
प्रभातफेरी अनलाइन १६२ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ २४, मंगलबार (६ महिना अघि)
कविता :
पहाडका थुम्काहरूले
वर्षा ऋतुको रिमझिम बहारलाई
धर्ती भिज्ने गरी खन्याएपछि
आँखामा बिहान मिचेर
कानमा भालेको अलाराम सँगै
परेलीमा घाम जन्माउने रोपाहार हुँ म ।।
चूल्ठोमा ईन्द्रकमल सिउरेर
कम्मरमा गुन्युको सप्को लगाउँदै
संगीनिको ओठ सँगै चाहना सुसेलेर
घुमको पछ्यौरीले कपाल ढाक्दै
खुट्टामा बाटो हिंडाउने रोपाहार हुँ म ।।
हली दाई र बाउसे दाईले
गह्राका उबडखाबड हरु सम्याएपछि
राता चुराहरुको छनछनी संगीतमा
दबदबे हिलो भित्र हत्केला बजाउँदै
हरिया बीऊहरुको असारे लय रोपेर
पिठ्युँमा बतासको खुई कडाउने रोपाहार हुँ म ।।
मानो खाएर मूरी उमार्ने समयमा
लाग्ने गर्छ किसान महोत्सव
निधारमा माटोको टीका
र शिरमा बीउको जमरा टाँसेर
कुलोको पानीले जवानी भिजाउँदै
दुःखको पटुकीले पेट बाँध्ने रोपाहार हुँ म ।।
हृदयको एउटा कुनामा वेदना लुकाएर
आँखाका क्षितिजमा खुशीको लाली पोत्दै
सुनको बाला मा धान झुलाएर
मनको खलामा यौवन फुलाएर
सुनौलो मंसिर पर्खिरहेकी रोपाहार हुँ म ।।
बेठीमा बजेको पञ्चेबाजा सँगै
मंसिर पर्खिरहेकी रोपाहार हुँ म ।।
***









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |