वसन्त श्रेष्ठ
अहिले म जतिखेर यी हरफहरु कोरिरहेछु यो लेखका नायक अर्थात मोहन दुवाल पूर्वाञ्चलको पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदीम बजारमा छन । “समथिंग राष्ट्रिय पुरस्कार २०७८” ग्रहण गर्न र साहित्यिक महोत्सवमा भाग लिन । म जन्मेको तेह्रथुमको म्याङ्ग्लुङ्ग बजारको छकलि टारको डाँडा बाट फिदीम बजार टड्कारो देखिन्छ । मलाई खुशी लाग्यो मेरो घर छेउ सम्म त पुग्नु भएछ ।
केहि समय अघिमात्र मोहन दुवालले “दशरथ चन्द स्मृति पुरस्कार” प्राप्त गरेका थिए ।
उच्च अध्ययनको लागि सत्ताई सालमा काठमाण्डौ आए देखि प्रसस्त सुनिएको नाम हो – मोहन दुवाल ।
मेरो जीवनको उर्वर समयमा धेरै सुनिएको र सम्मानित व्यक्तित्व मोहन दुवाल लाई मैले अस्सी सालमा मात्र प्रत्यक्ष भेट गर्न पाएँ । सन्दर्भ थियो “रुक्मणीराज सिवाकोटी स्मारक कोष” द्वारा मलाई प्रदान गरिएको सम्मान पत्र आयोजना गरिएको कार्यक्रममा । एउटा आदरणीय व्यक्तित्व जसलाई मैले धेरै बर्ष देखि भेट्न चाहेको व्यक्तित्वलाई सामुन्ने देख्दा अति नै आल्हादित भएको थिएँ । त्यसको केहि दिन पश्चात मोहन दुवालसँग नेपाली साहित्यको बिकासको बिगत, बर्तमान र भबिश्य बारेमा अन्तरंग छलफल गर्न म सफल भएँ ।
शान्त, शालीन, भद्र र मिलनसार स्वभाव र सरल र सहज व्यक्तित्वका धनी । निरन्तरताको पर्याय । चेतनाका सम्बाहक । प्रगतिवादी चिन्तनका अध्येता । प्रगतिउन्मुख समाजको निर्माणका एक अडिग र दरिलो खम्बा । साहित्यिक पत्रकारीता क्षेत्रका एक अविरल पथ प्रदर्शक । यी र यस्तै अनि थुप्रै विशेषणका प्रतिनिधि हुन साहित्यकार तथा साहित्यिक पत्रकार मोहन दुवाल ।
मैले बिक्रम सम्वत २०२६ सालमा तेह्रथुम म्याङ्ग्लुङ्ग बजारको श्री सिंह बाहिनी हाईस्कुल बाट एसएलसी पास गरे पछि उच्च अध्ययनको सिलसिलामा काठमाण्डौको त्रिचन्द्र कलेजमा आईएससी अध्ययन शुरु गर्न थालें । लेखनमा रुचि र साहित्य अध्ययन गर्ने बानीले गर्दा मेरो सम्पादनमा साहित्यिक पत्रिका “पूर्वेली धुन” प्रकाशित भयो संवत २०२९ सालमा काठमान्डौ बाट । त्यसै ताका बिराटनगर बाट “प्रकाश”, धरान बाट “छायाँ”, चितवन बाट “लालु पाते”, धुलिखेल बाट वेदना, काठमान्डौ बाट संकल्प र बनेपा बाट “बिगुल” आदि प्रगतिशील सामयिक साहित्यिक पत्रिकाहरुको प्रकाशित हुन्थे । सोहि प्रेरणाबाट मैले पनि काठमान्डौ बाट “पूर्वेली धुन” सामयिक साहित्यिक पत्रिका प्रकाशन गरेको थिएँ । सोहि कारण बाट नै मैले मोहन दुवाल संग भेट्ने ठुलो ईच्छा राखेको थिएँ ।
साहित्यकार तथा साहित्यिक पत्रकार मोहन दुवालमा साहित्यिक जुजुप्सा सानै देखि नै रहेको देखिन्छ । उनले दश कक्षा उत्तीर्ण गर्दा नै नेवारी भाषामा एउटा कवितासंग्रह प्रकाशन गरेका थिए । यो संवत् २०२३ सालको कुरा हो । सो पुस्तकमा जनकवि दुर्गालाल श्रेष्ठले भूमिका लेख्नुको साथै दुवालको कवित्वको प्रशंसा त्यसैबेला गरेका थिए ।
बिक्रम संवत २०२७ सालमा मोहन दुवालको सम्पादनमा प्रकाशित “बिगुल” को आयु सिर्फ दुई बर्षको मात्र रह्यो । विसं २०२९ सालमा “बिगुल” को करीब हजार कपि प्रेस बाट जफत मात्र भएन पत्रिका प्रकाशन माथि नै बन्देज गरिदिए तत्कालिन सरकारले । बिगुल पत्रिका जफत भएको सो अंकमा साहित्यकार शक्ति लम्साल को विचारोत्तेजक लेख, राल्फाका गीतहरु र अन्य प्रगतिशील लेखहरुको संगालो प्रकाशित थियो ।
प्रगतिशील लेख लेख्ने मात्र होईन प्रकाशन गरेर आम जन मानसमा प्रचार प्रसार पनि गर्ने उनको मुख्य ध्येयले दिल बरदान र सुवास श्रेष्ठलाई “बेदना” पत्रिका प्रकाशन गर्न उनले सुझाव दिएर सक्दो सहयोग पनि गरे ।
बिक्रम संवत २०३९ सालदेखि आफ्नै सम्पादनमा “जनमत” को सुरुवात गरे । “जनमत” संवत २०३९ साल सम्म पाक्षिक रह्यो भने २०४५ साल देखि आज पर्यन्त मासिक पत्रिकाका रुपमा प्रकाशन भै रहेको छ । आज सम्म जनमतको ३२१ अङ्क प्रकाशित भै सकेको छ । जनमतको आजीवन सदस्य संख्या सत्र सय जति छन् भने नेपालको ६२ जिल्लामा जनमत हरेक अङ्क उपलब्ध भै रहेको देखिन्छ ।
काभ्रे बहुमुखी क्याम्पसमा “सामुदायिक जनमत वाङ्मय पुस्तकालय नेपाल” को स्थापना गर्ने तयारीमा जुटेका छन मोहन दुवाल । साहित्य, कला अनि संस्कृतिका विविध वाङ्ग्मयका पुस्तकहरु करिव १२००० पुस्तक संकलन गर्नुको साथै बिभिन्न अन्य भाषा भाषिकाका पुस्तकहरु पनि समावेस गर्ने उनको योजना छ ।
उनले आजसम्म ४२२ जना साहित्यकारका जीवनी लेखिसकेका छन् । पचहत्तर जना महिला साहित्यकारका लेख, अन्तर्वार्ता को पुस्तक “अक्षर बिम्बमा लेखिकाहरु” महत्वपूर्ण ग्रन्थ प्रकाशन गरिसकेका छन् । यसैगरी यसअगावै ५०० जना लेखकहरुको हस्ताक्षर मार्फत्को परिचयसङ्ग्रह ‘अक्षरभित्रकः स्रष्टाहरु’ पुस्तक प्रकाशन गर्न करिव दश बर्ष लागेको बताउँछन । विसं १९८६ सालमा प्रकाशित शहिद शुक्रराज शास्त्रीले लेखेको “स्वर्गको दरवार” पुस्तकको “जनमत” प्रकाशन बाट मोहन दुवालले पुनः प्रकाशन गरेर देश–विदेशमा फिँजाएका छन् ।
बिगत पाँचदशकदेखि सक्रिय रुपमा साहित्यिक पत्रकारितामा लागेको मोहन दुवाल यो सफलताको सम्पूर्ण श्रेय आफ्नो आत्मबल, संकल्प र श्रीमतीको साथ, सहयोग र मायालाई नै आधारका रुपमा आत्मसात गर्छन् ।
राजनीति, शिक्षण सेवा र सामाजिक सेवामा पनि सक्रिय भई निरन्तर आजपर्यन्तसम्म पनि लागिरहेका मोहन दुवालले एक हजार बढी कविता प्रकाशित गरिसकेका छन् । उनी सस्तो लोकप्रियताको र साहित्यमा भइरहेको गुटबन्दीको बिरुद्धमा उभिरहने संकल्प राख्ने गर्छन् ।
मोहन दुवालले हालको देशको राजनीतिप्रति असन्तुष्टी जनाउनुहुँदै प्रज्ञा प्रतिष्ठानको प्राज्ञ नबन्ने प्रण पनि गरेको देखिन्छ । पंचायती कालमा किरण, सुदिप, प्रतिमा, शरद बनेपा आदि बिभिन्न छद्मनामबाट लेख–रचना र समाचार प्रकाशन गरेको अनुभव पनि सुनाउने गर्छन् ।
नेपाल समाचारपत्रको साहित्यिक पृष्ठको संयोजक भई करिव सात बर्ष साहित्य–पृष्ठको यिनले सम्पादन गरेका छन् ।
साहित्यकार तथा साहित्यिक पत्रकार मोहन दुवाल आफ्नो आजको प्रौढ उमेरमा पनि नेपाली साहित्य र सामाजिक जागरणको क्षेत्रमा उत्तिकै सक्रिय, जागरुक र नितान्त कटिबद्धताका साथ निरन्तर लागिरहेका छन ।
यहि छोटो लेखमार्फत् उनको साहित्यिक सक्रियता र सामाजिक जागरण अभियानमा सफलता मिलोस् यहि शुभ–कामना व्यक्त गर्दछु । भर्जिनिया, अमेरिका
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |