logo
२०८३ अषाढ २९, सोमबार |
📰
🔍

नवलपरासीका समुदायमा विचरण गर्दा

प्रभातफेरी अनलाइन३३३२ पटक पढिएको प्रकाशित मिति: ४ साल अघि (४ साल अघि)
नवलपरासीका समुदायमा विचरण गर्दा

प्रदीप सापकोटा, पनौती–१, काभ्रे

समय प्रतिकुल छ । तर पनि आफ्नै गतिमा लयवद्ध भएर हिंडिरहेछ । हामीसँग पनि समयको लयमा आफ्ना कदम अघि बढाउनको विकल्प थिएन। कन्चनपूरबाट फर्केर नवलपरासीका विभिन्न दैवीप्रकोप पूर्वतयारीको लागि गठित समितिहरुको अध्ययन अवलोकन गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुरुप हामी हिंडेका छौं । २०५९ मंसिर२ गते । घुम्ने मेरो रहर । नयाँ ठाँउ र चिजको दृश्यापान गर्न चराहरु जस्तै उन्मुक्त मन लिएर उड्न चाहना राख्छ मेरो मन । समुन्द्रको उताल तरंगमा तरंगित र झंक्रित हुँदै वेगवान बग्ने चाहा राख्छ मेरो मन ।
हामी नवलपरासीको सुनवल वजार आइपुगेका छौं । हामीसँग रेडक्रस केन्द्रका दैवी प्रकोप संयोजक भक्त खवास,प्रमुख विष्णुहरी देवकोटा,सिन्धुली शाखा सभापति विश्वम्भर लामिछाने,काभ्रे शाखा सभापति सोम प्रसाद हुमागाँई लगायत अन्य विभिन्न जिल्लाका रेडक्रसका कर्मचारी र स्वयंसेवक गरी २२ जना भ्रमण टोलीमा संलग्न छन्।रामग्राम नगरपालिकामा पर्छ सदरमुकाम । परासी बजार उति भिडभाड देख्दिन म । किनकी यहाँ पनि द्धन्द्धको असर रहेछ । हिजो राती कन्चनपूरबाट ढिलै आइपुगेका हामी यहीं एउटा होटलमा बास बसेका हौं ।
नवलपरासी पश्चिमाञ्चल अन्तर्गतका १६ जिल्ला मध्येको भौगोलिक हिसावले पहाड,हिमाल,तराई र भित्रि मधेश भएको जिल्ला हो । धर्ती उज्यालिएको छ। हामी उठेर यताउती हेर्छाैं । रामग्राम विश्वका ६ वटा अस्तु समाधीस्थल मध्येको एक मानिन्छ । हामी गौतमवुद्धको अस्तु धातु रहेको स्थानमा पुग्छौं। रामग्राम बुद्धकी आमा मायादेवीको जन्मथलो हो । हामी केही फोटोहरु लिन्छौं । यो धार्मिक र ऐतिहासिक स्थलमा पाइलो टेक्न पाउँदा गद्गद थिएँ म । सायद साथीहरु पनि आनन्दित भए होला । शान्त थियो त्यो ठाउँ । नत्र त अहिलेको देशको राजनीतिक दुरावस्थाले जताततै आतंकको ट्यूमर पलाएको छ बाबै । डरले सबैको मनमा स्थायी डेरा जमाएको छ । यो देशको ऐंजेरु छिट्टै कुहिएर समाप्त भैदिए जनताको मुहार कति आल्हादित हुँदो होला ।
नवलपरासी रेडक्रस जिल्ला शाखाका पदाधिकारीहरुले हाम्रो स्वागतमा शाखा कार्यालयमा कार्यक्रम राखेका रेछन । शाखाकी सभापति राधा प्रधान,उपसभापति दामोदर शर्मा,मन्त्री अर्जुन बहादुर प्रधान,कोषाध्यक्ष पुण्य प्र.पौडेल लगायतसँग चिनापर्ची गरिन्छ । विहानको नास्ता जेरीपुरी तरकारी र चियाको मिठो आतिथ्यता सहित सानो कार्यक्रम चल्छ । भ्रमण कार्यक्रमको उद्धेश्यमाथि केन्द्रका अफिसर राजेन्द्र रोक्काले प्रकाश पार्छन् । दैवीप्रकोप समिति रेडक्रस नवलपरासीका संयोजक गोपीकृष्ण योगीले स्वागत मन्तब्य राख्छन् । नवलपरासी रेडक्रस शाखाको स्थापना २०३१ ज्ोठ ३१गते भएको रहेछ । १२सय जना आजिवन सदस्य भएको रेडक्रसले त्यहाँ एम्बुलेन्स,खानेपानी सुधार कार्यक्रम,वाढीबाट विस्थापित परिवारको पूर्नस्थापना लगायतका कार्यक्रमहरु संचालन गरिरहेको जानकारी प्राप्त भयो। । सामुदायिक प्रशिक्षक कृष्ण केसी रहेछन्। विभिन्न जिल्लाका रेडक्रसकर्मीहरुको अपूर्व भेट यादगर नहुने कुरै भएन मेरा लागि ।
होटलमा खाना खाएर एकछिन सुस्ताउछौं सबैजना । मैले एक बोतल पानी किनेँ । अनि त्यहाँ वरपरको वातावरण र बस्तुस्थिति नियाँले । खासै हेर्नैपर्ने केही भएजस्तो मानेन मनले । तैपनि मेरो पहिलो नवलपरासीको घुमाईले केही ज्ञानका पोथ्रापोथ्रीहरु बटुल्न सक्ला भन्ने ठम्याइ रह्यो । केहीबेरको सुस्ताईपछि हामी निस्कन्छौं । सुनवल उपशाखा सभापति गोपाल प्र.शर्माले विदाई गरे हामीलाई । हामी अघि बढ्छौं,सुनवल वजार ओझेल पर्छ । मलाई थाहा छ यात्रामा दुःख बढी पाइन्छ र पनि पर्वाह गरेको छैन्।नारायणी सिविडिपी समितिको कार्य हेर्न हामी रजहर गाविस कुजौली तर्फ हाम्रो यात्राको गाडी बढ्दैछ । वर्दघाट,दुम्कीबास,ज्यामिरे खोला,वेलहानी,बिजय खोला हुँदै अरुणखोला पुग्छौं हामी । मनभरी उत्सुकताको बेग तिव्रतर छ मेरो भनिसाध्य भए पो । प्राकृतिक सुन्दरताको सान्निध्यतामा रमाउनुको मज्जा गाडीको झ्यालबाट लिइरहेछु म । खोलाको किनारतिरको खाली वगरमा कतै त्रिपाल हालिएको छ । कतै बोराहरु सिलाएको पाल हालेका छाप्रा जस्ता देखिन्छन् । सुकुम्बासीहरुको बसोवास भएको ठहर गर्न मलाई कठिन भएन । विचरा कतै पालहरु मक्किएर प्वाल परेर खुला आकाश देखिन्छ । मनले दुःख मान्यो । तर गर्न सक्ने के नै थियो र । अमिलो मन पार्दै अघि बढियो ।
कावासोती पुग्छौं । शिवनगर चोरमारा जहाँ मेची महाकालीको विचको विन्दु ५१२ कि.मि.नेपालकै मध्यभाग हो यो । करिव ९० मिटर लामो कावासोती पुल तरेर शिववस्ती बजार नवलपूर पुग्छौं हामी। प्रगती नगर जहाँ बर्मेलीहरुको बासस्थान रहेको रहेछ । दलदले बजार हुँदै गंगादेवी चौधरी उद्योग जहाँ वाई वाई चाउचाउ उत्पादन हुन्छ देख्छौं हामी । त्यहाँबाट रजहर गाविसको नारायणी सिविडिपी समितिमा पुग्छौं ।
हामीसँग छन् रेडक्रस केन्द्रका भक्त खवास,विष्णहरी देवकोटा,आदेश त्रिपाठी,राजेन्द्र रोका,काभ्रे रेडक्रस सभापति सोम प्रसाद हुमागाँई,सिन्धुलीका सभापति विश्वम्भर लामिछाने,कन्चनपूरका दैवी प्रकोप समिति संयोजक डा.डिएस पटनी,नवलपरासीका उपसभापति दामोदर शर्मा,संयोजक गोपीकृष्ण योगी,सामुदायिक प्रशिक्षकहरु हर्क भण्डारी,कृष्ण केसी,काभ्रेका सामुदायिक कार्यकर्ता साथीहरु रमेश महत,सुदिप हुमागाई,विनोद लामिछाने,लालमान लामा,गीता दुलाल लगायत अन्य जिल्लाका सामुदायिक कार्यकर्ताहरु।त्यहाँको समुदायले दैवीप्रकोप ब्यवस्थापन सम्बन्धी तालिम,प्राथमिक उपचार तालिम लिएका जनशक्ती तयार पारेको रहेछ।समुदायलाई प्रकोप पर्दा आवश्यक सहयोग गर्न परिक्रमानिधि कोष खडा गरिएको रहेछ हाल उक्त कोषमा रु.७३१९। जम्मा भएको रहेछ । करिव ४ सय अन्न संकलन गरि भण्डारण गरिएको,प्रत्येक महिना समुदायबाट रु५। संकलन गर्ने नीति अख्तियारी गरिएको रहेछ।ब्यक्तिगत चन्दा र जिविसबाट अनुदान प्राप्त रकम सहित रु.७३हजारको लागतमा तटवन्ध निर्माण गरी नारायणी नदीले कटान गर्ने जमिन जोगाइएको रहेछ । त्यसको लागि ३ दिन प्रत्येक घरधुरीले अनिवार्य श्रमदान गरेका रहेछन् । उक्त स्थानमा करिव ५० विघा जमिन नारायणी नदीले कटान गरेको जानकारी पाइयो । थारु समुदायको वाहुल्यता रहेछ त्यहाँ।तर उनीहरु समुहमा अत्यन्तै क्रियाशिल र जागरुक देखियो ।
हामीलाई जहाँ लाने भनेर पूर्व निर्धारित कार्यतालिका बनेको थियो । हिजो राती त्यहाँ सरकारी सुरक्षाकर्मी तथा विद्रोहीहरुको दोहोरो भिडन्त भएको खवर आएकोले त्यताको परिवेश अलिक विषम छ भन्ने जानकारी पाए अनुसार त्यताको यात्रा स्थगित भएको जानकारी भक्त खवासले हामीलाई गराए। हाम्रो यात्रामा कहर बनेर अवरोध गर्नेहरुलाई मनले माफी दिन सकेन । हाम्रो यात्रा अव शहीद नगर डण्डा हुँदै कोलहवा तर्फ तय भएको जानकारी प्राप्त भयो। यहाँ ब्रम्हाण,क्षेत्री,ठकुरी थारु,मगर,गुरुंग आदि जातिको बसोबास रहेछ।कोल्हुवा नन्दपूर दैवी प्रकोप पूर्व तयारी समितिका संयोजक रहेछन् राम नारायण महतो। जस अन्तर्गत ८४ घरधुरी आवद्ध रहेछन् । यहाँको जनसंख्या करिव ५६३ रहेको छ । साक्षर संख्या ३०४ छ । यो सबै राम नारायण महतोले हामीलाई जानकारी गराए।उनीहरुले दैवी प्रकोपसंग सम्बन्धित विभिन्न तालिम प्राथमिक उपचार,दैवीप्रकोप पूर्वतयारी,दैवी प्रकोप ब्यवस्थापन आदि तालिमहरु लिएका रहेछन् । त्यहाँ पनि अन्न संकलन गरिएको रहेछ । कोष ब्यवस्थापनको प्रारम्भ भएको तर मासिक रुपमा रकम उठाउने नगरिएको उनले बताए । हामीलाई उनले नारायणी नदिले गरेको जमिन कटान देखाउन पनि लगे । नारायणी नदीले धेरै ठूलो भुभाग कटान गरेको रहेछ । ठाँउ ठाँउमा ग्याब्लिंग वाल लगाइएको देखिन्थ्यो । समुदाय जागरुक भए गर्न सकिन्छ भन्ने कुरामा रामनारायणसँग गरिएको स्थलगत अवलोकनले मेरो विश्वासको सगरमाथा झन ठडियो । उनको मिहेनत,समूहको अब्बल नेतृत्वलाई मैले मुक्तकण्ठले प्रशंसा नगरी रहन सकिन । थारु समुदायको एक जागरुक युवा आफ्नो समुदाय बनाउन लागेको छ । यति सम्बेदनशिल समय छ भनिसाध्यै छैन् । उसलाई पटक पटक नेपाली सेनाले लगेको छ भने विद्रोही पक्षले समेत निगरानी गरि रहेको छ रे । राम नारायण भन्छन् “विहान सकुशल घरवाट निस्केको मान्छे बेलुका घर फर्कन्छ या फर्कन्न भन्न सकिन्न । हाम्रो ठाउँको अवस्था भयानक त्रासदीपूर्ण छ हजुर ।”कहाँ त्यहाँ मात्र हुनु यो त आम नेपालीको नियती हो नि ।
यहाँका बासिन्दाहरुको समस्या धेरै छ । आर्थिक कठिनाई,अनेकों समस्यासँग जुधिरहेको बस्ती भनिसाध्यै छैन् । विकासमा ग्रहण लागेको छ । बस्तीतिर जाने बाटाघाटाहरु कतै हिलाम्मे खाल्डाखुल्डीहरु त कतै धुलाम्मे छ । विचरा लाउँलाउँ खाउँखाउँको उमेरका बालबालिकाहरुको अबोधताको आकाश उस्तै पीडामय लाग्दो छ । भोलीको सुन्दर विहानीको पर्खाइमा रहेका वालवालिकाहरुको भविष्यमाथि मडारिइरहेको अशिक्षा,कुपोषण,गरिवी जस्ता ऐँजेरुहरु देख्दा कस्को पो मन दुख्दैन र ! यो ठाउँको भोलीको प्रतिबिम्ब देखेर अरुहरुलाई के भो कुन्नी । मेरो मन भने कुँडुलियो । त्यहाँको सिङ्गो जनजीवन र समाजका विभिन्न पक्षहरुको तस्वीर नियालें । पीडा,अभाव,त्रासद मानसिकता र विकृत मनहरु सहित बाँचेका छन् प्राय सबै ।
राम नारायण महतो,सरल छन् । उनको सरलताभित्र ठूलो गाम्र्भियताको आभाष देख्न पाउँछु म । उसको सरलता र इमान्दारीताले मेरो मन छुन्छ । लाग्छ राम नारायण जस्तै एकाध अगुवा भ एभने कुनैपनि समुदायमा छिट्टै सकारात्मक परिवर्तन सम्भव छ । रामनारायणको बारेमा सर्वसाधारणवाट सुन्दा यस्तो लाग्छ जीवनको रंगमञ्चमा यथार्थपरक भूमिका निर्वाह गर्ने नायक हो उ । माटोको सुगन्धमा रम्ने नाङ्गा पैतलामा हिड्नेहरु धेरै छन् यहाँ । छाती चस्कन्छ,आँखा रसाउँछ देखेर यी दृष्य । रामनारायणको मुख्य ध्येय समुदायको परिवर्तन नै हो । उनको राजनीतिक नशा यहि नै हो । पीडै पीडामा रुमुल्लिएको त्यहाँको दुःखद दैनिकीका अनगिन्ति श्रृँखलाहरु बीच पनि जीवनको आशावादीता छर्दै बाँचेको त्यो मान्छे देखेर आह्रिस लाग्छ मलाई ।
आहा यहाँको धर्ती कति उर्वरयोग्य छ । कवि मनले तिनका राम्रा बिम्बहरु प्रयुक्त गरी सम्पूर्ण रुपले कविताको क्यान्भासमा अब्बल कोटीको कवितामा उतार्न मन लाग्यो मलाई । तर समय थिएन । म यहाँको धर्तिको सुन्दरतामा भाव विभोर भएको छु । उसको सौन्दर्यमा आल्हादित छु । अनि पर ठिंग उभिएर मलाई हेर्दै मुसुक्क मुस्कुराई रहेको पहाडको मुस्कानको आभामा मेरो मन झंक्रित भएको छ । हामी विदाइका हात हल्लाएर उत्साही युवक राम नारायणको समुदायबाट ओझेल पर्छांै ।
उखरमाउलो गर्मी छ । कस्तो अजिब छ हगी प्रकृति पनि कहिले आफ्नो मिठास सबैलाई बाँडीरहेछ खुल्ला ह्रदयले । यहि प्रकृति हो कहिले घामको तापले सिंचन गर्छ कहिले झरी बर्षाउँछ र शितलता प्रदान गर्छ । अलिक वर आएपछि सिमसिमे पानीले स्वागत गर्यो । घाम पनि ओथारो बसेजस्तो लाग्यो । यसो सोच्छु, मानिस लगायत सबै सजिव आत्माको निम्ति आवश्यक कुराहरु प्रकृतिले नै हार्दिकतासाथ प्रदान गर्छ । तर हामी स्वार्थी मान्छे प्रकृतितिर बलात कुदृष्टि राख्छौं र यहि प्रकृतिको दोहन गर्छाै । अनि कसरी सहोस प्रकृतिले चुपचाप । त्यही भएर हामीसँग रिसाउछ प्रकृति र बाढीपहिरो अनि के के आँउछ । मनमा कुरा खेल्छ मेरो ।