प्रभातफेरी अनलाइन२९ पटक पढिएको प्रकाशित मिति: ७ घण्टा अघि (७ घण्टा अघि)
काठमाडाैं, काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका खम्बा र सडकपेटीमा अव्यवस्थित रूपमा झुण्डिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार हटाउन सरकारले समयसीमासहितको कार्ययोजना लागू गर्ने भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा आज बसेको उच्चस्तरीय अन्तरनिकाय बैठकले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा आईस्पानलाई साउन दोस्रो साताभित्र पहिलो चरणमा उपत्यकाका ६ क्षेत्रमा प्रयोगविहीन तार व्यवस्थापन गर्न निर्देशन दिएको हो।
पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोँगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा तार हटाउने काम गरिनेछ।
बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई समन्वयकारी निकायको भूमिका दिने, सबै सेवा प्रदायकलाई आफ्ना तारमा अनिवार्य रूपमा पहिचान खुल्ने ‘ट्याग’ राख्न निर्देशन दिने तथा नियमित प्रगति समीक्षा गर्दै नागरिकले प्रत्यक्ष परिणाम महसुस गर्ने गरी काम अघि बढाउने निर्णय गरेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले अव्यवस्थित तार सबै निकायको साझा कमजोरीका कारण भएको भन्दै अब समाधानलाई प्राथमिकता दिनुपर्ने बताए। उनले प्रयोगविहीन केबल तत्काल हटाउन, स्पष्ट समयसीमासहित कार्ययोजना कार्यान्वयन गर्न र सेवा प्रदायकलाई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वयमार्फत दीर्घकालीन समाधान खोजिने बताए। उनले पाइलट परियोजनाका रूपमा निश्चित क्षेत्रमा काम सुरु गरी त्यसको अनुभवका आधारमा अन्य क्षेत्रमा विस्तार गरिने जानकारी दिए।
बैठकमा सेवा प्रदायकहरूले वर्षायाम, सडक क्षेत्रमा काम गर्ने समयको सीमितता र तारको स्वामित्व पहिचान गर्न कठिनाइजस्ता चुनौती रहेको बताएका छन्। नेपाल टेलिकमले एक महिनाभित्र आफ्ना सबै तारमा ट्यागिङ गर्ने प्रतिबद्धता जनाएको छ भने एनसेल र आईस्पानले पनि तार व्यवस्थापनको काम तीव्र बनाउने बताएका छन्।