प्रभातफेरी अनलाइन२२ पटक पढिएको प्रकाशित मिति: १० घण्टा अघि (१० घण्टा अघि)
काठमाडौँ , युनाइटेड अरब इमिरेट्स (यूएई)का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयुदीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ।
आज बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा व्यापार, लगानी, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल रूपान्तरण, पर्यटन, श्रम आप्रवासन, पूर्वाधार, नवीकरणीय ऊर्जा तथा सार्वभौम सम्पत्ति कोषमार्फत प्राथमिकताका क्षेत्रमा लगानी विस्तारलगायत नेपाल–यूएई द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल–यूएई कूटनीतिक सम्बन्धको आसन्न स्वर्णजयन्तीलाई ऐतिहासिक अवसरका रूपमा उपयोग गर्दै नेपालका विभिन्न परियोजनामा यूएईको लगानी सुनिश्चित गर्न नेपाल सरकार इच्छुक रहेको बताएका थिए।
उनले कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भइसकेपछि पनि प्रहरी प्रतिवेदनको थप प्रमाणीकरण गर्नुपर्ने व्यवस्थालाई हटाउन यूएई सरकारसँग आग्रह गरेका थिए।