राष्ट्रिय जनावरमा राख्नुलाई जीवनमरणको मुद्दा बनाए । अन्यका कुलपूजा तथा उपचारको क्रममाथि संविधानमा व्यवस्था गरेर विभेद तथा दमनको चक्र चलाउन छोडेन । अन्यले आफ्नो मौलिक पहिचानमूलक संस्कार संस्कृतिका लागि आवाज उठाउँदा जातीय÷नश्लीय तथा अराष्ट्रिय तत्त्वको रूपमा चित्रण गर्ने पुरानो परम्परालाई रत्तिभर छोडेन ।
हिन्दूत्त्वलाई राष्ट्रियताको प्रतीक मानिरह्यो । राष्ट्र र राष्ट्रियको गलत व्याख्या विश्लेषणको शृङ्खला मच्चाइरह्यो । हिन्दू हुनु वा हिन्दू जस्तै हुनुलाई उन्नत तथा नेपाली राष्ट्रियता हो भन्ने महेन्द्रीय राष्ट्रवादलाई शीरोपर गर्न छोडेन । गोमांस संस्कृतिलाई राक्षसी वा शैतानीकरण गर्ने क्रममा स्वयम् प्रधानमन्त्री नै मरिमेटेर लागिरह्यो । नारी राष्ट्रपतिले नै पहिलो महिनाको तलब पशुपतिलाई दिएर हिन्दूत्त्वको पक्षमा अडिक रहेको स्पष्ट पारिन् । वि.सं. २०७६ सालमा सोनम ह्लोछर मान्ने तामाङ राष्ट्र दिएको निम्तोलाई अन्तिम अवस्थामा ’ताम्सालिङ’को नारा जोडेको भन्दै अस्वीकार गरिन् । यसप्रकार एकताको नाममा बहुलतालाई पूर्णतः अस्वीकार गर्दै एकछत्र हिन्दू तोरीबारी बनाउने कर्ममा अडिक रहिन् । वास्तविकतामा यो अत्यन्त लज्जास्प्रद साथै नाङ्गो ताण्डप नृत्य सावित हुँदैछ । यसको परिणाम कुनै दिन अवश्य प्रकट हुनेछ ।
(ख) अहिन्दू राष्ट्रियता
गोबधको आरोपमा धादिङको सेमजोङ नरसंहार मच्चाएका थिए । सेमजोङे राजाको समेत ज्यान लिएका थिए । त्यसरी भूमि र प्राण गुमाउनु पर्दा समेत तामाङले गोमांस छोडेन । त्यसपछि निरन्तर यो देशका हिन्दू राज्यसत्ताले गोहत्या र गोबधका कथित मुद्दामा तामाङको हुर्मत् लिन छोडेन । तामाङले निरन्तर गोमांसलाई भोजनको परिकार बनाई रह्यो । सर्वस्व मात्रै होइन, भूमि र प्राण पनि दाउमा राख्न पछि परेन । कथित राज्यविरुद्धको विद्रोहलाई जारी राख्यो । पहिचानको पक्षमा जानेर वा नजानेरै भएपछि लड्न छोडेन ।
तामाङ समजमा ’’खाई सार कि लाई सार ! मरेपछि लम्पसार ! खानैका लागि जन्मेका हौं । खाएरै मर्ने हौं’’ भन्ने मान्यता रहेको देखिन्छ । यस्तो समाजमाथि निर्लज्जताका साथ भावनात्मक रूपमा खुल्लमखुल्ला सामूहिक बलात्कार गर्दै आएको राज्यसत्ताले अब पनि समयमै सोच्न नसक्ने हो भने भोलि तामाङ लगायतका आदिवासी जनजातिले हामी नेपाली सत्तालाई मान्दैनौं । हामी नेपाली होइनौं । नेपालीत्त्व भनेको शत्रु हो । यो नेपाली अन्धो राष्ट्रवाद भनेको हाम्रा पुर्खाका हत्यारा हो । लुटेरा र बलात्कारी हो । यिनका विरुद्ध सङ्घर्ष गर्नु नै जीवनको पहिलो दायित्व र धर्म हो भन्न बाध्य भएछन् भने के होला ? सतलज क्षेत्रमा नेपाली सेनाले कुनै जमानामा ज्यादती गरेका थिए । ती अमानवीय हर्कतलाई गीति स्वरूपमा इतिहासकरण गरेका पनि देखिएका छन् । त्यस्तैगरी हिन्दू इतर भूमिपुत्रले गाउन थालेमा के होला ?
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, भाषा र जीवनदर्शन भनेको मासेर वा दबाएर समाप्त हुने कुरा होइन । यो त जत्ति दबायो; उत्ति उफ्रिन्छ । यहाँका भूमिपुत्रले बारम्बार यो कथित नेपाली सत्ताको विरुद्ध विद्रोह गरेका इतिहास जगजायर छन् । भोलि यो क्रम पुनः आउँदैन र आउनु हुँदैन भन्ने तर्क कुनै पनि आधारमा वैज्ञानिक र न्यायोचित हुने छैन । त्यसर्थ गोमांसलाई भोज्य परिकारको रूपमा निरन्तरता दिनुलाई राज्यसत्ताको एकल जातीय रवैया विरुद्धको प्रतिकार वा विद्रोह भन्नुपर्ने हुन्छ । विभेदकारी राज्यसत्ताको अपहेलना तथा त्यसको सत्तालाई नमानेको प्रमाण भन्ने बुझ्नुपर्छ । यो उनीहरूका नैसर्गिक तथा मौलिक अधिकारको अकाट्य स्वरूप पनि हो ।
६. राजनैतिक मान्यता र प्रतिकारात्मक पक्ष
राजनीतिलाई स्थीरता चाहिन्छ । स्थीरताका लागि शक्ति आवश्यक हुन्छ । शक्तिको लागि मूल्य मान्यता, दृष्टिकोण, सिद्धान्त वा दर्शन हुनुपर्दछ । कुनै पनि सामाजिक, सांस्कृतिक तथा धार्मिक अस्तित्त्व÷अवधाराणा÷मान्यताले स्थान (स्पेस) ग्रहण गर्ने क्षमता राख्छ । त्यही क्षमताले सत्ता सिर्जना गर्छ अर्थात् सत्ता बनाउँछ । त्यही सत्ताले अर्को विपरीत सत्तालाई उल्टाउँछ÷पल्टाउँछ÷लडाउँछ । त्यसपछि प्याराडाइममा परिवर्तन सम्भव हुन्छ । विपक्षी सत्तालाई लडाउनका लागि दुई पाटा हुन सक्छन्; जस्तै ः त्यहीँ प्रवेश गरेर कू गर्ने वा सट्टामा आफ्नो बेग्लै सत्ता बनाउने ।
जङ्गबहादुरलाई बदलाको लागि विवाह गरेकी कन्न्याले अन्ततः जङ्गबहादुरलाई मार्न सकिनन् । त्यस्ता मार्गबाट हिँड्दा आफ्नै किसिमको विवशता थापिँदोरहेछ । उदाहरणको लागि भर्खरै ३ नं. प्रदेशको नामाकरण तथा राजधानी तोक्नेक्रममा पुनः एकपटक देखियो । मुख्य बिन्दूमा प्रवेश गर्नुअघि नै पार्टीले ह्वीप जारी गरिदियो । त्यहाँभित्र पुगेकाले निश्चित समयमा कू गर्ने वा विद्रोह गरी असफल पार्न सक्नुपर्ने थियो तर त्यस्तो भएन । अर्कोले भोज खुवाइरहेको छ भने आफूले वीष खुवाउन सकिन्न । त्यस्तो अवस्थामा अरूले नै भोजनमा सुटुक्क वीष मिर्साई दिँदारहेछन् । परिणामतः आफैँ समाप्त हुनुको विकल्प नहुँदोरहेछ ।
त्यस्तो अवस्थामा अरुले आयोजना गरेका भोजमा सामेल हुने होइन । बरू आफैँले भोजको आयोजना गर्न सक्नुपर्छ । हैन भने बहिष्कार गर्न वा भाँड्न वा कू गर्न सक्नुपर्छ । यहाँ दुर्भाग्यपूर्ण नियती के बन्यो भन्दाखेरि, यी सबै कर्म गर्न नसक्ने गरी पहिले नै ह्वीप मार्फत् विवशताको जञ्जीरमा पारिसकेका थिए । त्यसैले अरूका भरमा छोरो पाल्न सकिँदैन । सत्ता चाहनेले पहिले आफ्नो बेग्लै सत्ता बनाउन सक्नुपर्छ । बेग्लै पनि नाम मात्रैको नभएर पूर्णतः सारमा समेत बेग्लै बनाउन सक्नुपर्छ । त्यसपछि बल्ल लडाउने खेल शुरू हुन्छ । निश्चित नियममा बसेर खेल्ने अवसर मिल्छ । त्यतिसम्म भएन भनेपनि वार्ताका लागि पूर्ण हैसियत निर्माण हुन्छ । यहीँनेर पहिचानवादी चुक्तै आएका छन् । आफ्नो परम्परागत मौलिक पहिचानको सत्तालाई थुक्ने तथा समाप्त पार्ने अनि अर्कोको सत्तामा भाग खोज्ने गोबरे बुद्धि हो ।
यहाँ स्पष्ट पार्न खोजिएको चाहिँ, राजनैतिक मान्यता र प्रतिकात्मक पक्ष बढो गम्भीर विषय हुन्छन् । यसलाई राज्यसत्ताले पनि खेलाँचीको रूपमा लिन हुँदैन । म त सक्ने भएँ भन्ने अहमता राखेर समभाव र सहचारिताको मार्ग छोड्ने हो भने व्र्रिोहको फ्युज फाट्छ । महासङ्ग्रामको मैदानमा धकेलिन पुग्छ । अन्ततः वार कि पार हुनेगरी युद्ध गर्नुको विकल्प हुँदैन । कतै गोमांस संस्कृति नै त्यसको मूल कारण नबनोस् भन्ने सबैको मनसुव हुन आवश्यक छ । अबको राजनीतिले गाईको पुच्छर समातेर वैतरणी तर्छु भन्छ भने त्यो भन्दा मुर्खता अरू के नै होला र ?
(क) सामाजिक सांस्कृतिक पक्ष
हरेक समाजिक सांस्कृतिक पक्ष वा मूल्य मान्यता कुनै न कुनै तरवबाट सत्तासँग जोडिएका हुन्छन् । त्यसैले कथित सत्ताहरू आफ्नो आयू लम्ब्याउनका लागि सामाजिक सांस्कृतिक पक्षमाथि हमला गर्दछन् । आफू खुशी व्याख्या गर्दै समाजमा हुइयाँ मच्चाउँछन् । नश्लीय तथा वर्गीयताको आधारमा ऊँच नीँचको तराजू बनाउँछन् । सत्ताधारीका हरेक पक्ष उत्कृष्ट भन्ने मान्यता स्थापित गराउँछन् । अर्को पक्षमाथि हीनता तथा लघुताभास गराउने खालका अनेक जालसाजपर्ण हर्कत गर्छन् ।
आफ्नो पक्षलाई दैवीकरण गर्छन् । अर्को पक्षलाई दैत्यकरण गर्दै दमन गर्नु पनि न्यायोचित हो भन्ने मान्यता बनाउन हदैसम्म गिर्छन् । सोही आधारमा मपाईँत्त्वको ढोङ्ग मच्चाउँछन् । नेपाली सामाजिक सांस्कृतिक पाटोलाई हेर्न हो भने पनि स्पष्ट देख्न सक्छौं । यहाँ बाहूनलाई सबैभन्दा ठूलो देखाउन ब्रह्माको मुखबाट निस्कृको हावादारी हुइयाँ मच्चाए । त्यहीक्रममा क्षेत्रीलाई पाखुरा, वैश्यलाई पिठ्यूँ साथै शुद्रलाई पाउबाट जन्मेका भन्ने मान्यतालाई सामाजिक सांस्कृतिक रुपमा स्थापित गराए । त्यसपछि गाईगोरुका मासु खानेलाई नरकको भागिदार बनाए । सुङ्गुरको मासु खानेलाई लिँड भनेर सम्बोधन गर्न थाले । आफूले खाने खसीको मासुलाई दैवीकरण ग¥यो । सहीअर्थमा विद्वान् विदुषी साथै मानव भन्नेका लागि यी सबै अशोभनीय मात्रै नभएर एक प्रकारले दण्डनीय हर्कत थिए ।
(ख) धार्मिक पक्ष
धर्मलाई कार्लमार्क्स भन्नेले अफिमको डल्ला भनेको थिए रे । हुन पनि नेपाली समाजमा विशेषतः अहिन्दूका लागि हिन्दूधर्म अफिम सावित हुँदै आएको छ । यसले अन्य धार्मिक मूल्य, मान्यता तथा समुदायलाई कहिल्यै उठ्न दिएको छैन । कहिल्यै उठ्न नसक्नेगरी दबाउनका लागि राज्यसत्ताको गलत प्रयोग गर्न समेत लाज मानेन । कथित संविधान तथा ऐन कानून बनाएर हिन्दूत्त्वलाई अब्बल ठहराउन अनेक हतकण्डा अपनाउँदै आएको छ ।
यसक्रममा अहिन्दू भूमिपुत्रका नृसंस हत्या गरेका हत्यारालाई बिष्णुको अवतार भनेर वैधानिकीकरण गर्ने दुष्प्रयास गर्दै आयो । धार्मिक आस्थाकै आधारमा अन्यलाई हीनभावको कुवामा गाडेर राख्यो । हिन्दूधर्म र हिन्दूमार्गीले गाईलाई पुज्ने हुनाले ठूलो भन्ने अवधारणा जबरजस्ती लाद्दै आयो । गौमांस खाएकै आधारमा तल्लो धार्मिक समुदाय भन्ने मान्यतालाई बढावा दिँदै आयो । हिन्दूधर्मका लागि सर्वत्र स्वतन्त्रता अनि अन्यका लागि जताततै काँढेतारबार मात्रै लगाइरह्यो । विशेषतः वैश्य र शुद्रलाई क्षेत्री तथा बाहुनको सेवा नै धर्म भनेर सर्वथा अनुचित शिक्षा जबरजस्ती घोकाउन लाज मानेन । दुखद् पक्ष यहाँका आदिवासी जनजाति वा आफूलाई राष्ट्र भन्ने भूमिपुत्रहरूले आफूहरु हिन्दू नभएकाले यो वर्ण व्यवस्थाभन्दा बाहिरको समुदाय हौं भन्ने बुझ्नै सकेनन् । परिणामतः साढे दुइसय वर्ष पुग्नै लाग्दासमेत अन्यौलताको भूमरीबाट उम्किन सकिरहेको छैन ।
(ग) राजनैतिक पक्ष
राजनीतिमा साम, दाम र दण्डभेदको नीति पनि जायज मान्छन् । बिष्णु पुराणमा बिष्णुले लक्ष्मीलाई भनेको हुन्छ– कसैले कसैमाथि अनीति गरेको रहेछ भने त्यस्ता अनीति गर्नेमाथि सजाय स्वरूप त्यसले गरेको अनीतिभन्दा पनि ठूलो अनीति गरे पनि त्यो नीति नै ठहर्छ । भनेपछि, कसैले आँखा तरेछ भने त्यसको आँखामा घोचिदिनु पनि नीति हुने भयो । कसैले कानून मिच्यो भने जात हेरेर मृत्युदण्ड वा बाँदा बनाए पनि न्याय हुने भयो ।
यस्तो मान्यतामा आधारित हिन्दूसत्ताले अन्यमाथि दमन गर्ने र त्यसलाई वैधानिकता दिलाउन अनेक हर्कत गर्दै आएको छ । अब अहिन्दूले पनि, अहिलेसम्म हिन्दूले अहिन्दूमाथि गरेका अनीतिका सजाय स्वरूप हिन्दूले अहिन्दूमाथि गरेका अनीतिभन्दा पनि ठूलो अनीति गरेछन् भने तापनि बिष्णुपुरानकै आधारमा त्यस्ता कार्यलाई नीति नै मान्नुपर्ने हुन्छ । यस्तै सोचको विकास भयो भने के होला ?
गोमांस खानेलाई तल्लो देखाउनकै लागि संविधान तथा ऐन कानूनमा गोबध भन्दै अपराधको सूचिमा राखेका छन् । यहीनेर बुझ्नुपर्ने के हो भने, राजनीतिशास्त्रको जन्मदाता अरस्तु हुन् । अरस्तु विश्व विजेता भनिएको अलेक्जेण्डरका गुरु थिए । एक समय पर्सियामा अलेक्जेण्डर विरुद्ध विद्रोह भएको थियो । उक्त विद्रोहको बेला अलेक्जेण्डर युद्धको क्रममा अन्तै पुगिसकेका थिए । पर्सियनले अरस्तुकी श्रीमती हरमियाजलाई भेट्टाए र सुलीमा चढाएर मृत्युदण्ड दिए ।
त्यसपछि पागलजस्तै भएका अरस्तुले एसियाका जातिहरूलाई सदाका लागि दबाइराख्नको निमित्त एउटा नयाँ सिद्धान्त नै प्रतिपादन गरे । त्यसको मुख्य ध्येय भने एसियनहरू आफ्नो लागि आफैँ शासन गर्न योग्य तथा सक्षम छैनन् । त्यसैले एसियनहरू युनानका अधिनमा रहनुपर्छ भन्ने थियो । यसप्रकार के भन्न सकिन्छ भने, राजनीतिशास्त्र भनेको राजनीतिको बारेमा अध्ययन गर्ने शास्त्र हो । जसको जन्मदाता अरस्तु नै हो अर्थात् राजनीति भनेको एसियनमाथि युनानीको शासनलाई स्थापित गर्ने र वैधानिकता दिनका लागि प्रतिपादित सिद्धान्त हो । भन्नुको अर्थ, राजनीति भनेको भूमिपुत्रमाथि फिरिङ्गेको सत्ता स्थापित गराउने हतियार मात्रै हो । त्यसैले राजनीतिबाट भूमिपुत्रको वास्तविक मुक्ति सम्भव छैन । यसको एकमात्रै उपाय चाहिँ भूमिपुत्रले आफ्नो बडी–पोलिटिकको अभ्यास दोहो¥याउनु हो ।
नेपालमा तामाङ लगायतका भूमिपुत्रहरू राजनीतिमा पछि परेको बताउँछन् । यसको कारण पनि यही हो; हिन्दू राज्यसत्ता भनेको राजनीतिमा आधारित रहेको छ । यहाँका भूमिपुत्रका मूल्य मान्यतामा राजनीति भन्ने नै छैन । उनीहरूसँग ’बडी–पोलिटिक’ मात्रै छ । बडि पोलिटिक अङ्ग्रेजी शब्द भयो । उदाहरणको लागि तामाङ समाजमा शासनप्रणाली भन्ने नै देखिँदैन । यिनीहरूसँग त समाज सञ्चालनको विधि तथा अङ्गहरू हुन्छन्; तिनमा बोन (बोम्बो), तम्बा, लामा, गन्बा, मुइमू र ह्युल्बा आदि हुन्छन् । त्यसैले तामाङ समाजमा शासक र शासित हुँदैनन् । उल्लेखित संस्थाहरू समाज सञ्चालनका अङ्ग तथा हेरालु मात्रै हुन् । तिनै बोन (बोम्बो), तम्बा, लामा, गन्बा, मुइमू र ह्युल्बा नै तामाङको बडी–पोलिटिक हो ।
मानव सभ्यताको शुरूवाती समयदेखि यही बडी–पोलिटकका आधारमा समाज सञ्चालन गर्दै आएकाले यिनका जीनमा पनि यसैले जरो गाडेको छ । परिणामतः हिजोअस्तिबाट अन्य फिरिङ्गेले ल्याएका राजनीतिमा अपनत्त्व देखिएको छैन । त्यसैले राजनैतिक चालबाजीका खेल खेल्न जान्दैनन् । उदाहरणको लागि हात्तीपोलो खेलमा नेपालले विश्व च्याम्पियनशीप प्राप्त गरिरहन्छ; किनकी त्यो खेलको शुरूवात नै नेपालबाट भएकोले अन्यले कहिल्यै नेपालीले जस्तो राम्रो खेल्न सक्तैनन् । राजनीति नामक खेलको प्रणेता अन्य नै भएकाले भूमिपुत्रहरू यो खेलमा जहिले पनि पछि परिरहन्छन् । राजनीति गरेर नसक्ने भूमिपुत्रले अब बडी–पोलिटिकको अवयवहरूका व्यापक अभ्यास गर्ने हो भने राजनीति भन्ने कथित जिनिस स्वतः आउटडेटेड भएर सकिनेछ ।
(घ) न्यायिक पक्ष
हरेक देशका लागि न्यायव्यवस्था महत्त्वपूर्ण विधा हुन्छ । न्याय भनेको सबैका लागि बराबरी हुनु पर्दछ । विभेदकारी तथा कसैको सुरक्षा र कसैलाई माथि उठ्न नदिने खालका व्यवस्थामा न्यायिक पक्ष कमजोर हुन्छ अथवा न्यायिक व्यवस्था नै पक्षपाति भयो भने अन्याय सिवाय अरू केही आश गर्न सकिन्न । नेपाली न्यायिक पक्षलाई हेर्ने हो भने यो त हिन्दूका सुरक्षा तथा अहिन्दूमाथिको विभेदलाई वैधानिकता दिने हतियार भन्ने स्पष्ट देखिन्छ । पछिल्लो उदाहरण भनेको राष्ट्रिय जनावरमा गाई राख्नु, हिन्दूत्त्वको लागि व्यवस्था गर्नु साथै पहिचानको आधारमा सङ्घको नामाकरणमा सरकारले नै हस्तक्षेप गर्नुलाई लिन सकिन्छ ।
यस्ता हर्कतलाई न्यायपूर्ण व्यवस्था भन्नु भनेको साउनमा आँखा फुटेको गोरुका लागि पनि सम्भव हुँदैन । पृथ्वीनारायण शाहको पालादेखि नै न्यायिक रूपमा तामाङ लगायतका भूमिपुत्रलाई दास बनाउने क्रम शुरू गरेका थिए । राणाकालमा त मासिन्या मतवाली नै बनाए । गाईखाने भोटे भन्दै अपमान तथा आपत्तिजनक शब्दद्वारा अपहेलित गर्दै राज्यसत्ताले मनोरञ्जन हासिल गरिरह्यो । अहिले पनि भोटे भन्न छोडेका छैनन् । गाईकाण्डमा अनगिन्ती तामाङलाई राज्यसत्ताले फसाउँदै आएको छ । अहिले पनि गौहत्या भन्दै तामाङलाई समात्ने, थुन्ने र बर्बाद पार्ने कार्यमा रत्तिभरि परिवर्तन भएको छैन । त्यसैले गोमांस संस्कृतिलाई यो देशको संविधानदेखि ऐन कानूनले मान्यता दिएको छैन । यहाँका नेतृत्ववर्गदेखि कर्मचारीतन्त्रका आँखामा कपट रहेको छ । यिनीहरू नै साउनमा आँखा फुटेका गोरु भएका छन् । अहिलेको जमानामा जस्तै गौहत्या भन्दै लाज नमानीकन अझै गौरवताका साथ तामाङ लगायतका भूमिपुत्रलाई समाप्त पार्न अन्तिम प्रयास गर्दैछन् ।
७. किन खान्छन् गोमांस ?
’जातले पा’को ! हातले खा’को !!’’ भन्ने नेपाली उक्ति पाइन्छ । त्यस्तैगरी ’’खाने मुखलाई जुँगाले छेक्तैन’’ भन्छन् । यी सबै हिन्दू राज्यसत्ताले नै निर्माण गरिदिएको कुरा हो । कुनै जमानामा गोमांस संस्कृतिमा पूर्णतः बन्देज लगाउन नखोजेको पनि होइन तर आफूहरु उच्च बन्नका लागि अन्य कोही न कोही नीचको आवश्यकता महशुश गरे । तिनै नीचता निर्माणको लागि गोमांसमा पनि सिनो नै भएपनि खान दिनुपर्ने भयो । सोही अनुरूप सिनो खाने जात बनाएर स्थापित गराउनका लागि उल्लेखित उक्तिहरू बनाएका थिए । आज तिनै उक्ति तिनीहरूका लागि समस्या बनेको छ । महादेवले नै भष्मसुरको जन्म गराएका थिए । अन्ततः तिनै भष्मसुर महादेवको काल बनेर उभिएको थियो । त्यस्तो विषम् परिस्थितिमा विष्णुलाई महिलाको भेषमा उतारे भष्मसुरलाई भष्म पारेका थिए । आज त्यही हिन्दू राज्यसत्ता पुनः राष्ट्रिय जनावर गाई राख्ने साथै पहिचानको आधारमा नामाकरण गर्ने नाममा हिन्दूको पहिचानलाई स्थापित गराउन एक हिसाबले सफल भएको छ ।
यतिखेर किन खान्छन् गोमांस भन्ने गम्भीर प्रश्न बनेको छ । खान्छन् मात्र नभएर खाइरहन्छन् वा खाइरहेका छन् भन्ने भएको छ । राज्यसत्ताले पत्तासाफ गर्न अनेक हतकण्डा अपनाउँदा पनि दबाएर समाप्त पार्न सकिरहेको छैन । यसको एउटै कारण तिनैले बनाएको ’’जातले पा’को ! हातले खा’को !!’’ नै हो । भन्छन्, नानीदेखि लागेको बानी कहिल्यै छुटाउन सकिन्न । अहिन्दूले सभ्यताको निर्माण अघिदेखि स्वाद पाएकाले पनि छुटाउन सकिरहेको छैन । अहिले हिन्दू भन्नेहरूले पनि यदाकदा खाएका पाइन्छन् । तत्कालिक माओवादी सशस्त्र जनयुद्धको बेला प्रचण्ड र बाबुराम भट्टराई लगायतले गोमांस खाएका थिए । यसको पनि वंशाणुगत गुणको प्रभाव मान्न सकिन्छ । कामधेनु गाईको कथा बनाउनुअघि गोमांस तिनकै पुर्खाले सबैभन्दा धेरै खाएका प्रशस्त प्रमाण छन् ।
खेलकै रूपमा हेर्ने हो भने, जुवा र तासमा हारेपछि झन् रीस उठ्छ । अन्ततः आफ्नै श्रीमतीसमेत दाउमा राख्न पनि पछि पर्दैन । त्यस्तैगरी कोठा बन्द गरेर आक्रमण गरेपछि बिरालोले पनि घाँटीमा नै ताक्छ । शुरूमा नै हिन्दूराज्यसत्ताले धादिङको सेमजोङमा गौकाण्ड मच्चाएर तामाङको राज्य खोसेको थियो । कयौं तामाङको नरसंहार मच्चाएको थियो । त्यसपछि पनि त्यो क्रम रोकिएको छैन । त्यसैले तामाङको अवचेतन दिमागमा कोठा बन्द गरेर आक्रमण गरिएपछि भाग्ने ठाउँ÷बाटो नपाएको विवश बिरालोको जस्तो भएको सहज अनुमान लगाउन सकिन्छ । त्यसैले जे होला भन्ने भावका साथ ज्यान बाजी थापेर पनि गोमांस संस्कृतिलाई नछोडेको देखिन्छ । जति कडा कानून बनाए तापनि यिनीहरू जेनेटिकल्ली समूल नष्ट हुन तयार भए तर गोमांस छोड्न तयार भएनन् । हुने छाँटकाँट पनि देखाइरहेका छैनन् । हिन्दूले कुलपुजा गरेको देखेपछि आफ्नो पनि ’’फो ल’’ लाई लङस्य चढाउने रहर जाग्नु स्वाभाविक मान्नुपर्ने हुन्छ । बाँकी बुझाई राज्यसत्ता भन्नेको हो ।
८. उचित÷अनुचितको कसीमा गोमांस संस्कृति
भन्छन्, संसारमा राम्रो नराम्रो भन्ने केही पनि छैन र हुँदैन पनि ! ती सबै मानिसको सोच मात्रै हुन् । त्यसैले कोही राम्रो वा नराम्रो भन्ने हुँदैन । कसैले भन्छन् भने, त्यस्तो भन्नेकै दोष हो । समाजशास्त्र तथा मानवशास्त्रले पनि राम्रो, नराम्रो, उचित, अनुचित साथै सभ्य र असभ्य भन्ने दृष्टिकोणलाई पूर्णतः अस्वीकार गरेको देखिन्छ ।
बौद्ध दर्शनले पनि कुनै समय वा अवस्थाको अनुचितलाई अर्को अवस्थामा उचित मानेको पनि देखिन्छ । कुनै अवस्थामा पञ्चमकार (मांस, माछा, मद, मैथुन र मुद्रा) पवित्र मान्न पुग्छन् । झूटो बोल्न हुन्छ कि हुँदैन भन्ने सम्बन्धमा बुद्धले नै ज्यान बचाउनको बोलेको वा पूरा नबोलेको तर्क पनि पाइन्छन् । एउटै प्रश्नको उत्तर पनि मानिसपिच्छे फरक दिएका देखिन्छन् । यी सबले उचित वा अनुचित साश्वत नहुँदोरहेछ भन्ने स्पष्ट हुन्छ ।
हिन्दूमा त्रिदेवको विशेष महत्त्व रहेको छ । यी तीन मध्ये कुन ठूलो भन्ने प्रश्न पनि उठाउँछन् । शिवपुराणमा शिव नै ठूलो देखिन्छ । बिष्णुपुराण हेर्ने हो भने बिष्णु नै सर्वेसर्वा भन्नुपर्ने हुन्छ । एउटै अपराध गरेका अपराधीलाई सजाय दिँदा जात हेरेर दिने प्रचलन हिन्दूमान्यतामा आधारित स्मृतिहरूमा पाइन्छन् । यसरी एउटै अपराधमा पनि सजाय फरक भन्नुको अर्थ उचित र अनुचित भन्नेमा पनि अवस्था अनुसार फरक हुँदोरहेछ भन्ने स्पष्ट हुन्छ ।
कुनै जमानामा आफैँले खाएको गोमांस अब खानु हुँदैन भन्न नपाइने भन्ने हुँदैन । खाएका बेला खाँदा पनि ठीकै थियो । त्यही गोमांस खान छोडेदेखि कसैले खाएमा अक्षम्य अपराध सावित गराउन खोज्नु उचित होइन । हिन्दू इतरका समुदायलाई यो नियम लागू नगराउनुपर्ने थियो तर जबरजस्त थोपर्नुलाई जायज मान्न सकिन्न । यसप्रकार गोमांस संस्कृतिलाई उचित र अनुचित भन्नु हिन्दूकै मान्यतानुसार गलत छ । त्यसैले कम्तिमा पनि हिन्दूले नखानु उचित र खानु अनुचित भन्न सकिएला । अहिन्दूले खान्छन् भने हिन्दूले अनुचित भन्ने र सत्ताले सजायको त्रास फैलाउने काम गर्छ भने यस्ता कार्य सिधै अमानुषिक भन्नुपर्ने हुन्छ ।
९. टुङ्ग्याउनी
करले केरा पक्तैन । त्यसैले नखानेलाई खाउ भनेर जबरजस्ती गर्न पाइँदैन । आफूले नखाँदैमा अन्यले पनि खान पाइँदैन भन्नु न्यायसङ्गत हुँदैन । गोमांस संस्कृति नै हो । यसलाई विकृति भन्नुको औचित्य छैन । त्यसैले अनुचित भन्नु वैज्ञानिक तर्क होइन । खानुलाई अन्धविश्वास मान्नेले नखानु चाहिँ अन्धविश्वास होइन भनेर प्रमाणित गर्न सकेका छैनन् । त्यसरी प्रमाणित गर्न सकिने कुरा पनि होइन ।
हिन्दूले गाईलाई आमा समान मानेर पुज्न पाउनु पर्छ । यसको अर्थ अन्यले पनि पुज्नै पर्छ भन्न मिल्दैन । गोमांस संस्कृतिका समुदायले यसका निर्वाध सेवन गर्न पाउनु नै खाद्यसंस्कृतिमाथिको अधिकार भन्ने मान्यता प्रचलित रहेको छ । हत्या हिंसा नगर्नेले गोमांस सेवन गर्दिनँ भन्न सक्छन् तर अरूका सेवन गर्छु र गोमांस चाहिँ सबैका लागि बर्जित भन्छ भने नैतिक सङ्गत ठहरिँदैन । बाँकी कुरा तन्काउने वा मपाईँत्वको स्याल हुइयाँ भन्दा अरू केही हुँदैन । धन्यवाद !!!