logo
२०८३ अषाढ ३१, बुधबार |
📰
🔍

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: १ घण्टा अघि (१ घण्टा अघि)
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं — देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ। विभागका अनुसार चालु वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ।

कृषि विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको भए पनि यस वर्ष हालसम्म ५० प्रतिशत मात्रै रोपाइँ भएको जानकारी दिए। पर्याप्त वर्षा ढिलो सुरु भएका केही क्षेत्रमा रोपाइँको गति प्रभावित भएको विभागको भनाइ छ।

प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। त्यसपछि गण्डकी प्रदेशमा ६५ दशमलव ९ प्रतिशत, कर्णाली प्रदेशमा ६० प्रतिशत, लुम्बिनी प्रदेशमा ५९ प्रतिशत तथा बागमती प्रदेशमा ५७ दशमलव १ प्रतिशत रोपाइँ भएको छ।

यता, कोशी प्रदेशमा ३२ प्रतिशत र मधेश प्रदेशमा ३२ दशमलव ७ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ, जसले ती प्रदेशमा रोपाइँको गति तुलनात्मक रूपमा सुस्त रहेको देखाएको छ।

कृषि विभागका अनुसार देशका अधिकांश क्षेत्रमा अहिले नियमित वर्षा भइरहेकाले आगामी एक साताभित्र धान रोपाइँको दर उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ। बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ कार्य अझ तीव्र हुने विभागले विश्वास व्यक्त गरेको छ।