मोहन दुवाल, वरिष्ठ साहित्यकार
महोत्तरी खयरमाराका राजु स्याङ्तान जनयुद्धमा पनि आफूलाई समर्पित तुल्याएर शोषित, पीडितका पक्षमा युद्धमा लड्न पाएका एकजना चेतनशील युवा कवि हुन् । यिनी पत्रकारिता गर्छन्, कविता लेखनमा पनि सक्रिय छन् । राजनीतिक आन्दोलनमा समर्पित भएका एकजना तामाङ युवा कवि जसले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । स्याङ्तानले अनुसन्धान र फिचर रिपोर्टिङमा आफ्नो सक्रियता देखाएका छन् ।

हालैमात्र यिनको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ नेपा–लयबाट प्रकाशित भएका छन् । यसै पुस्तकको अन्तक्र्रिया कार्यक्रम हालैमात्र बनेपामा सम्पन्न भएको थियो । उक्त अन्तक्र्रियाका प्रमुख अतिथि र प्रमुख वक्ताका रुपमा मलाई आमन्त्रण गरिएको थियो । अन्तक्र्रियामा सहजकर्ताका रुपमा युवाकवि अर्पण उत्कर्ष रहनुभएको उक्त कार्यक्रममा अर्का प्रमुख वक्तामा कुमारी लामा पनि हुनुहुन्थ्यो । तामाङ समुदायका युवाहरुको विशेष उपस्थितिमा बनेपा नगरपालिकाको सभाकक्षमा भएको उक्त कार्यक्रममा लिखित रुपमा लगेको टिप्पणी सुनाउँदै राजु युवापुस्ताका शक्तिशाली कवि रहेको कुरा व्यक्त गरेको थिएँ । केही दिन अगाडि नै मेरो घरमा राजकुमार लामा आउनुभई ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रह छोडेकोले मलाई अध्ययन गर्न तारतम्य मिल्यो । उक्त अन्तक्र्रियामा मैले सङ्क्षिप्तमा बोल्दै भनेको थिएँ – “राजु स्याङ्तान नेपालका शोषित, पीडित जनताका शब्दचित्र उतार्न सक्षम कवि हुन् ।” यस कुराको प्रमाणको रुपमा कवितामा कवि स्याङ्तान यसरी शोषित, पीडित जनताका पक्षमा आफूलाई उभ्याउँदै लेख्छन् ः–
मेरा आफन्तहरु त संसारैभरि रहेछन्
कोही कोइलाखानीमा रोइरहेका
कोही तेलखानीमा सडिरहेका
कोही डुङ्गा पल्टिएर मरिरहेका
००
यो सीमाहीन आकाशको मध्यविन्दुमा पुगेर
सोचिरहेछु आज
पसिना बगाउनेको
देश त नहुँदो रहेछ
देश नहुनेको
सिमाना नहुँदो रहेछ ।
००
(आकाशमाथि उड्दाउड्दै)
यस्तै कवितामा मर्मशील हरफहरुले प्रमाणित गरिदिन्छ ‘यिनी विचार दृष्टिमा बहुसंख्यक जनताका पक्षधर कवि हुन् । नेपाली जनमनहरु श्रम पोख्न, अर्काको दास हुन विदेश धाउँछन् । विदेशमै मृत्युवरण गर्छन् । यस्तै वाध्यतामा नेपाली श्रमिकहरु विदेशमा आफूलाई धरौटीमा राखेर बाँच्छन् । राजु कविको कवितामा बिम्ब छरपष्ट छन् । कविता सरल भाषामा लेखिए तापनि सौन्दर्यपूर्ण छन् । त्यसैले भन्न सकिन्छ राजु स्याङ्तान नयाँ पुस्ताका कवितामा देखाउन मिल्ने सफल कवि हुन् । उनी कवितामा बिम्ब पोखेर कवितामा सौन्दर्य भर्न सिपालु छन् ः–
फापरको रोटी पकाउँदा
अन्तिम गाँस नखाई
नातिको बाटो हेरिरहने
हजुरआमालाई पनि भनिदिनु
अरबबाट नाति आइपुग्यो
००
पठाउन सकिएन यसपटक
मुटु निचोरेर रगत
हाजिर भएको छु आफैँ
कफिनमा बन्द भएर ।
००
(म आइ पुगें)
आफ्नै देशको मर्मशील ढङ्गले दुःख पाएका शोषित, पीडित जनताका दुःख, दर्दमा कवितामा अनुभूति पोख्न जानेका कवि राजुले देशको चित्र दयनीय ढङ्गले भत्किंदै गएकोमा चिन्ता पनि व्यक्त गर्न जानेका छन् । ‘रेमिट्यान्स’ कै आधारमा देश चलाउँदै गरेका सत्ताधारीहरुलाई व्यङ्ग्य गर्दै कवितामा यिनी लेख्छन् ः–
डाँफेको प्वाँख हराउन सक्छ अब
चुलीमा हिउँ हराउन सक्छ अब
राहदानीसँगै अलिकति देश च्यापेर
प्रत्येक दिन उड्ने विमानसँगै
एक दिन संसारबाट
देशै हराउन सक्छ अब
महोदय !
अनि तपाईं
कुन देशमा बसेर गन्नुहुन्छ
रेमिट्यान्स ?
००
(रेमिट्यान्स)
देशको व्यथा पोख्न जानेका, शोषित–पीडित जनताका दुःख दर्द कथ्न सिकेका, नारीजातिकै उत्थानका लागि मर्म पोख्न खोजेका, तामाङजातिकै इतिहास जुन दर्दमा लुकेको छ सोको व्यथा बताउन सिकेका यिनी कवि नयाँ पुस्ताका प्रभावशाली कविका रुपमा देखापरेका छन् । देशको परिवेश, स्थिति भत्किंदै गएकोमा पनि कवि चिन्तित छन् । नारीहरुको दर्दमा पनि यिनले कवितामा मर्म पोखेका छन् । जस्तै ः–
जँड्याहा बाउले कुट्यो भनेर
लुगाको पोको बोकी
त्यसरी रुँदै–रुँदै
मामाघर नजाऊ आमा
००
त्यहाँ पनि त मामाले
यसरी नै कुट्छन् माइजूलाई ।
००
(मामाघर)
महिलामाथि पुरुषको बलात्कार, राज्यबाट देश र जनतामा फिँजाउँदै आएको आतङ्क, नेताहरुबाट हुँदै गरेको ज्यादतीका विरुद्ध कवि कवितामा यसरी आफ्नो अनुभूति पोख्छन् ः–
आज फेरि सुनियो
अदालतकै आँगनमा
झुण्डिरहेको छ
फूलमाया विकको शरीर
यसपटक ‘सुसाइड नोट’ फेला प¥यो
नोटमा लेखिएको छ बलात्कारीको नाम ‘राज्य’ ।
००
(बलात्कारी)
देशका राजनेताहरु कस्तो गतिमा छन् र उनीहरु सत्तामा पुगेपछि कस्तो रुप कोर्छन् भन्ने विषयमा कवि स्याङ्तान यसरी औंल्याउँछन् –
भोकाहरुको अलिखित इतिहासमा
एउटा अध्याय थपियो
छुटेको प्रचण्ड
अघाएकाहरुको लिखित इतिहासमा
अर्को अध्याय थपियो
पुष्पकमल दाहाल ।
००
(छुटेको प्रचण्ड)
तामाङजातिले गौरव गर्दा उपयुक्त हुने कवि । तामाङजातिकै अस्मिता र स्वत्व व्यक्त भएको इतिहास कथ्न प्रयत्नशील कविका रुपमा पनि राजु स्याङ्तानलाई चिनाउन सकिन्छ । देशकै कथा, देशकै व्यथा यसरी चिनाउँछन् कवि स्याङ्तान ः–
मेरो देश
ठ्याक्कै मजस्तै छ
बिहान
बल्छीमा रोटी उनेर
भोको बस्तीमा उभिन्छ
बेलुकी
भोको मान्छेलाई नै बल्छीमा उनेर
कर्पोरेट बिल्डङबाहिर उभिन्छ ।
००
(दिनचर्या)
देशको समृद्ध दुःख पोख्दै कवितामा यिनीले लेख्छन् ः
कोक, फ्यान्टा र डिउको नयाँ पहाड
त्यो पहाडको काखतिर हेर्नू
रित्तो बोतलभित्र देखिनेछ
सर्वस्व गुमाएर
राष्ट्रियगान गाइरहेकाहरु ।
००
(समृद्ध दुःख)
देशमा भइरहेको सत्ताधारीहरुको अकर्मण्यतालाई देख्दै कवि राजु स्याङ्तान आक्रोश पोख्दै कवितामा लेख्छन् ः–
देशले ‘हाइब्रिड’ बिउ रोपेर गरिबी फलायो
गुन्जमान महर्जनले पसिना रोपेर धनियाँ फलायो
त्यही धनियाँ खर्पनभरि बोकेर
सहर झर्दाझर्दै
गुन्जमानको कठालो समाउँदै प्रहरीले भन्यो–
‘सवारी छ’
००
सहरमा रातदिन सवारी छ
तर देश
युगौँदेखि
जहाँको त्यहीँ छ ।
००
(सवारी)
नयाँ प्रतिभावान कविको जन्म भएकोमा बधाई छ । राजु स्याङ्तान त्यस्तै प्रतिभावान कवि हुन् । कविता बोक्दै देश चहार्न खोजेका कवि राजु स्याङ्तानलाई सफलता मिलोस् – शुभकामना छ ।
००