गोकुलेमा बसेको दुई दिन भैसकेको थियो । गोकुले प्रकृतिले सिँगारिएको एक सुन्दर भूमि । चारै तिर अग्लो पहाडले घेरिएको बारीमा कोदो लहलहाइ रहेको । खेतमा आलुको सेताम्य फूल फुल्दै गरेको । मन मोहक मनलाई लठ्ठै पारेको । मगर र तामाङको संयुक्त बस्ती । बस्तीको बीचमा सरकारी विद्यालय गोकुले मा. वि. । खेतको आली नै आली अलिकति तल हिडेँपछि पानी ट्याङ्की । लस्करै जोडिएको पानी धारा । सानो खोल्सी हुँदै कल कल बगेको पानी । खोल्सीको दाँयावायाँ हरिया खोलि साग । संगठनमा रहँदा कहिलेकाहीँ त्यही खोलीसाग टिपेर तरकारी खाएको थिएँ । म यहि मनोरम वातावरणमा मुग्ध हुँदै माओको संकलित रचना भाग २ मा आँखा डुलाउँदै थिएँ । कमान्डर स्मृतिले ’लु लु तयार हुनु रोलकालमा बोलाई सक्यो ।’
सैन्य ड्रेसमा सजिएका योद्धाहरु रोलकलमा लामबद्ध भै सकेका थिए । हामी पनि सामेल हुन पुग्यौँ । रोलकल विद्यालयको फराकिलो आँगनमा हुँदै थियो ।
टोलीले गोडा फाट्ला –गोडा फाट
टोली सतर्कमा आउँला –सतर्क
टोलीले काउन्ट गर्ला – काउन्ट
छाती तनक्क तन्किएर एक, दुई, तीन, चार, पाँच एवम रीतले दुइ सय पचास सम्म संझेँ । त्यस पछि ध्वनी मधुरो हुँदै गयो । अन्तिममा जम्मा संख्या ४४५ जना ।
कमान्डरको हातमा हाते माइक थियो । योजनाको सतही ब्रिफिङ र मुभ हुने दिशाबारे जानकारी दिन थाले ।
“कमरेडहरू हामी एउटा यस्तो मिसनमा जाँदैछौँ जुन मिसनबाट हामीले हाम्रो पार्टीको योजनालाई सजिलै पूरा गर्न सक्नेछौँ । हामी मृत्युलाई जितेका राता मान्छेहरू जसको एक गर्जनले नेपालको सामन्ती फाँसीवादी राज्य व्यवस्था मात्र नभइ विश्व हल्लि रहेको छ । राज्यसत्ता हार मानसिकतामा पुगेर देशी तथा विदेशी दलालहरूसँग हार गुहार मागी रहेको छ । त्यसैले कमरेडहरू हामी अन्तिम युद्ध लड्नको लागि जाँदै छौँ । हामी पल पल मरेर बाँच्ने कायर मृत्यु हैन एकै चोटी साहसिक मृत्यु रोजेर हजारौँ जनताको मुक्तिको लागि मरेर बाँच्ने लाल योद्धा बन्नु पर्छ । व्यवस्था फेर्ने र देश बदल्ने जिम्मा हाम्रो काँधमा आएको छ । हामी कहाँ ? कता ? लड्न जाँदै छौँ भन्ने कुरा तपाईंहरूको एसाल्ट कमान्डरहरूलाई जानकारी भईसकेको छ । हामी हाम्रो जिम्मेवारीमा कोही पनि चुक्ने छैनौँ । यस्तै यस्तै गार्विलो विचार राख्दै मन्तव्य टुंग्याउन भयो ।”
सबै भन्दा पहिला १३औँ बटालियन, क्रमश… १४औँ, १५औँ बटालियन हुनेछ ।
टोलीले गोडा फाट्ला –गोडा फाट
टोली सतर्कमा आउँला –सतर्क
गोडा फाट
टोली मुभ ।”
सन्ध्याकालीन समयमा कमिलाको ताँती झैँ जनमुक्ति सेनाको बेथान समृति ब्रिगेड अघि बढ्यो । पैतालाहरूले गोकुले र दाप डाँडा छोडेर ओरालो लाग्यो । ओरालो बाटो, सालको जङ्गल हिडेँपछि चाबु खोला आइ पुग्यो ।
चाबु खोलाको तिरैतिर ढुङगे बगरमा हिँडि रहँदा पछाडि फर्केर हेर्ने मन भयो ।मुन्टो फर्काएर हेरेको त अम्म…. अम्म…. जुनकिरीको जस्तो धिपधिप लाइटको उज्यालोमा लस्कर कति लामो कति ।
कुनै बोलीको आवाज छैन । एकोहोरो गर्याप्प… गर्याप्प पाइला चाल्दाको पदचाप मात्र । कुनै संगीतको मीठो धून जस्तै सुनि रहूँ लाग्ने । चिसो मौसमलाई हिँडाइको तातोले भूलि रहेको थियो । बाटो कहिले बगरै बगर त कहिले जङघार तर्नुपर्ने खालको थियो ।
चिसो पानी सम्झिदै आङमा काँडा उम्रियो । जुत्ता मोज खोल्ने र लगाउने समय थिएन । ठाउँ ठाउँमा ढुङ्गाको वा काठको फड्के बानाएका थिए । ढुङ्गा होला भनी टेकेको त छ्याप्लक्क पानी घुँडासम्म आयो ।
आच्छयु ! मुखबाट यही शब्द निस्कियो । म भन्दा अगाडि हिँडिरहेकी सरस्वती र पछाडि हिँडिरहेकी उर्मिलाले एकै चोटी –‘ला ! यो त पानीमा पो परिन् । ढुंगामा फड्के मार्न सकिएन छ विचरा !’
बल्ल थाहा पाएँ मैले त फड्के मार्ने ढुङ्गा नै भेटिएनछु । हिँडाइको लय सँगै पानीको छ्यापलक छ्युपलुकको ध्वनी आई रह्यो । फर्मेशन टक्क रोकियो । बिस्तारै पछाडिको साथीहरू पनि रोकिदै गयो ।
आँपटारबाट कोखाजोर खोला मिसियो । कोखाजोर सिन्धुली र काभ्रेको सिमानामा बग्दै थियो । एकोहोरो खोलाको सुसाइ, तर्नुपर्ने जंघार कहिले घुँडा सम्म त कहिले कम्मरसम्म आउँथे । चिसो पानीले जुत्ताभित्र खुट्टा करकरि खाइ सकेका थिए । करकरि दुखाइ त जंघार तर्दा कम्मर र घुँडातिर ठोकिन आउने माछाको भुरा र माछाको स्पर्शले पूरै बिर्साइ दिन्थे ।
बल्ल सिग्रे दोभानमा आइ पुग्यौँ । छोटो झुलुङ्गे पुल तर्ने भए । उक्त पुल बाग्मती नदी तर्नको लागि बनाएको थियो । हामी एक छिन त्यही दोभानमा आराम गर्यौँ । स–साना छाप्रोहरुमा चलाएको खाजा घर । म त्यहाँ पहिला पनि पुगेको थिएँ । माछाको लागि निकै नाम चलेको ठाउँ थियो । कमरेड धरिना र मैले पहिला दुई चार चोटी माछा पनि खाएका थियौँ । म एक्लै पुग्दा भने सानी फुच्ची केटीको लागि भनि माछाको पैसा लिन्नथे ।
एक छिन सुस्ताएपछि फेरि हिँड्नु पर्यो । तेर्सो बाटो कुलै कुलो । त्यो कुलोको डिल यति सानो थियो कि डिलमा हिँड्न सक्ने कुरै थिएन । सबै जना पानीमै हिँड्न थाले । पाइलाहरूले बिस्तारै मकवानपुरको भूमिमा टेक्दै थिए । करिब १५÷२० मिनेटको हिँडाइपछि भोर्लेनी बजार आइपुग्यो ।
ठिक्कको बजार, सडकको दाँयाबाया लस्करै घर, हेर्दा पनि चिटिक्कको । शनिबार र मंगलबार हाट लाग्थ्यो । म पनि पहिला हाट लागेको बेला पुगेथेँ । बिजुली बत्तीले सडक नै झलमल्ल उज्यालो । आजको रात हामी यहि बिताउँछौँ स्मृतिले भनिन् । दिउँसै जाने साथीहरुले जसोतसो सुत्ने ठाउँ बनाएका रहेछन । आ–आफ्नो तोकिएको सेल्टरमा बस्ने भए ।
यतिकै त म निदाउन नसक्ने मान्छे । चिसो आधी भिजेको शरीर के निदाउन सक्थेँ र । आफ्नो कपडा फेर्दै स्मृतिले मलाई पनि कपडा फेर्न लगाए । दुबै जना ओछ्याइ रहेको मान्द्रोमा पल्टियौँ । मलाई मात्र हैन स्मृति दिदीलाई पनि निद परेन छ क्यारे ।
‘ओइ ! संरचना ।’
‘हजुर’
‘कता आक्रमण गर्दै छ भन्ने थाहा छ ?’
‘अहँ ! कसरी थाहा पाउनु ? अनि तपाईँलाई चाहिँ थाहा छ त ?’
‘थाहा छ ।’
‘म आश्चर्य चकित बनेँ । हँ…. कता हो र ?’
‘यही आसपसमा हुनुपर्छ क्या अन्त कहाँ हुनु’ खित्का छोडेर हाँसिन ।’
मेरो हाँसो पनि उहाँकै हाँसोमा मिसियो । सायद आवाज अलि ठूलो आएछ क्यारे अर्को कुनामा निदाइ रहेको क. अन्दाज बिँउझियो । झिँजो मान्दै ‘ह्या.. यी दुई जना सँगै भयो भने सधैँ यस्तै गर्छिन । गफ पनि कति आको हो । एक निन्द्र पुगेर बिउँझिदा पनि नसकिने गुनगुन गरेको छ गरेको छ उफ ! सुत के सुत । ऊ कोल्टे फेरेर सुत्यो । अरु साथीहरू भने गहिरो निन्द्रमा थिए ।
म जबरजस्ती निदाउन कोसिस गर्दै थिएँ । बिस्तारै हातले मेरो ढाडमा कोट्याउँदै
‘संरचना ।’
हजुर
तिम्रो कोहीसँग लब परेको छ ?
नाइ, मसँग कसले गर्छ त लब ? म सानी छुच्ची, फुच्ची छु । अनि तपाईको परेको छ त ? उहाँ बारे बुझ्ने मौका यही हो भनी प्रश्न तेस्र्याएँ । किन कि स्मृति दिदीको लबको कुरा अलिअलि सुनेको थिएँ ।
‘हो मेरो लब परेको छ । यो कुरा हेडक्वाटरलाई पनि जानकारी पुगि सकेको छ ।’
‘कोसँग हो नि दिदी ? मैले चिन्छु कि नाई ?’
‘मेडिकल विभागको संजोग सँग ।’
‘अनि बिहे किन नगर्नु भएको त ?
‘हरेक कार्यक्रममा बिहे गरौ भन्दा पख, पख मात्र भन्नु हुन्छ । खोइ के हो हो । हुन त आन्दोलन सफल बनाउनु पहिलो प्राथमिकता हो । बिहे त गौण पक्ष भएर पनि होला ।’ उनले आफ्नो विचार राखिन ।
‘तपाईलाई बिहे गर्न पाए हुन्थ्यो जस्तो लाग्दैन त दिदी ?’
‘लाग्छ नि । यतिका वर्ष प्रेम सम्बन्धमा रह्यो । आन्दोलन झन झन चर्किदै छ । लडाइमा को कहाँ कति बेला ढल्छ थाहा छैन । एक अर्को जो पहिला ढले पनि कमसेकम सहिद परिवार भनी चिनोस झैँ लाग्छ । यतिकै ढल्यो भने मनमा त आफूले रोजेको मान्छे हो तर आफ्नो भन्न पाइन्न ।’ एक छिन सुँक सुँकाइन् । म के बोल्ने के नबोल्ने अलमलमा परेँ ।
ओहो ! प्रेममा पर्नु भनेको त कुनै बेला दुख्नु पनि रहेछ । हैन भने स्मृति दिदी किन सुँक सुकाउँथी र ? प्रेममा धेरै कुरा अभिव्यक्त नगरे पनि बुझ्नु पर्दो रहेछ ।
‘दिदी’
‘हजुर’
‘लडाइँबाट फर्के पछि बिहे गर्नुस ल ।’
‘हामी दुवै जनालाई केही भएन भने गर्ने हो ।’
‘केही हुन्न ।’
लडाइमा घाइते, मृत्यु, अंगभंग सब हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि केही हुन्न भनी डाढस दिएँ । मेरो डाढसले उहाँको मन छुयो छोएन उहाँ नै जानून् । मेरो दिमागमा भने यही गीत एकोहोरो बजि रह्यो ।
तिमी झन आगो बन्नु लक्ष्य नपुग्दै म ढले छु भने तिमी झन चट्टान बन्नु बाजको पन्जामा म परे छु भने ।
उमेर पुगेका, प्रेममा परेका जोडीहरूलाई भने वैधानिक दिँदै बेला बेलामा वैवाहिक समारोहको आयोजना गर्दै आएको देखेको थिएँ । स्मृति दिदीको बिहे छिट्टै होस भन्ने मनमा लाग्यो ।
दुई दिदीबहिनीको आँखाको परेला झिमिक्क पनि नजोडि बिहानको ३ बज्यो । हाम्रो गुनगुनले निद बिथोलिएको क. आन्दाज फेरि झर्किन थालेपछि भने गफिने मन हुँदा हुँदै चुप बस्नु पर्यो ।
बिहानको ७ बजे तिर टोली मुभ हुने खबर आयो । रातभरको अनिदो आँखा मिच्दै तयार भएँ । सेल्टर छोड्दै गर्दा अबको यात्रा कता होला ? मनले मनसँग प्रश्न सोधी रह्यो ।
माघ ८, २०६२
अगाडिको टोली नदी किनारा नै ढाक्ने गरि बगेको बाग्मती तरेर गएका देखेँ । योद्धाहरुको अनुहार माघको जाडो र बहेको चिसो सिरेटोले लाली गुराँस झैँ रातो देखिन्थे । खोलाको पानी घुँडा घुँडा सम्म आउथ्यो त कुनै ठाउँमा घुँडा भन्दा माथि आएको देख्न सकिन्थे ।
खोलाको छेउमा पुगेपछि चिसोको कारण चिसो पानीमा खुट्टा डुबाउन मन लागेन । म भन्दा अगाडि पछाडिका साथीहरु धमाधम खोला तरेर जाँदै थिए । म भने नदी किनारामा उभिएको उभिइ रहेँ । क. सृष्टि मेरो छेउमा आइपुगिन ।
‘जाउ’
यो जाडोमा कसरी तर्न सकूँ ?
‘म बोकूँ त ?’ जिस्काउने शैलीमा बोलिन् ।
‘सक्छौ भने बोक न त ।’
‘तँ फुच्चीलाई बोक्न सक्दैन भन्ठानेकी ?’
‘बोकेर देखा न त ।’
पछाडि बोकी रहेको ब्याक अगाडि लग्यो । उनले आफ्नो पिठ्यूँ थापिन । म गदगद हुँदै सानी बच्ची जसरी पिठयूँमा चढेँ । मानौ उनको ज्यानमा नियमित बोक्ने ब्याग बाहेक अरू केही छैन । उनी त्यसरी नै खोला तरिन । साथीहरु मलाई जिस्काउँदै ‘नाटक नै बढी भन्न थाले ।’
बागमति पारि सिन्धुली जिल्ला । सालको पातलो रूखहरु, खजुरको बुट्यान रातो माटोमा धमिराको स सानो ढिस्को भएको उकालो बाटो लागे । करिब ३० मिनेट जति हिँडेपछि चिसापानी गाउँमा पग्यौँ । दिनभरिको सेल्टर त्यहीँ रहेछ ।
केही साथीहरू त्यहाँबाट छुटिए । उनीहरू कता गए थाहा भएन । बिहानको खाना त्यही खाने भए । तरकारी थिएन । रातो दालसँग भात थियो । क. चेली, कृतिका र मैले दाल खाँदैनथ्यौँ । कहिले दालमोढ सँग त कहिले चाउचाउको मसलासँग भात खान्थेँ । मेरो ब्यागमा चाउचाउ र दालमोढ दुबै थिएन । निस्तो भात चलाइ रहेको देखेपछि क. चेलीले ब्यागबाट चाउचाउ र कृतिकाले दालमोढ निकालिन । त्यहीसँग तीनै जनाले खान खायौँ ।
दिनभर साथीहरूले हातहतियार चेक जाँच र अपुग बमहरू निर्माण गरे । बिस्तारै दिन ढल्दै गयो । साँझ पर्दा हेडक्वाटरबाट टोली मुभ हुनुपर्ने जानकारी आयो । सन्ध्याकालीन समयमा बिस्तारै ओरालो बाटो झरेँ ।
खोलाको बगर, कहिले गाउँ, कहिले बजार जस्तो त कहिले कच्ची सडकमा हिँडि रह्यौँ । अर्ध समथर भू–भाग भोर्लेनी, टाँके, बगेरि, लिलाबन, ज्यामिरे हुँदै झुर्झुरे पुगेँ । म टोलिसँग निर्धक्क पोजिसनमा बसेँ । पहिलो, दोस्रो, तेस्रो एसाल्ट र स्वयं सेवक टोली सब जना तम्तयार अवस्थामा दुश्मनको किल्लामा बारूद झैँ सल्किन, बम बनी पड्किन र मर्न, मार्न तयारी अवस्थामा रहे ।
ड्या… म्म । ड्याम ड्याम । एकैचोटी चारैतिरबाट चट्याङ परेसरि, असिना बर्सेसरि फायर ओपन भो । मानौ वरीपरी कतै ठूलो पहिरो जाँदाको जस्तो । घमासान दोहोरो भिडन्त भयो । दुश्मनको किल्लामा चिच्याहट र रुवावासी चल्यो । सयौको संख्यामा हाताहाती भए । कुदाकुद दौड मच्चियो ।
अपरझट लडाइँमा हुने नै यस्तै हो । हामी योजनाबद्ध लडाइमा भएको कारण दुश्मनमा जति त्रास अवस्था हाम्रो थिएन । केही समय हामी यसरी आक्रामक बन्यो कि सेनाहरू आत्तालिएर जताततै गोली बर्साइ रहेका थिए । उनीहरुको निसानामा चुकी रहे ।
बिस्तारै उनीहरू आक्रामक बन्न थाले । नाइट भिजन प्रयोगमा ल्यायो । त्यसपछि जमिनमा हिँडिरहेका कमिला समेत देख्न सक्ने उज्यालो भयो । हाम्रो लुकेर हान्न सक्ने अवस्था प्रतिकूल बन्दै गयो । योद्धाहरू ढल्न थाले । युद्ध रक्षात्मक स्थितिमा पुग्यो ।
ऐया ! छेउमै रहेको क. सृष्टिलाई गोली लाग्यो । उनी ढलिन । पाखुरामा गोली लागेछ । असिना सरि गोलीको वर्षा भई रहेको थियो । उनलाई तानेर पछाडि सारेँ । अनि मैले इन्सासलाई अटोमा राखेर ट्रिगर दबाएँ । सपोर्ट फायर भएपछि स्वयं सेवक साथीहरुले उनले मेडिकल विभागमा पुर्याए ।
आकाशबाट पनि बम खसाल्ने र नाइट भिजन फाल्ने गरि रह्यो । नाइट भिजनको उज्यालोमा ताकि ताकि बम खसाल्ने र गोली हाने ।. क लिला, क. अन्दाज र सिमा आँखै अगाडि सदाको लागि कहिल्यै नउठ्ने गरि सुते । लिलालाई बमले उडायो । अन्दाज र सीमालाई गोली लाग्यो ।
क. सौगात, रविन, उत्तम, र धिरेन घाइते भएर पछि हट्नु पर्यो । लडाइँ जित्ने सम्भावना नरहेपछि आक्रामक बन्न सकेन । रक्षात्मक बन्दै गए । चार पाँच घन्टाको लडाइँ पछि टोलि रिट्रिट हुनुपर्ने निर्देशन आयो । बिस्तारै रिट्रिट हुने क्रममा थियो । यही बेला क. गम्भीरलाई पेटमा गोली लाग्यो । एकै चोटी आन्द्र भुँडी छ्यालबल निस्किन थाल्यो । एक जना साथीले हतार हतार पछ्यौराले बेरेर पछाडि सार्दै लगे । ऊ बोल्दै थियो ’म मर्दैन बाँच्छु । क्रान्ति जिन्दवाद । वीर सहिद लाल सलाम ।
करिब १०÷१५ मिनेट पछि बिस्तारै बोली बन्द हुँदै आयो । ल्याउँदा ल्याउँदै बीच बाटोमा उसले प्राण त्याग्यो । मिर मिरे उज्यालोमा टोलि फर्केर भोर्लेनि आइ पुगे । घाइतेको घाउबाट रगत बग्दै थियो । सबैको अनुहार मलिन । कसको कमान्डको कति जना घाइते भो कति जना सहिद भए । कसको टोलीले एसाल्ट सम्हाल्न सकेन कहाँनेर चुक्यो ? यावत खालको समीक्षा हुनै बाँकी थिए । सबै भन्दा पहिला त सुरक्षित स्थानमा पुग्न र घाइतेलाई बचाउन सुरक्षा दिने जिम्मेवारी प्रमुख भएकोले सरासर आधार इलाका काभ्रेको फलामेटार तर्फ लाग्यौँ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |