प्रभातफेरी अनलाइन४०८ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १, शुक्रबार (१ साल अघि)
बिपशना शाक्य
“गुंलाँ” अर्थात नवौं महिना । नेपाल भाषामा ‘गुं’ को अर्थ नवौ र ‘लाँ’ को अर्थ महिना हो । नेपाल सम्वतअनुसार, उपत्यका लगायत बौद्धमार्गी र नेवार समुदायका लागि गुंलाँ एक महत्वपूर्ण महिना हो ।
गुंलाँधर्म कहिलेबाट सुरु भएको हो भन्ने कुरा यकिनका साथ कहिँ कतै उल्लेख भएको पाइँदैन । राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो पर्व चलाएका थिए भनी भाषा वंशावलीमा उल्लेख भएको पाइछ । किंवदन्तीअनुसार मञ्जुश्रीले तालका रूपमा रहेको उपत्यकाको पानी बगाएपछि यहाँ बस्ती सुरु भएको भनिएको छ । यसरी मञ्जुश्रीले आफ्ना अनुयायीहरूका लागि स्वयम्भु चैत्यलाई केन्द्रमा राखेर शुरु भएको बागमती सभ्यताको शुरुवाती दिनमा मञ्जुश्रीले शुरु गर्नुभएको चैत्य सेवाको चलन नै पछि गुंलाँधर्म (पर्व) लाई मान्दै आएको किंवदन्तीमा उल्लेख गरिएको छ । यो गुंलाँ धर्म (पर्व) विक्रम सम्वत् अनुसार साउन शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्लपक्ष प्रतिपदासम्म एक महिनासम्म मनाउने गर्दछ ।
यो अवधिभर शाक्य, बज्राचार्य, मानन्धर लगायतका नेवा:समुदायका अर्थात् बौद्धमार्गीहरू स्वयम्भू, चैत्य भएको ठाउँमा प्रत्येक दिन बिहान बाजागाजासहित पूजापाठ गर्ने गर्दछ भने कतिपय ठाउँमा साँझ भजनकिर्तन र बुद्ध स्तुति पाठ गर्ने गर्दछ । साथै गुंलाँधर्म सुरुको दिनदेखि अन्तिम दिनसम्म बुद्धका शील पालन गर्ने, प्रवचन सुन्ने, व्रत बस्ने चलन रही आएको छ ।
विशेष गरि गुंलाँबाजा धाः यस पर्वको मुख्य पाटोको रुपमा रहेको छ । किंवदन्तीका अनुसार गुंलाँ बाजाको ताल सिद्धार्थ राजकुमारलाई निकै मन पर्दथ्यो ।
गुंलाँधर्म अवधिभर धेरै चाडपर्वहरू जोडिएका छन् । नागपञ्चमी, यलपञ्चदान, गुंपुन्हि (जनैपूर्णिमा, क्वाती खाने दिन), कुम्भेश्वर मेला, गाईजात्रा, दीपयात्रा मतयाः, श्रीकृष्ण जन्माष्टमी, पञ्चदान र कुशेऔँसी (बुबाको मुख हेर्ने) यसै महिनामा पर्दछ ।
गुंलाँधर्मको अन्तिम दिन हर्षोल्लासका साथ बाजागाजा सहित भोज खाई (जसलाई पारु भ्वय: भनिन्छ) समापन गर्ने गर्दछ ।