प्रभातफेरी अनलाइन२१ पटक पढिएको प्रकाशित मिति: १ दिन अघि (१ दिन अघि)
काठमाडौँ, सूचना तथा सञ्चार मन्त्रालयले नेपालको सुरक्षा, शान्ति–व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा प्रतिकूल असर पर्ने कुनै पनि चलचित्रलाई प्रदर्शन अनुमति नदिइने स्पष्ट गरेको छ।
मन्त्रालयले चलचित्र विकास बोर्डलाई परिपत्र जारी गर्दै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८(३) को व्यवस्था स्मरण गराएको हो। उक्त दफाअनुसार नेपालको सुरक्षा, शान्ति र व्यवस्था वा मित्रराष्ट्रसँगको सुमधुर सम्बन्धमा प्रतिकूल प्रभाव पार्ने चलचित्र वा त्यसका कुनै अंशलाई चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिन नसक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
परिपत्रमा नेपालभित्र सार्वजनिक प्रदर्शन हुने सबै चलचित्रले जाँच समितिबाट ऐन तथा नियमावलीअनुसार अनिवार्य रूपमा जाँचपास गराउनुपर्ने उल्लेख गर्दै निर्माता, वितरक तथा सम्बन्धित सबै पक्षलाई कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले ऐनविपरीतका विषयवस्तु समेटिएका चलचित्र जाँचका लागि आएमा दफा ८(३) बमोजिम प्रदर्शन अनुमति नदिइने स्पष्ट गर्दै उक्त व्यवस्था सबै सरोकारवालालाई जानकारी गराउन चलचित्र विकास बोर्डलाई अनुरोध गरेको छ।