एमजेएफ लायन सिन्धु पौडेल, साहित्यकार
सामाजिक क्षेत्रमा अत्यन्तै लगाव रहेकी सामाजिक अभियान्ता भन्दा फरक नपर्ने पात्र हुन् सिन्धु पौडेल । जो परदेशमा रहेर पनि नेपाली माटोलाई माया गर्ने स्रष्टाको रुपमा आफ्नो पहिचान राख्न सफल चितवन पदमपुरमा २०३६ असोजमा जन्मिनुभएको सिन्धु पौडेलले परदेशिएकाहरुको कथालाई शब्दमा उतार गरेर पस्कने क्षमता राख्ने उर्जाशील कवयत्रीका रुपमा नेपाली साहित्यमा परिचित स्रष्टाका बारेमा जति नै चर्चा गरेपनि अपूरो महसुस हुन्छ ।
आफ्नो अध्ययनको यात्रालाई स्नातकसम्म पु¥याएर पूर्णविराम दिन बाध्य भएकी स्रष्टा पौडेलका रचनाहरू विभिन्न सञ्चार माध्यममा प्रकाशित छन् । उहाँका अनुसार आफ्नो कथासंग्रहको तयारीमा रहनुभएको छ । यसअघि ‘मृतसागरको उचाइ’ कवितासंग्रह प्रकाशित गरिसक्नुभएकी स्रष्टाले आफ्नो कृतिमा वैदेशिक रोजगारीको बाध्यतालाई सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
उनै साहित्यकार पौडेलसँग समसामयिक साहित्य, कला, भाषा, वाङ्गमय लगायत विविध विषयमा हाम्रा सहकर्मी बिपशना शाक्यले गर्नुभएको संवादको सम्पादित अंश पाठकसामु पस्कने जमर्काे गरेका छौं । स.
० तपाईं केमा व्यस्त हुनुहुन्छ ? विदेशमा रहेर अध्ययन, लेखन र पुस्तक प्रकाशनमा चासो रहन्छ ?
विश्वका जुनसुकै कुनामा पुगेपनि आफूभित्रको क्षमता मर्दैन । त्यसलाई समयानुकुल उतार्नसक्नु नै स्रष्टाको कला हो । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ मनले चाहेको कामकुरा गर्न समय मिलिहाल्दो रहेछ । साहित्य अध्ययन, लेखन र पुस्तक प्रकाशनमा मन गएकै कारणले नै त निरन्तरता भएका छन् ।
० साहित्यिक आँखाले प्रकृतिका बारेमा के विश्लेषण गर्छ ?
बुझाइ आ–आफ्नो हो । कसले कसरी लिन्छ उसको प्रस्तुती र कलामा भर पर्छ । हुन त हामी साहित्यकारमा प्रकृतिसँग भावानात्मक सम्बन्ध रहेको हुन्छ । भनिन्छ साहित्य समाजको ऐना हो । यसले नयाँ र पुराना पुस्ता जोड्ने पुलको काम गर्छ । साहित्य जीवन हिँड्ने बाटो हो, साहित्य समाजको संस्कार जोगाउने मूल आधार पनि हो । जीवन जन्म र मृत्यु बीचको छोटो अन्तराल हो । यही छोटो जीवनमा देखिने, भोगिने, अनुभव गरिने र अनुशरण गरिने वस्तु नै दर्शन, आत्मा र प्रकृति हुन् । यिनीहरू एकार्काका परिपूरक हुन् । जसको सम्बन्ध आपसमा अन्योन्याश्रित छ ।
० मानव र साहित्यको सम्बन्ध कस्तो रहन्छ ?
विकासक्रमलाई हेर्ने हो भने यि एकअर्काका पूरकका रुपमा रहेको अध्ययनले देखाएको छ । मेरो साहित्यिक आँखाबाट हेर्ने हो भने पनि हो नै भन्ने अठोटमा पुगेको छु भन्दा फरक पर्दैन । सिंगो समाजको यथार्थ चिन्तनलाई सूत्राधारको रुपमा पस्कने कला नै साहित्यतर्फको पाटो हुनुपर्छ भन्ने बुझाइ मेरो छ । त्यसैले म र साहित्यको सम्बन्ध नङ र मासुको रुपमा स्थापित भएको अध्ययन, चिन्तन र मननको समष्टिगत स्वरूपले नै लेखन सार्थक हुन्छ भन्ने पुष्टि गरेको छ ।
० आज साहित्यिक फाँटमा देखिएका ज्वारभाटाहरुलाई तपाईंको आँखाले के देख्नुहुन्छ ?
यो समयको खेल हो । समयले मान्छेलाई कहाँ पु¥याउँछ कसले भन्न सक्छ । साहित्यभित्र पनि यस किसिमका तरंगहरु तरंगित हुनु नौलो होइन । पानीका फोकाझैं आउँछन्, जान्छन् । जो समयलाई चिन्छ र विषयको गहिराइमा पुग्छ उसले यात्रा अगाडि बढ्छ । जो पानीकै फोकासरी उदाएको छ, त्यसैगरी अस्ताउनुको विकल्प रहन्न । सवाल मेरा कविता कस्ता छन्, राम्रो कविता लेख्न अध्ययन, अनुसन्धान र कविता सम्बन्धी विषय ज्ञान त हुनुपर्छ । म आफैं पनि नयाँ भएकोले सबैले सिक्नुपर्छ । सिकाइ सबैका लागि आवश्यक र अनन्त छ भन्ने निचोड मेरो छ ।
० तपाईंले लेखन प्रेरणा ‘को’ बाट पाउनु भयो ?
यो सवालमा मेरो धेरै अड्चनहरु छैनन् । लेखनको प्रेरणाको स्रोत भनेको मेरी आमा हुन् । आमाबाटै साहित्यिक यात्रा सुरु भएको हो भन्दा फरक पर्दैन । म सानैदेखि मेरी आमाले पढ्ने ‘गौरी’ खण्डकाव्य, ‘मुनामदन’ लगायत हजुरबाहरूले पढ्ने रामायण, महाभारत आदि नै हुन् प्रेरणाको श्रोत । अलिक ठूलो र बुझ्ने भएपछि ८–९ कक्षादेखि माक्सिम गोर्कीको आमा, युवा, नारी, मिखाइल सोलोखोवको मान्छेको भाग्य र दोन नदीका कथाहरू पढ्ने गर्थें जो मेरो बाबाले पढ्नुहुन्थ्यो । लेख्नु भनेको आफूले आफैलाई चिन्ने अवसर हो । हरेक व्यक्तिको लेखाइमा आ–आफ्नो चेतनास्तर हुन्छ, बिचार अलग हुन्छ । त्यसैले आफ्नो लेखन क्षमता बुझ्न पनि लेख्न जरूरी ठान्छु । जबसम्म पारिवारिक वातावरण अनूकुल बन्दैन, तबसम्म लेखनशैली सिर्जना गर्न भने गाह्रै हुन्छ । यो सवालमा म सचेत र भाग्यमानी पनि हुँ । परिवारमा पढ्नुपर्छ भन्ने चिन्तन सबैमा थियो, जसको उपज आज म साहित्यिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा समेत स्थापित हुने अवसर प्राप्त गरेको छु ।
० समयको सदुपयोग कसरी गर्न सकिन्छ ?
समयको सवालमा, मैले माथि नै भनिसकें । श्रमबाट केही समय निकालेर सिर्जनाहरु गर्नु नै मेरो लागि महत्वपूर्ण पक्षका रुपमा रहेको छ । विदेशी भूमिका आएर श्रम बेचिरहेका छौं ।
सर्वप्रथम त हामी विदेशी भूमिमा छौं । ड्युटी पछिको समय कति नै बाँकी रहन्छ र ? बाँकी रहेको समय अध्ययनमा बित्छ मेरो । विश्वमा छरिएर रहनुहुने सम्पूर्ण नेपाली जो विदेशमा बसेर पनि आफ्नो भाषा, साहित्य, धर्म, र संस्कृति जोगाउनु हाम्रो दायित्व हो । यसका लागि म हरदम लागिरहनेछु ।
० तपाईंको मुख्य रोजाई कुन विधा हो ?
एउटा स्रष्टाका लागि यही विधा भन्ने हुँदैन । तर पनि विशेष महत्व रहन्छ । मेरा लागि सबै विधा रुचिका विषय हुन् । विशेषतः कविता, गीत, गजल मेरो साहित्यिक अंग बनेका छन् ।
० तपाईंको दृष्टिकोणमा साहित्यिक पत्रकारितालाई कसरी लिनुभएको छ ?
नेपालमा अन्य विधामा जस्तै साहित्यिक पत्रकारिता विधा फस्टाउन सकेको छैन । फेरि पनि पछिल्लो समयमा साहित्यिक पत्रकारिताले उचाई लिएको छ । यो अत्यन्तै खुशीको कुरा हो । अहिले इन्टरनेटको माध्यमले र साहित्यिक पत्रिकाको कारणले गर्दा नै विश्वभरी छरिएर रहनुहुने लेखक र पाठकसम्म हाम्रा लेख–रचना पुग्न पाएका छन् । पढ्न सहज भएको छ । यसलाई समय सापेक्षित ढंगबाट अगाडि बढाउन सकियो भने अबको साहित्यिक दर्शका रुपमा स्थापित गर्न सकिन्छ ।
० नेपालको राजनीतिकले साहित्यमा प्रभाव पारेको छ कि छैन ?
अहिलेको परिवेशमा भन्नुपर्दा नेपालको राजनीति गुटबन्दी, लुटधन्दा, दलवादको सिद्धान्त र जनताको आँखामा छारो हाल्ने काम बढी नै भएको देखिन्छ । तर सबै नराम्रो भन्न चाहिं मिल्दैन । अहिले राजनीतिमा राम्रा व्यक्तिहरू पनि देखिएका छन् तर काम गर्न सहज भने छैन । भन्नैपर्दा, राजनीतिले साहित्यिक क्षेत्र प्रभावित छ भन्ने निचोडमा म छु ।
० साहित्यमा विचार, युगचेतना, विश्वपरिवेश अभिव्यक्त भएको देख्नुहुन्छ तपाईं ?
कुनै स्रष्टाले आफ्नो सिर्जना पोख्नको लागि तयार हुँदाखेरिको वातावरणमा निर्भर पर्छ । जब लेख्न बसिन्छ त्यहाँ चेतनाले विचार स्वतः प्रष्फुटन गर्छ र मानिसले विश्वपरिवेश बुझ्ने क्षमता बिस्तार गर्दै जान्छ । युगचेतनाबाट नै विश्वका साझा मानवीय अभिव्यक्तिहरू गीत, सङ्गीत, साहित्य, कलाको मध्यमबाट विश्वको दृष्टिलाई साझा र सरल तरिकाले अभिव्यक्ति गर्न सक्ने क्षमता राख्छ । नव युगमा नव चेतनाका साथ नयाँ लेखकहरूको उदय भैरहेको छ र नयाँ विचारहरूको उदय पनि भईरहेको छ । तर लेख्ने कला र प्रयोग हुने शब्द कति गहकिला छन् र तिनले कस्तो प्रभाव छोड्छन् भन्ने विषयमा गहिरो अध्ययन हुन जरुरी छ ।
० डायस्पोरिक साहित्यका बारेमा कस्तो धारणा बनाउनुभएको छ ?
विदेशी भूमिमा ड्युटीका साथसाथै कैयन आइपर्ने समस्याहरूबाट निस्किएको समयलाई व्यवस्थापन गरेर लेख्नुपर्ने हुन्छ । तथापि मलाई लाग्छ, नेपाली साहित्याकाशको आधा हिस्सा डायस्पोरिक लेख्न नै हो । यो यथार्थलाई नेपाल सरकार, प्रज्ञाप्रतिष्ठान लगायत सरोकारवालाहरूले स–सम्मान बुझ्न आवश्यक रहेका मैले महसुस गरेको छु ।
० अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई कसरी हेर्नुभएको छ ? संसारमा छरिएर रहनुभएका साहित्यिक व्यक्तित्वको साहित्यिक माहौल कस्तो छ ?
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अब यो क्षेत्रमा लागेकाहरूको साझा घर भईसक्यो । यसलाई सबै मिलेर फलाउने–फुलाउने तर्फ लाग्नुपर्छ । साहित्यिक व्यक्तित्वहरूको माहौल पनि उत्साहजनक छ । यसलाई निरन्तरता दिन सरोकारवाला पक्षको गम्भीर चासो रहनुपर्छ भन्ने बुझाइमा छु म ।
० भनिन्छ, नेपाली भाषा विस्तारै लोप हुँदैछ ! नेपाली भाषा र नेपाली साहित्य पढ्ने संख्या बढाउन के गर्नुपर्ला ?
नेपाली भाषा मर्नुमा अरु कोही दोषी छैनन् । छन् त केवल आफूलाई दिग्गज भन्न रुचाउनेहरु नै यसको जिम्मेवार हुन् । उहाँहरुले नै आफ्नो भाषा, संस्कृति मास्दै आउनुभएको छ । समय अभाव छ, नत्र म फेरिस्ता पेश गर्न सक्थें । बिडम्बना ! यो भन्दा अगाडि कुनै समय अनुकुल मिलेमा प्रष्ट्याउने छु । हाम्रो साझा बलले अझै नेपाली साहित्य पढ्नेहरूको संख्या बढाउने र यसको विस्तार गर्ने काममा सफलता पाउन सकिन्छ ।
० तपाईंको आगामी पुस्तक प्रकाशन कस्तो हुनेछ ?
अबको मेरो पुस्तक सम्भवतः कथासंग्रह हुनेछ । त्यसैको तयारीमा जुटेकी छु यति बेला । त्यतिबेला नै सार्वजनिक गर्नेछु ।
० प्रसंग बदलौं, तपाईं सामाजिक अभियान्ताका रुपमा लायन्समा आबद्ध हुनुहुन्छ । केही बताइदिनुहुन्छ ?
हो, म लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको सदस्य (एमजेएफ) पनि भएको छु । यो मेरो सानैदेखिको चाहना । विपद्मा परेका र साहाराविहिन भएकाहरुको साहारा बन्ने रहर अनुरुप नै सामाजिक क्षेत्रमा क्रियाशील रहने चाहना थियो । जसको साधनका रुपमा लायन्स इन्टरनेशनल ३२५ बि २ मेरा अगाडि आइपुग्यो । जुन आज लायन्स इन्टरनेशनल ३२५ आइ (एमडि ३२५) नेपालमा आबद्ध छु । जसले नेपालमा आइपरेका विभिन्न विपद्हरुमा आफूलाई सारथीका रुपमा उभ्याएको छ । ०७२ को महाविनाशकारी भूकम्प होस् या जाजरकोट भूकम्पपिडितहरुमा मलमपट्टि लगाउन आफूलाई अग्रदस्तामा उभ्याउन सफल भएको छ । जसको परिणाम अन्तर्राष्ट्रियस्तरमा अब्बल डिष्ट्रिक्टका रुपमा सावित भएको छ । त्यसैले पनि जहाँ विपद्, त्यहाँ लायन्सको नारालाई स्थापित गराउनका लागि साहित्यको साथमा सामाजिक सेवा गर्ने प्रेरणालाई विस्थापित हुन दिनेछैन ।
० अन्त्यमा पाठकलाई के भन्न चाहनुहुन्छ ?
धन्यवाद ! मेरा भावनाहरुलाई राष्ट्रिय एवं अन्तरराष्ट्रमा छरिएर रहेका पाठकहरु सामु पु¥याउने काम गर्नुभएकोमा आभार व्यक्त गर्दै लायन्स इन्टरनेशनल ३२५ आइ मेरा लागि सामाजिक अभियानको प्रेरणा बनेको छ । यो सार्थक रुपमा स्थापित गराउनु मेरो दायित्व पनि हुन्छ भने नेपाली साहित्यको सिकारु कलम पनि हुँ म । तपाईंहरूले माया गरिदिनु भएको छ, त्यो नै मेरो लेखनको ऊर्जा र सफलता हो । कमीकमजोरी थुप्रै होलान्, जस्ताको तस्तै औंल्याएर सहयोगप्रति आभार व्यक्त गर्छु । अन्त्यमा यो अवसरको लागि तपाईं साथै तपाईं सम्बद्ध यो प्रभातफेरि साप्ताहिक र अनलाइन परिवारप्रति हार्दिक नमन गर्दछु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |