प्रभातफेरी अनलाइन९ पटक पढिएको प्रकाशित मिति: ५ घण्टा अघि (५ घण्टा अघि)
काठमाडौं, कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा शुक्रबार विशेष क्षमा पूजाअर्चना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा धार्मिक अनुष्ठानसहित पूजा सम्पन्न गरिएको हो।
यससँगै निर्माणाधीन जालपादेवी केबलकार परियोजनाको काम पनि तीव्र गतिमा अघि बढिरहेको कम्पनीले जनाएको छ। आइएमई समूहको मुख्य लगानीमा निर्माण भइरहेको परियोजना आगामी दुई महिनाभित्र व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
करिब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनाअन्तर्गत पोल ठड्याउने, बटम र टप स्टेशन निर्माणलगायतका पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ। अब तार तान्ने र गोण्डोला जडान गर्ने मुख्य प्राविधिक कार्य सुरु हुने कम्पनीको भनाइ छ।
कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म ३.१ किलोमिटर लामो केबलकारको बटम स्टेशनमा पाँचतारे होटल, क्यासिनो, ब्यांक्वेट हललगायत संरचना निर्माण भइरहेका छन्। टप स्टेशनमा रिसोर्ट, मन्दिर, स्काई वाक, पदमार्ग, रेष्टुरेन्ट र बाल उद्यानलगायत पर्यटकीय पूर्वाधार विकास भइरहेको छ।
मूर्तिको पदस्थापना कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्माण गर्ने आयोजनाहरू समय, लागत र गुणस्तरमा सम्पन्न गर्ने क्षमता प्रमाणित गर्दै आएको उल्लेख गर्दै जालपादेवी केबलकार पनि निर्धारित समयमै सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले पर्यटन पूर्वाधारमा लगानी विस्तार नगरी नेपालको आर्थिक रूपान्तरण सम्भव नहुने बताउँदै सातै प्रदेशमा यस्ता ठूला पर्यटकीय आयोजना निर्माण गर्ने दीर्घकालीन लक्ष्य रहेको जानकारी दिनुभयो।
स्थानीय व्यवसायी र समुदायले यस परियोजनाले सुदूरपश्चिमको पर्यटन, व्यापार, होटल, यातायात र रोजगारीमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। साथै, भारतीय सीमा नजिकको सहज पहुँचका कारण उत्तराखण्ड, उत्तर प्रदेश तथा अन्य भारतीय सहरबाट आउने पर्यटकका लागि जालपादेवी केबलकार प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।