logo
२०८३ अषाढ १९, शुक्रबार |
📰
🔍

पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना, १५ दिन इन्धन आपूर्ति रोक्का हुने

प्रभातफेरी अनलाइन१० पटक पढिएको प्रकाशित मिति: १७ घण्टा अघि (१७ घण्टा अघि)
पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना, १५ दिन इन्धन आपूर्ति रोक्का हुने

काठमाडौं — सरकारले पेट्रोलियम पदार्थको बिक्रीवितरणमा अवरोध गर्ने पेट्रोलपम्पमाथि कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ। अब बिक्रीवितरणमा जानाजानी व्यवधान सिर्जना गर्ने पेट्रोलपम्पलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्न सकिने कानुनी प्रावधान गरिएको छ।

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

बुधबार देशभर केही पेट्रोलपम्प बन्द हुँदा इन्धन बिक्रीवितरण प्रभावित भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगमले विनियमावली संशोधन गरेको उद्योगमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ।

संशोधित विनियमावलीको दफा २९(घ)(१) मा ‘विक्रेताले नोजल सुक्खा (ड्राइ) गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने’ भन्ने व्यवस्था थपिएको छ।

नयाँ प्रावधानअनुसार पहिलोपटक यस्तो कसुर गर्ने पेट्रोलपम्पलाई तीन लाख रुपैयाँ जरिवाना र पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रोपटक उल्लङ्घन गरेमा छ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रोपटक कसुर दोहोरिए १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म पेट्रोल तथा डिजेलको आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ।

सरकारले यस व्यवस्थामार्फत पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्दै कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्य राखेको जनाएको छ।