“आख्यायते अनेतिति आख्यानम्”
(वर्णन गरिएको । भाषा विन्यास द्वारा जालो जस्तो बनिएको । जो कथा हो त्यो नै आख्यान हो ।)
आख्यान– कथा । आख्यायिका– पौराणिक कथा । र आख्यानक– कथाको ।
“तत् कथाख्यायिकेत्येका जातिः संज्ञा द्वयांकिता ।
अत्रैवांतर्भविष्यति शेषाश्चाख्यान जातयः ।“ (काव्यादर्श १।२८)
“कथा र आख्यायिका दुवै एक प्रजातिका दुई नाम मिलेर बनेको छ । रहेका कथाहरू समावेश गरिने छ ।“ माथिको श्लोकको मुल अर्थ ।
यस आलोचनामा हामी माथि लेखिए बमोजिको परिधि भित्र रहेर लघुकथाकारका लघुकथा भित्र आख्यान बुझ्ने प्रयास गर्ने छौं ।
आख्यान भनेको कहिने या भनिने, भाव, वर्णना, विस्तारित, बयान आदि बुझिन्छ । पौराणिक आख्यान रामायण, महाभारत हुन भने वर्तमानका आख्यानमा उपन्यास, कथा, आत्मकथा, लोककथा, लघुकथा, सूत्रकथा, दन्तकथाहरू पर्दछन् । आख्यानको सृष्टि ऋृगवेदबाट भएको भनिन्छ । पछि साहित्यिक दृष्टिमा यसलाई केहि तत्वद्वारा सृष्टि हुने गरेको भनिएको छ ।
यि तत्वहरू हुन्–
कथानक, पात्र चरित्र, दृष्टिविन्दु, पर्यावरण, सारवस्तु र विचार, बिम्व प्रतिक, गति र लय, भाषा । यि तत्वहरूलाई आख्यानका घटक तत्व मानिन्छ ।
उपन्यास र कथा जस्तै आख्यानका निजि तत्वहरू छन तथापि आख्यानलाई उपन्यास र कथाबाट पृथकरुपमा लिएको देखिदैन । वर्तमानको आख्यान भनेको उपन्यास या कथामा आउने तत्वगत उपन्यास र कथाका लागि आख्यानलाई नामके वास्ते मात्र लिएको देखिन्छ । नकि आख्यानको संज्ञा या परिचय नै उपन्यास र कथाको भन्दा भिन्न रुपले खुलेको छ ।
यसरी हेर्दा आख्यान भनेको कथाको भाषा कथ्य मात्र भनेर बुझिन्छ । आख्यानको अन्तर–कुन्तर के हो भन्ने बारे कुनै स्पष्ट मत छैन नै भन्न सकिन्छ । र पनि आख्यानको केहि न केहि अर्थ छ र यस्को अन्तर–कुन्तर पनि अर्थपूर्ण छ भन्ने लाग्छ । यस्को रहश्य गर्भमा के छ ? यो खुल्दुलि छ ।
आख्यान अनुश्रुति पनि हो । पूर्वकाल देखि सुन्दै आएको तर प्रमाण नभेटिने कुरालाई अनुश्रुति भनिन्छ । जस्तै– किम्वदन्ति । तर उपन्यास या कथालाई अनुश्रुति मात्रै भन्न मिल्दैन । तथापि भूतको कथा यस्तै होला । आख्यानलाई अनुश्रुति भने तापनि आख्यानले समाज शास्त्र भित्र मानव जीवनको खोजी गरिनै रहन्छ । एउटा उदाहरण लिऔं– मानव जातिको नश्लमा पाइने भिन्नता र यस्को समानता । काली केटी र गोरी केटी बिच समानता कसरी सृष्टि गरिन्छ र दुवैलाई दिने संदेश प्रवाह गराउन जो माध्यम बन्छ त्यो आख्यान हुन्छ । आख्यानकारले गोरी केटी र काली केटीमा समानता खोजि गरी कल्पना प्रवाहले विभिन्न प्रकारका चरित्रहरूको चित्रण गरेको हुन्छ । यस्तो चरित्र चित्रणमा गोरी केटी र गोरी केटी, काली केटी र काली केटी बिचमा भिन्नता या समानता राखिन्छ । त्यस्तै गोरी केटी र काली केटी बिचमा समानता राखिएको हुन्छ ।
आख्यानमा काल हुँदैन । तर काल पात्र र परिवेशमा न्याय या अन्याय हुन सक्छ । जसरी वर्तमान युगमा दास हट्यो, नारीलाई स्वतंत्रता दिइयो, शासनहरू परिवर्न भए । कथाले मानव समाजको उपहास गर्नसक्छ । तर आख्यानले मानव समाजको उपहास गर्न दिदैन । किन कि आख्यानले मानव समाजलाई प्रवाहले प्रभावित पारेकोहुन्छ । पौराणिक आख्यानहरू त झनै प्रभावकारी हुने गर्छन् । जस्तै– महाभारतले असंख्य कथाको सृजना गरेको हुन्छ । यसयुगमा पनि महाभारतका कथाहरू सजिव छन् ।
आख्यान आकासको घामजून जस्तो हो । आकासमा देखिने नौलाख ताराहरु जस्तो हो । आकास चम्किलो हुन्छ । अंग्रेजीमा आख्यानलाई Fiction भनिन्छ ।
आख्यानमा पात्रको चरित्रसँग सम्बन्ध राखेर पात्र सुहाउँदो भाषा प्रयोग गरिएकोहुनु पर्दछ । पात्र चरित्रको घटना, सङघर्ष, जटिलता जस्ता विविध विषय सुसङगठित कथ्यमा प्रस्तुत गरिएकोहुन्छ ।
पौराणिक आख्यानमा अनुश्रुतिको प्रयोग पाइन्थ्यो भने आधुनिक आख्यानहरू आधुनिकताले पूर्ण शैलिमा वर्णना गरिएको हुन्छ ।
“भविष्यति शेषाश्चाख्यान जातयः ।” भविष्यमा कथाका बाँकी कथाहरू आउने गर्छन् । यसरी हेर्दै प्राचीन समयको आख्यान समष्टीमा मिथक, उखान आदि रहेको हुन्छ भन्न सकिएला । आधुनिक आख्यानमा विशेष गरी लोककथाहरूमा मिथकको प्रयोग रहँदै आएको छ । लोककथामा प्रयोग भैरहेका मिथकहरूबाट विभिन्न आख्यानकारले भिन्न श्रुति अनुसार कथ्यको सिर्जना गरेकाहुन्छन् । उत्तर आधुनिक कालमा मिथकको प्रयोग घटदै आएको छ । पात्रको सबै समस्या र कठिनाइ, सुख, सुविधा, मर्म, भाव व्यक्त गर्ने तरिका रसिक, रोचक, कुतुहलमय, जिवन जगतसँग सम्बन्ध राखेर कथ्थ भाषा बुनोट गरिएकोहुन्छ ।
आख्यानका बारेमा यो नै सैद्धान्तिक पक्ष भनेर बुझाउन खोजेको चाहिँ होइन । र पाठकले यसलाई आख्यानको सैद्धान्तिक पक्ष भनेर नबुझिदिन समेत अनुरोध छ ।
यहाँ हामी केहि लघुकथाहरू हेर्ने छौ–
१) खास्टो लघुकथा सड़ग्रह–
कथाकार मनीषकुमार शर्मा ’’समित’। प्रकाशक हाम्रो लघुकथा केन्द्र । डा. शेखरकुमार श्रेष्ठको प्रकाशकीय । संस्थागत उद्देश्य, कथाकार मनीषकुमार शर्माको संलग्नता र प्रकाशित खास्टोका लघुकथा सम्बन्धमा लेखिएको ।
ममता मृदुलको शुभकामना सहितको मनीषका लघुकथामा पाठकीय टिपोट । ध्रुव मधिकर्मीको भूमिकामा मनीषको खारिदै गएको कलमले सृष्टि गरेका लघुकथाहरूमा प्रयोग शैली विधानको ठम्याइ र मनीषको आफ्नो कुरा राखिएको यस लघुकथा कृतिमा जम्मा ४९ वटा लघुकथाहरू राखिएका छन् ।
खास्टोमा रहेको पहिलो लघुकथा हो ‘लौ बित्यास’ ! यो लघुकथा यथार्थपरक लघुकथा हो । यसमा पाठकको दुई पृथक बुझाई रहनसक्छ । प्रथम धार्मिक चाड लुतो फाल्ने दिन प्रदूषणले भरेको खोलामा नुहाउनाले मानिसको शरीरमा घाउखटिराको वृद्धिहुने भनिएको छ । दोस्रो चाहिँ बोल्नु हुँदैन भन्ने छ भने उत्तिनै बेला बुढीले पतिलाई धक्का हानेको घटना छ ।
लौ बित्यास ! लघुकथामा लघुकथाकारले केहि मान्यताहरू सामान्य तवरले लिएको छ । कथाका लागि घटनाको तयारी गरिएको छ ।
खास्टोको दोस्रो लघुकथा हो ‘विषाक्त’ । यसमा दुई विषालु सर्पको कथा छ । गोमन र धामन सर्पहरू आपसमा संलाप गरेका छन् । यस कथामा कथाकारले बडो सावधानी पूर्वक ढाडस शब्दको प्रयोग गरेका छन् । गोमन सर्पको विष मुखमाहुने र धामन सर्पको विष पुच्छरमा हुने गर्छ । यहाँ कथाकारले बड रोचकता सहित सर्प दुई बिचको विषालु क्षमताको भिन्नता खोजी गरेका छन् ढाडस शब्दले ।
विषाक्त लघुकथाको शीर्षक कुतुहलमय छ । लघुकथामा गोमन सर्प अत्यन्त विषालु हुन्छ भन्दा भन्दै कथाको अन्त्यले चाहिँ त्यसो नभएको देखाएको छ । मानव इतरप्राणीको बिम्बात्मक यो आख्यान विधा विषाक्त शीर्षक प्रजोज्य छ । यसरी मनीषका लघुकथा मननीय छन् ।
मनीषको लघुकथा “नैतिकता” खास्टो लघुकथाको तेस्रो लघुकथा हो । नैतिकतामा समसामयिक राजनीति माथि चोटिलो व्यङग छ । यस लघुकथाको शीर्षक नैतिकताले लघुकथाको शीर्षक पुष्ट्याएको छ । लघुकथामा एक नवयुवालाई सहि देखाउन खोजिएको छ । बुढा नेताहरू नैतिकताबाट स्खलन भएको देखाउनु लघुकथाको उद्देश्य बनेको छ । कथामा सबै वयोवृद्ध नेता एउटै चरित्रका भनेर जोड दिन खोजिएको छ । तर “यो ठेटनालाई के थाहा”, …. वाक्यांशले लघुकथा लक्षबाट विचलन हुन पुगेको र तीन वयोवृद्ध नेतामा एक मात्र नैतिकता विहीन नेता हो रहेछ भनेर पाठक ढुक्क हुन सक्छ ।
साहुकार लघुकथामा शीर्षकसंग सम्बन्ध राखेको साहु छैन । मिटरब्याजी घटनाको याद गरिएको छ । साहुहरू जस्ता देखिने जोसुकै ऋणीका घरमा आउँदा साहु नै हुनसक्छ भनेर ऋृणीहरू तर्छिने अवस्थाको चित्रण यस लघुकथामा देखिएको छ ।
दरिद्रता लघुकथामा छाक टार्ने समस्या छ । दरिद्र यस्तो समस्या हो कि समाधान खोजेर पाइन्न । यस लघुकथामा कठालो शब्दको प्रयोगले लघुकथालाई चखिलो बनाएको छ । हास्यास्पद अर्ती जस्तो लाग्ने यो लघुकथा आफुमै विद्रोही बनेको छ । लघुकथाकार मनीष शर्मा मौलिक शैलीमा खेल्ने लघुकथाकार मात्र भैनरहेर शब्द चयनका सिपालु बन्न पुगेको पाइन्छ ।
खास्टो भित्र समेटिएका मनीषकुमार शर्मा ‘समित’ का लघुकथाहरू उनका निज शैलीमा जसरी रमेका छन् त्यसै गरी मनीषले शीर्षक चयन गर्दा कथा भित्रको गहिराइमा डुबुल्कीमारेर शीर्षक खोजेका छन् । अर्थहीन अर्ती यस्तै एक लघुकथा हो । मनीषका लघुकथामा कथा जुन परिवेशमा रहेको छ परिवेश अनुसार भाषाको प्रयोग गरेको पाइन्छ । यो लघुकथामा माइलाको गर्जनसंग माइलीको चिच्याहट के थियो बुझ्न सकिन्न ।
मनीषकुमार शर्मा छोटो समयमा लघुकथा क्षेत्रमा खुटकिलो उक्लिन लागेका स्रष्टा हुन् । मनीषले कोरोना कालदेखि यहाँ आइपुग्दा लघुकथाका दुईवटा कृति पहिलो हराएको सहर, दोस्रो कृति खास्टो प्रकाश गरिसकेका छन् । मनीष अहिले लता केसी परिचालित हाम्रो लघुकथा केन्द्रमा प्रशिक्षककै रुपमा नियमित छन् । उनका लघुकथा सम्बन्धमा भनिरहनु पर्दैन ।
आख्यानविधा लघुकथामा एक समिक्षकका हिसापले पनि मनीष लघुकथामा परिपक्क देखिएका छन् । उनका लघुकथामा शीर्षक चयन देखि यावत कुराले पूर्ण कथानक प्रस्तुत गरेको भेटिन्छ । आकस्मिकता, उठान, पात्रविधान, घटना, परिवेश, संवाद शैली एवं संक्षेपि आख्यान शैली र यथोचित समापनमा उनि सतर्क देखिएका छन् ।
खास्टो भित्र मनीषको धरातल लघुकथामा आख्यान हेरौं– शीर्षक ‘धरातल’ अर्थात ‘पृष्ठभूमी’ नेपाली साहित्यको । पूर्वकाल देखि यस पृष्टभूमीमा साहित्यलाई सेवाका रुपमा लिआएको यथार्थ छ । लघुकथामा प्रमुख पात्र ऊ र सहयोगी पात्र विदेशी साहित्यकार बिचमा चलेको संवाद अन्तर्गत उठेको प्रश्न– विदेशी मित्रले चारवटा कृति लेखिसक्दा गाँसबासको बन्दोवस्त गर्न सफल भए तर आफुले दर्जनौं कृति लेखेर पनि केहि गर्न नसकेको प्रशंगमा ऊ पात्र विस्मात गर्न पुग्छ । यहाँ मनीषले संवाद वाक्यको प्रयोग नगरी ऊ पात्रको मनको दुख एउटा परिदृश्यबाट व्यक्त गराएका छन् । यदि यसलाई आख्यान भन्न मिल्छ भने मनिषका केहि आख्यानमा कल्पना भेटिन्छ । कल्पना भनेर कल्पनाबाट सृजना हुने आख्यानको कुरा गरेको होइन् । कल्पना बिना आख्यान हुँदैन । आख्यानमा यथार्थ र वास्तविकतालाई छल्नु हुँदैन भन्ने आख्यान विदहरूको भनाइ छ । हुन त आधुनिक लघुकथामा मनका कल्पना बग्रेर्ति आएका छन् ।
मनीषको खास्टो भित्रको ११ औं लघुकथा हो ‘नारा’ । नारा शीर्षकको लघुकथामा समाज–संस्कृति र नारी सन्दर्भ राखिएको छ । यो व्यङगात्मक लघुकथा हो । व्यङगमा पनि आख्यानको महत्व उतिकै तातपर्यपूर्ण रहेको छ । यहाँ पनि आख्यान विधानलाई मान्यतामा राखिएको देखिन्छ । ‘चियर्स’ पछिको शेष वाक्य (आख्यान) ‘रङगीन साँझको रात्रीभोजमा सबै मिलेर मदिराको प्याला बजाइरहेका थिए’ आख्यान सूत्रको उतकृष्ट नमुनाहुन सक्छ ।
यसरी पाठकीय सामान्य दृष्टिमा मनीषकुमार शर्माका लघुकथाहरू आख्यान विधान्तर्गत छोटा मिठा सम्भारले सिर्जित छन् । मनीषले लघुकथा लेख्दा विषय माथि यदा कदा आउन सक्ने द्वन्द मनन गरी वजनदार शब्द र गतिशील वाक्यको प्रयोग गर्न अनुशीलन गरे मनीषबाट राम्रा भन्दा राम्रा लघुकथा पढन पाइने छ । बधाई खास्टोका स्रष्टा मनीषकुमार । लघुकथामा कलम निरन्तर चलोस्, शुभकामना ।
लता के.सी.को सफलतामा आख्यान
लता के. सी. को सफलतामा एकषठ्ठी वटा लघुकथा छन् । यस्को खुबी भनेको रोज्जा खाल्का एकषठ्ठीवटै शीर्षक एकशब्दमा छन् । आधुनिक लघुकथाका लागि तयो गरिदै आएको लेखन विधानले एकशब्दका शीर्षक माथि जोड दि आएको छ । लता के.सी. लघुकथाका क्षेत्रमा स्थापित मात्र रहिनरहेर पुरस्कृत लघुकथाकार र हाम्रो लघुकथा केन्द्रको प्रतिष्ठापक हुन् र लता के सी लघुकथाको नेतृ पनि हुन् ।
लता के. सी.को दोस्रो लघुकथा कृति उहाँकै हातबाट मैले पाएको छु । कृति प्राप्तगर्नु अघि कोविड – १९ अघि हाम्रो परोक्ष परिचय भएको हो । उहाँ लघुकथा लेख्नु हुन्थो । म पनि लेख्थेँ र हामी दुवैजना एकअर्काका लघुकथा पढेर प्रतिक्रिया दिने गर्थ्यौं । कोविड–१९ लाग्दा लाग्दै लता के. सी.ले हाम्रो लघुकथा पाठशाला नामको फेसबुक समुह खोलेको सुचना फोनबाट पाएँ । सहकार्य गर्ने विश्वास दिएँ । पछि यहि फेसबुक समुह ’हाम्रो लघुकथा केन्द्र’ नामले दर्ता भएको छ ।
लघुकथामा लता के. सी. वर्णनात्मक आख्यानकार हुन् । वर्णना बिनाको आख्यान पाणिनीको व्याकरण जस्तो हुन्छ । सूत्रमात्रले आख्यान पाठकले बुझ्न सकदैनन् । यस दृष्टिमा लता के.सी.लाई मैले वर्णनात्मक आख्यानकार भन्न रुचाएको छु । “भूतो न भविष्यति” बनेका आख्यानको अर्थ लाग्दैन । आख्यान अतित देखि वर्तमान हुँदै भविष्य देखाउन सफल हुनुपर्छ भन्ने मेरो ठम्याई छ । यो ठम्याईका दृष्टिमा लता के. सी.को सफलता भित्रका लघुकथालाई न्याल्ने प्रयास गरेको छु ।
लघुकथा छोटो आयाममा एउटा घटनालाई केन्द्रगरी लेखिने हुनाले लघुकथा निर्धारित शब्दसंख्या भित्र सकिनु पर्छ । यसरी एकबसाईमा लेख्न या पढन सकिने अत्यन्त छोटो लघुरुपका लघुकथामा आख्यान राख्दा कथाको जस्तो लम्ब्याउन पाइदैन तापनि आख्यान रहेकै हुन्छ । आख्यान के हो र कस्तो हुनु पर्छ ? यसको जवाफ दिने आख्यानकारहरू विरलै भेटिएलान । किनकि आख्यान सम्बन्धमा धेरै लेख रचना र पुस्तक देखिदैन । कथा सिद्धान्त भित्र आख्यान बारे जे भेटिन्छ सिमित नै भेटिन्छ । आख्यानको निज संज्ञा पनि छ कि छैन भन्ने प्रश्न जाग्ला । आख्यानको परिभाषा कहिँ केहि पाएता पनि कथाकै एकरुपता रहेको देखिन्छ । ग्रन्थमा आए पछि विधान्तर्गत परेको उपन्यास या कथा विधालाई आख्यान भनिएको छ । लामो आख्यान उपन्यास, मध्यम आख्यान कथा र लोककथा, छोटो या लघु आख्यान लघुकथा र सूत्रकथा ।
कथाबाट आख्यान छुट्याएर खोज्दा पनि सूत्रगत रुपमा बुझ्न सकिन्न । कथा भित्र आख्यान यहि हो भनेर औंल्याउन सकिदैन । कसैले के कसैले के भनेका छन् । उपन्यास, कथा, लघुकथाहरूलाई आख्यान भनेका छन् । उपन्यास अथवा कथामा लेखकले कथ्य रुप दिएकोलाई आख्यान भनेका छन् । उपन्यासकार, कथाकारले भनेको, भावव्यक्त गरिएको, विस्तार गरिएको, वर्णना गरिएकोलाई आख्यान भनिएको छ ।
यो जे नै भए पनि पाठक ठम्याइले आख्यान खोज्दै कृति “सफलता” भित्र पसेर हेर्ने प्रयास गरिएको छ । “कदम” शीर्षक भित्र आख्यान चिन्नु पर्दा, लघुकथाकारले पात्रद्वारा नभनाइ आफुले जे भनेको छ त्यो आख्यान हो रहेछ भनेर बुझ्नु पर्छ । भाषा विन्यासद्वारा एक भाव प्रकट गर्न पात्रहरूको संवादसँग मेल खाएको कथानक आख्यान रहेछ । त्यसो भए लता के. सी.को कदम शीर्षकको लघुकथामा लमीको आख्यान रहेछ । त्यस्तै प्रेमकथा हुनाले प्रेमगाथा केन्द्रबिन्दु रहेको यो “कदम” लघुकथा प्रेमगाथाकै वरिपरिरहेर आख्यान विन्यास गरिएको छ ।
“आरोप” शीर्षकको लघुकथामा चियोलाई केन्द्र गरी आख्यान बनाईएको छ । पति र पत्नी बिच फोन संवाद लिएर तर्क भएको छ । यस घटनाको सत्यता निकाल्न चियो गरिएको छ । चियो सत र असत जे पनि हुनसक्छ ।
बुझाई लघुकथामा कथाकारले महाभारत आख्यान विस्तार गरेको छ । “भोक” शीर्षकको लघुकथा विम्बात्मक बनेको छ । मानवेतर प्राणी कुकुर र बिरालाको आख्यानले कथा बनेको छ । अर्को कथा हो “कुण्ठा” । “कुण्ठा” लघुकथामा फूल चोरेको कथा छ । यसकथाको सूत्रपात चोरी औंलाबाट भएको छ । “कुण्ठा” लघुकथामा चोरी औंलाको आख्यान विन्यास पाइन्छ ।
“अदृश्य” लघुकथा नविनतम् शैलीमा बनेको छ । यस्को आख्यानमा झस्का भेटिन्छ । वर्तमानको विदेश मोह भंग गराउनु आख्यानले दिएको सन्देश भेटिन्छ ।
पाहुनाको सत्कार गर्नु मेरो धर्म थियो । “वृद्धाश्रम” शीर्षकको लघुकथामा यहि आख्यानको विन्यास गरिएको छ । र कथाकारले कुशल ढंगले भाव विस्तार गर्दै कथालाई माथि लगेको छ ।
“विचित्र” शीर्षकको कथा लघुकथाकारले चकचके बाँदर र लाटाले पापा हेरे झैं हेरि रहने भेडाहरूको आख्यानबाट कथेको लघुकथा हो ।
“चेली” लघुकथामा चेली र माइतीको आख्यान छ । यो परम्परागत चलि आएको आख्यान हो । निसाको झोंकमा कलहहुने आख्यान हो “दुर्वचन” शीर्षकको लघुकथा ।
प्रतिकार लघुकथामा साहुनीले प्रचण्ड रुप धारण गरेकी छ । लघुकथामा संवादहरू चोटिला छन् । कथ्य भन्दा यो कथामा संवाद उच्च छन् । कथा भट्टी भित्रको छ र यसमा निशाग्रस्थ रिट्ठे नामको पात्र र साहुनी बिचको घटना छ ।
लता के. सी.को सफलता लघुकथामा संवाद र कथ्यको प्रस्तुति समान रुपमा राखिएको छ । के. सी.का आख्यानहरू संदेश वहन गर्न सक्षम छन् । उनका आख्यान बलवान छन् र केहि नविनतम र केहि पौराणीक शैलीका छन् । आख्यानहरू तीब्र नहोलान तर तीब्रताको आभास भने लता के. सी.का आख्यानले दिएका छन् । जसरी आख्यान भावात्मक, कल्पनायुक्तहुनु पर्छ त्यसरी नीति, प्रेम, सहिष्णुता इत्यादिले पनि पूर्णहुनु पर्छ । यि सबै गुणले युक्त छन् लता के सीका लघुकथा ।
ॐ तृप्यन्ताममा आख्यान
विराटनगरका शंकर खरेल पत्रकारितामा एक सुपरिचित नाम हो । न्यू सृष्टि दैनिक पत्रिकाका प्रधान सम्पादक रहि आएका खरेल आख्यानकारका रुपमा पनि परिचयमा निस्किएका छन् । विक्रम सम्बत् ०७७ मा उनको ’टिलो’ नामको कथाकृति सिक्कीमको नाम्चीबाट लोकार्पण भएको थियो । आख्यानकै अन्य कृतिहुन सुनैना (कथा संग्रह) र ॐ तृप्यन्ताम (लघुकथा संग्रह) । यि तीनवटै कृति आख्यानका छन् । उपन्यास, कथा, लघुकथा, सूत्रकथालाईं आख्यान भनिन्छ । शंकर खरेल पत्रकारिताबाट आख्यान अन्तर्गत कथा र लघुकथाका कृति प्रकाश गर्न सफल मात्र भएका छैनन् उनको टिलो कथाकृति उतिकै चर्चामा पनि आएको छ । नेपाल देखि भारतहुँदै सुदूर अमेरिका, अस्ट्रेलिया र अन्य धेरै देशसम्म पुगि पाठकको वाहवाही प्राप्त गर्न सफल बनेको छ ।
पत्रकारिताबाट आख्यान लेखनसम्म पुग्नुमा देश र समाजमा घटिरहेका साँच्चैका अनेकन घटनाहरू नै आख्यानात्मक विन्यासमा काल्पनिक पात्रहरू चयन गरी कथा शिल्पका माध्यमबाट कृतिहरूको सृष्टि गरेको कथाकार खरेलले स्वीकार गरेका छन् ।
यस पाठमा हामी आख्यान सम्बन्धमा कुरा गर्ने छौं । आख्यान के हो र यसको अर्थ के लाग्छ भन्ने म्बन्धमा माथि हामीले भनि सकेका छौं ।
शंकर खरेल कृत लघुकथा संग्रह “ॐ तृप्यन्ताम” का कथाहरूमा आख्यान हेरौं–
आख्यानकार शंकर खरेल कथाकारितामा खारिदै आएका कथाकार हुन् । उनि पत्रकारिताले खारिएका, मानवीय इतिवृत भित्र बान्किला कथा लेख्न अनुभविहुनु स्वभाविक पनि हो । खरेल कथाकारिताका माध्यमबाट समाजमा न्यायका पक्षमा उभिने गरेका छन् । यहाँ हामी हालै प्रकाशित लघुकथा कृति “ॐ तृप्यन्ताम” मा आख्यानकारका रुपमा खरेल कसरी चिनिएका छन् र उनको कृतिले आख्यान कसरी भित्र्याएको रहेछ हेर्ने प्रयत्न गरौं–
“सागर, वसन्ते र किस्ने” शीर्षकको लघुकथामा सुरुको वाक्य हो– “सागर, वसन्ते र किस्ने तीन दाजुभाइ हुन् ।” कथा यसरी सुरु गरेका छन् । यो लघुकथा मोह आख्यानबाट उपार्जित भएको छ । यस्को आख्यायिका बुझ्नलाई एउटा परिवेश भेटिन्छ । यस कथामा भोज–भतेरलाई आख्यानकका रुपमा लिन सकिन्छ । आख्यानमा पुरानो कुरालाई पुनरावृत्ति गरिएकोहुन्छ । मानव जीवनमा घटि आएका घटनाको पुनरावृत्ति गराउनु या अनुरुप परिवर्तन गराउनु ।
यसरी खरेलको यस लघुकथामा आख्यान “मोह” उत्सका हिसापले लिएर भाषिक विन्यास गर्दै कथाकार पुगेकाछन आख्यान प्रस्तुतिमा । र लघुकथामा यथा यथा स्थानमा बसिदिएका छन् आख्यायिका र आख्यानक । यसो भन्दैमा आख्यान भनेको “मोह” हो भनेको होइन । आख्यानको सृष्टि मात्र बुझाउन खोजिएको हो । आख्यानमा अतित, वर्तमान र भविष्य रहेको हुन्छ भन्ने यस कथाले भनेको छ ।
“छेपारे प्रवृत्ति” लघुकथामा मानवीय प्रवृत्तिमा पाइने बलेको आगो ताप्ने चरित्रलाई आख्यान बनाइएको छ । बलेको आगो ताप्ने चरित्रलाई छेपारोले रंग फेरे जसरी मानवीय प्रवृत्ति माथिको आख्यान कथ्य छ । खरेलका लघुकथामा आख्यान खोज्नु पानी पिउनु हो । यसको कारण उनि वर्णनात्मक शैलीकार भएकाले पनि आख्यान बुझ्न सहज बनेको छ ।
मानवीय तन्द्रा जनित कारक तत्वको आख्यान बाट सृजित लघुकथा हो “प्लेनको यात्रा“ । आधुनिक लघुकथाहरू धेरै वस्तु तत्वको घेरो नाघेर कल्पनामा रचना गरिएकाहुन्छन् । यस्तै एउटा कथा हो “प्लेनको यात्रा” ।
पत्रकारिताको एउटा दृष्टान्त बनेको लघुकथा हो “अपनत्व” । यस लघुकथामा खरेल पत्रकारका रुपमा निर्धक्क उभिएका छन् । आख्यान अभिव्यक्ति द्विधामुक्त छ ।
यहाँसम्म आइपुग्दा हामी यसो भन्न सक्छौं– “आख्यान भनेको आख्यानकारको अभिव्यक्ति पनि हो । आख्यानले आख्यानकारलाई चिनाउ छ । आख्यान नै आख्यानकारको शिल्पकारिताको परिचय हो ।”
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |