१. परिचय
हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहँदै आएको छ । यस अनुरूप यस देशमा बसोबास गर्ने विभिन्न जातजातिहरूमध्ये गुरुङ पनि एक प्रमुख जात हो । गुरुङ जाति नेपालका आदिवासीहरूमध्ये पनि एक हुन् । अन्नपूर्ण हिमालको श्रृङ्खलाको दक्षिणीक्षेत्र मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, कास्की, स्याङ्जा आदि जिल्लाका पहाडी भेकहरूमा यिनीहरूको घना बस्ती रहेको पाइन्छ । प्राचीन कालमा गुरुङहरू गण्डक क्षेत्रमा कसरी आइ पुगे भन्ने कुरामा बहुसंख्यक विद्वानहरू मंगोलियाबाट चीन –तिब्बत हुँदै नेपालको मुनाङ, कास्की, लमजुङ, गोरखा, स्याङजा र तनहुँमा बसोबास गरेको भन्ने विश्वास गर्छन । केही विद्वानहरू भने गण्डक क्षेत्रमा आउनुभन्दा अघि मंगोलयाबाट चिन तिब्बत भई पहिला भारतमा बसोबास गरी कालान्तरमा गण्डक क्षेत्रमा प्रवेश गरेको बताउँछन । गुरुङहरूको वंशावलीमा भने उनीहरू कन्नौजबाट आएका आर्य हुन भनेका छन । लेखक जनकलाल शर्माले गुरुङहरू “हुण” जातिका हुन् भन्ने तर्क प्रस्तुत गरेका छन । कुनै पनि शब्दको अर्थ हुन्छ । यसरी अर्थ दिने शब्दको व्युत्पत्ति कसरी भयो होला भन्ने हामी सबैको मनमा जिज्ञासा हुन्छ नै । यहाँ मैले तमु तथा गुरुङ शब्दको उत्पत्ति कसरी भयो भन्ने बारेमा छोटो चर्चा गर्नेछु ।तमु तथा गुरुङ एउटै जातिलाई जनाउने दुईवटा नामयोग शब्द हुन् । तमू शब्द दुई अक्षरले बनेको छ । यस शब्दमा प्रयोग भएको ‘तमू’ अक्षरमा ‘त’ को अर्थ वज्र, माथि, घोडा र वञ्चरो जनाउँछ । ‘मू’ को आकाश हो । त्यसैले तमूको अर्थ आकाशको वज्र, घोडा भएका अथवा पालक तथा लेकाली मानिस हुन् भनी विद्वान्हरू लेख्छन् । त्यस्तै गुरुङ शब्द तिब्बती भाषाको ‘ग्रोङ’ शब्दबाट बनेको हो भन्ने भनाइ पनि छ । जसको अर्थ खेतला वा कृषक हुन्छ । तिब्बती भाषाको घोरुङ शब्दको अपभ्रंश भएर गुरुङ भएको हो भन्ने भनाइ पनि छ । घोरङको अर्थ ‘पाल’ हो भन्ने अर्को भनाइ छ । गुरुअङ्गबाट गुरुङ भएको हो भन्ने पनि कथन छ भने चीनको स्वशासित क्षेत्र तिब्बतको ज्यारोङबाट आएका हुनाले गुरुङ भएको तर्क पनि कतिपय विद्वान्हरूले अगाडि सारेका छन् । डा. हर्क गुरुङको भनाइ अनुसार गुरुङ शब्दको उत्पत्ति तमू शब्दको ‘कुक्रोहा’ कु (नौ) क्रोहों (मुखिया) अर्थात् नौ मुखियाको अपभ्रंश भएर गुरुङ भएको हो ।
२. गुरुङ जातिको वंशावली
विभिन्न जातजातिमा जस्तै ठूलो जात त सानो जातको भेद भए जस्तै गुरुङहरुमा पनि चार जाते (ठूलो जात) र सोह्र जाते (सानो जात) भन्ने प्रचलन पाइन्छ । चार जाते भित्र घले, घोताने, लामा र लामिछाने पर्छन । सोह्र जातेभित्र पग्यु, डोर, केप्चै, कोचै, ध्यावृङ्ग, दोचै, प्रचै, थिचै, योचै, खलाल, भयचै, कोके, कुपचै, नानन्चौ, लेगै, र रुपचै पर्छन । यसरी चार जाते र सोह्र जाते छुट्याउनुको पनि गहिरो इतिहास रहेको छ ।
३. गुरुङ जातिको भाषा र लिपि
राष्ट्रिय जनगणना २०७८ अनुसार गुरुङ जातिको जनसंख्या ५ लाख ४३ हजार ७९० पाइएको छ । यो जनसंख्या विगत १० वर्षमा १ दशमलब ६८ प्रतिशतले बढेको देखिन्छ । पुरुष २ लाख ५४ हजार २६७ रहेको छ भने महिला २ लाख ८९ हजार ५२३ रहेको छ । प्रादेशिक दृष्टिकोणले हेर्दा सबैभन्दा बढी जनसंख्या गण्डकी प्रदेशमा बढी रहेको छ । क्रममा बाग्मती, कोसी, लुम्बिनी र सुदुर पश्चिममा कम जनसंख्या रहेको छ । गुरुङहरूको आफ्नै बोलिको भाषा रहेको छ । गुरुङ÷तमु भाषालाई तुमू क्यूई भन्दछन । गुरुङ भाषालाई भोट बर्मेली र खमेर परिवारको भाषा भन्ने गरिन्छ । यिनीहरूको खेमाप्ही लिपि छ र यो लेख्न सकिने भाषा भनिन्छ तर सबै गुरुङले यो लिपिलाई मानेको छेनन् । राष्ट्रिय जनगणना २०७८ अनुसार गुरुङ भाषा बोल्नेहरूको संख्या करिब ३ लाख २८ हजार ७४ रहेको छ ।
४. गुरुङ जातिको धर्म
तमु जातिको प्राचीन धर्म संस्कार प्राकृतिक बोन संस्कार नै हो । तमु समाजमा प्राकृतिक बोन संस्कारअन्तर्गत धामी, झाँक्री, पैँडी, पच्यु, ध्यावृ, बोन लामाहरूको महत्वपूर्ण भूमिका हुन्छ ।भेगिलिक परिवेश अनुसार बसोबास गर्ने तमुहरूले मान्ने धर्म पनि फरक खालको देखिन्छ । मनाङ निस्याङ्पाहरूले बौद्ध, पहाडमा बसोबास गर्नेहरूले प्रकृति पूजा र समथरमा बस्ने गुरुङहरूले बाहुन मान्छन ।
५. गुरुङ जातिको संस्कार
१. जन्म संस्कार
शिशु जन्मेको तेस्रो दिन वा नौ दिनभित्रमा पैंडी (ज्योतिषी) बोलाई शिशुको नामकरण गरिन्छ । अर्थात् शिशुको नाम राखिन्छ । शिशु जन्मेको छैंठौ दिनको साँझ नवजात शिशुको भविष्य राम्रो होस् भनी शुभमंगल कामनाको लागि थालीमा एक माना चामल, रूपैयाँ पैसा भेटी राखी थाल माथिनै दियो बालेर शिशुको सिरानीमा राखिन्छ । बालकको जन्म भएको नौ दिन या एघार दिनमा न्वारान वा नामकरण हुन्छ । बालिकाको सात दिनमा न्वारान गर्ने गरिन्छ भन्ने पनि जनश्रुतुमा सुन्दै आएको छ ।
२. विवाह संस्कार
मामाचेला र फुपू चेलाबीच विवाह गर्ने चलन रहेपनि हाल आएर यस्तो चलन क्रमश हटाउँदै लगेको छ । प्रेम विवाह, चोरी विवाह, मागी विवाह गर्ने चलन रहेको छ । भागी विवाह गरेमा अभिभावकको समझदारीमा तिथी मिति तोकी औपचारिक विवाह गरिदिने चलन छ ।
३. मृत्यु संस्कार
तमु÷गुरुङ जातिहरूको अन्तिम संस्कार लामा विधि द्वारा गरिन्छ । मृत्यु भएको चार दिनपछि नुनतेलबाट चोखिन्छ । मृत्यु भएपछि लामाले साइत हेराइ जंगल लाने चलन । डाँडामा लगेर सार्वजनिक घाटमा जलाउन गर्छन । १३ दिनसम्म नुनतेल बार्ने चलन छ । वर्तमान परिप्रेक्ष्यमा तमुहरूले अन्त्येष्टि संस्कार पनि बोन, बौद्ध तथा हिन्दु तीन धार्मिक विधि विधान अनुसार सम्पन्न गर्ने गरेको पाइन्छ ।
६. गुरुङ जातिको भेषभुषा
महिला र पुरुष आ–आफ्नै पहिरन छन । महिलाहरू मखमल र भेलभेटको चोलो, घलेक, कटनको लुङ्गी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाउँछन् । यी पहिरनसँगै हातमा चुरा, पोते, जन्तर,मुगाको माला, शिरबन्दी लगाउँछन् । पुरुषले सेतो कछाड, मलायन पेटी, सेतो भोटो कालो मखमलको इस्टकोट र कालै मखमलको टोपी लगाउँछन । कानमा कुण्डल तथा घाँटीमा गलबन्दी लगाउने चलन पनि रहेको क्लोथिङ इन नेपालको प्रबन्ध निर्देशक अनिता तामाङले बताउनु हुन्छ ।
७. तमु जातिका चाडपर्व
१. ट्होटेँः –गुरुङ भाषामा ट्होटेँ भनेको राजमय वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने बैरीशत्रुलाई सीमा नघाएर राज्य सुरक्षित गरेको भन्ने अर्थमा लिइन्छ । यो वर्षेनी चैत र साउनको अन्तिम मङ्गलबार यो पर्व मनाइन्छ ।
२. ल्होसार (ल्होछार)ः – नेपालका अनेकौं चाडपर्वहरूमध्ये ल्होसार एक हो । मंगोल परिवारका एक ठूलो जनसमुदाय यथा गुरुङ, तामाङ, शेर्पा आदिद्वारा समान उत्साहले यो चाडलाई प्रत्येक वर्ष मनाइदै आएको छ । “ल्हो“ को अर्थ वर्ष र “सार“को अर्थ फेरिने भएकोले वर्ष फेरिने दिनलाई तमु “ल्होसार“ पर्व भनिएको हो । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकोले पुष १५ मा यो पर्व मनाउने गरिएको हो भनिन्छ । यो चाडमा नेपाल सरकारले बिदा दिदै आएको छ ।
३. मेँ त्हेँ ले पर्वः – यो पर्व हरेक वर्ष फागुपूर्णिमाको तिथीमा पर्छ । यो पर्वको दिन धनुषवाण हान्ने, वर्छा हान्ने, छेलो फाल्ने कुस्ती खेल्ने जस्ता खेलको आयोजना गरिन्छ । घरेलु हतियारको विधिवत पूजा गरी खेल्न शुरू गरिन्छ । यो पर्व विशेषतः आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुषवाण चलाउने, विद्या प्राप्त गरेको दिनका रुपमा मनाइने गरिन्छ ।
४. खेमानाँब, नौगी, खिसरी, माघी संक्रान्ति जस्ता अन्य पर्वहरू पनि मनाइन्छ ।
८. तमु जातिको लोक संस्कृति
१. रोधीँ
तमुहरूको विशुद्ध पहिचान हो । यो तमु समाजको मौलिक परम्परामा आधारित छ । जनश्रुति अनुसार गुरुङ भाषा ‘रोव’ को अर्थ सुन्ने र ‘धी’ को अर्थ घर जनाउँदछ । अर्को जनश्रुति अनुसार ‘रु’ को अर्थ धागो ‘लब’ को अर्थ कात्ने र ‘धी’ को अर्थ घर हो । रुघी वा धागो कात्ने घरबाट विकसित हुँदै रोधी हुन आएको हो भनिन्छ । यो लोक संस्कृतिलाई जीवन्त तुल्याउने, फुर्सद मिलाएर गाउने, बजाउने, नाच्ने, रमाइलो गर्ने थलो हो । रोधी गुरुङहरूको पारस्परिक सहयोग सद्भाव र अनुशासनको व्यावहारिक ज्ञान आर्जन गर्ने विद्यालय हो ।
२. घाटुनाच
गुरुङ जातिको एउटा आफ्नै विशेषताले भरिपूर्ण संस्कृति हो । हिमचुली, वरचुली, देवचुली आदिको आराधना नगरी घाटु जाग्दैन । यो घाँटीबाटै एक्लै सुर झिक्ने राग (गीत) भएकोले एक अर्थमा यसलाई घाटु भनिएको हो भनिन्छ । धार्मिक एवं सांस्कृतिक भावनाले ओतप्रोत रहेको घाटुनाच गुरुङ समाजको जीवन्त संस्कृति हो । यसमा तत्कालीन सामाजिकता एवं ऐतिहासिकता पनि छिपेको छ । त्यसैले यो राष्ट्रिय संस्कृतिमा दरिनयोग्य छ ।
३. सोरठी
गुरुङ जातिमा प्रचलित यो पृथक किसिमको नाच हो सोरठी । नृत्यको कथा वस्तु सात जना श्रीमती भएका निःसन्तान प्राचीनकालीन एक जना राजा र उनका रानीहरूको सेरोफेरोमा केन्द्रित रहेको छ । कथामा सातवटी रानीमध्येकी कान्छी रानीबाट छोरी पाएकोमा अन्य सातवटी रानीले ईष्र्या गर्दा जन्मेकी छोरीलाई मार्ने षडयन्त्र यस गीतिकथाको मुख्य कथाबस्तु हो ।
४. मारुनी
गुरुङ जातिमा प्रचलित यो फरक पहिचान भएको नाचमध्येको एउटा नाच हो मारुनी । यो साउनमा सुरु भएर पुषसम्म नाच्ने गरिन्छ । यस नाचमा हिन्दु देवीदेवताहरूलाई विभिन्न फूलहरू चढाएर पूजा आराधना गर्ने गरिन्छ ।
८. आर्थिक तथा शिक्षा
परम्परागत पेशा कृषि र भेडा पालन भएता पनि हाल आएर अन्य व्यवसायमा अगाडि बढेका देखिन्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना देखि देखि लिएर भारत तथा सिंगापुर र यु. के, तिर रोजगारीको लागि जाने, व्यापार गर्ने र अन्य रोजगारीको लागि विदेश जाने गरेको पाइन्छ । वर्तमान समयमा शिक्षा क्षेत्रमा पनि गुरङहरु निकै अगाडि देखिन्छ । वर्तमान अवस्थामा गुरुङ जाति नेपालमा ठूला ठूला उद्योग, शिक्षा, प्रशासन, वैदेशिक व्यापार, राजनीति आदि क्षेत्रमा प्रगति गरिरहेका छन् । (लेखक लुम्बिनी विश्व विद्यालय अन्तर्गत बुद्धिजम एन्ड हिमालयन स्टाडिजको तेस्रो सेमिस्टरको विद्यार्थी हुनुहुन्छ ।)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |