प्रभातफेरी अनलाइन७ पटक पढिएको प्रकाशित मिति: ७ घण्टा अघि (७ घण्टा अघि)
काठमाडौं, लिटिल एन्जल्स स्कुलले रोमाञ्चक फाइनलमा काष्ठमण्डप विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको आईविबी किड्स कप २०२६ को उपाधि जितेको छ। फाइनल खेल आइतबार, जुलाई १२, २०२६ मा सम्पन्न भएको थियो ।
आईविबी नेपालको आयोजनामा सम्पन्न प्रतियोगिता १० वर्षमुनिका बाल फुटबल खेलाडीलाई लक्षित अन्तरविद्यालय फुटबल प्रतियोगिता हो। फिफा विश्वकपको अवधारणाबाट प्रेरित प्रतियोगितामा ज्ञानोदय बालबाटिका स्कुल, डीएभी स्कुल, दरबार हाई स्कुल, प्राइम ग्लोबल स्कुल, काष्ठमण्डप विद्यालय, लिटिल एन्जल्स स्कुल, क्याम्पियन स्कुललगायत आठ विद्यालयले आठ फरक देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताले बाल खेलाडीलाई प्रतिस्पर्धा, टिमवर्क, खेल भावना र उत्साहले भरिएको सानो विश्वकपको अनुभव दिलाएको आयोजकले जनाएको छ।

लिटिल एन्जल्स र काष्ठमण्डपबीचको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। निर्धारित समयको रोमाञ्चक खेलमा लिटिल एन्जल्सले ३–२ को जित निकाल्दै उपाधि उचाल्यो भने काष्ठमण्डप विद्यालय प्रथम उपविजेतामा सीमित भयो।
प्रतियोगितामा लिटिल एन्जल्स स्कुलका आशुतोष पाण्डे सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भए। काष्ठमण्डप विद्यालयका सम्राट विक्रम शाह उत्कृष्ट गोलरक्षक घोषित हुँदै व्यक्तिगत पुरस्कार जित्न सफल भए।
समापन समारोहमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले विजेता टोलीलाई ट्रफी प्रदान गरेका थिए। त्यस्तै, मञ्चका प्रथम उपाध्यक्ष प्रज्वल ओलीले सर्वोत्कृष्ट खेलाडी (एमभीपी) र उत्कृष्ट गोलरक्षकसहित व्यक्तिगत विधाका विजेतालाई पुरस्कार तथा ट्रफी प्रदान गरे।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष निरञ्जन अधिकारीले बालबालिका तथा ग्रासरुट खेलकुदमा लगानी आवश्यक रहेको उल्लेख गर्दै आईविबी नेपालको पहलको प्रशंसा गरे। “हाम्रो देशका लागि यस्तो कार्यक्रम आवश्यक थियो। यो हाम्रो भविष्यको तयारी हो। यस्तो उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा म आईविबी नेपाललाई धन्यवाद दिन चाहन्छु,” उनले भने। उनले प्रतियोगितामा सहभागी सबै आठ टोलीको प्रदर्शन, खेलाडीहरूको प्रतिभा, उत्साह र खेलभावनाको पनि प्रशंसा गरे।
आईविबी किड्स कप २०२६ को औपचारिक उद्घाटन जुलाई ९, २०२६ मा गरिएको थियो। उद्घाटन समारोहका प्रमुख अतिथि प्रख्यात हवाई उड्डयनकर्मी तथा सेलिब्रिटी क्याप्टेन विजय लामाले युवा खेलाडीहरूको खेल भावना र प्रतिभाको प्रशंसा गर्दै उनीहरू भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा पुग्ने विश्वास व्यक्त गरेका थिए।

“यो एक अद्भुत कार्यक्रम हो। यी प्रतिभाशाली बालबालिकाले देखाएको खेल भावना देखेर म अत्यन्त प्रभावित भएको छु। उनीहरू हाम्रो भविष्य हुन् र एक दिन उनीहरूलाई फिफा विश्वकपमा खेलिरहेको देख्न पाउने आशा गर्दछौं,” क्याप्टेन लामाले उद्घाटन समारोहमा भनेका थिए।
आयोजकका अनुसार आईविबी किड्स कप २०२६ को सफल समापनले बालबालिका, विद्यालय, परिवार र समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाएको छ। प्रतियोगिताको उद्देश्य केवल विजेता छनोट गर्नु मात्र नभई युवा खेलाडीलाई प्रतिस्पर्धा गर्ने, मित्रता निर्माण गर्ने, आत्मविश्वास विकास गर्ने तथा टिमवर्क र निष्पक्ष खेलका मूल्य व्यवहारमै सिक्ने अवसर प्रदान गर्नु पनि रहेको जनाएको छ।