प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ श्रावण ९, शनिबार
काठमाडौं, स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको एक महत्वपूर्ण बैठक काठमाडौंको हात्तिसारस्थित हिमालयन रेस्टुरेन्टमा सम्पन्न भएको छ। बैठकले आगामी आइतबार दिउँसो १२:३० बजे हिमालयन रेस्ट्रो तथा इभेन्टको सभाहलमा सूचना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
बैठकमा सहभागी व्यवसायीहरूले हाल लागू हुने तयारीमा रहेको ‘शैक्षिक परामर्श सेवा सम्बन्धी नियमावली, २०८३’ का प्रावधानबारे विस्तृत छलफल गरेका थिए। नियमावलीमा रहेका केही जटिल, अव्यावहारिक तथा व्यवसाय सञ्चालनमा चुनौती सिर्जना गर्न सक्ने व्यवस्थाबारे व्यवसायीहरूलाई जानकारी गराउनुका साथै यसअघि सरकार र सरोकारवालाबीच भएका वार्ताबारे पनि जानकारी गराइने जनाइएको छ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नियमावलीका प्रावधानबारे स्पष्ट जानकारी प्रदान गर्नु, व्यवसायीहरूबीच अनुभव र सुझाव आदान–प्रदान गर्नु तथा व्यवहारमा देखिएका समस्याको साझा समाधान खोज्नु रहेको छ। साथै, कार्यान्वयनमा कठिनाइ उत्पन्न गर्ने बुँदालाई व्यावहारिक र व्यवसायमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराउने विषयमा पनि छलफल हुने बताइएको छ।
बैठकमा सहभागीहरूले वैदेशिक शिक्षा प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएको शैक्षिक परामर्श क्षेत्रका नीति तथा नियम निर्माण गर्दा सरोकारवाला व्यवसायीहरूको अनुभव र सुझावलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। उनीहरूले विद्यार्थीको हित, सेवा प्रवाहको गुणस्तर र व्यवसायको दिगोपनलाई ध्यानमा राखेर व्यावहारिक नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
आगामी कार्यक्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा नियमावलीका विभिन्न पक्ष, त्यसले व्यवसायमा पार्ने प्रभाव, सम्भावित समाधानका उपाय तथा सरकारसमक्ष राखिने साझा सुझावबारे विस्तृत छलफल हुने आयोजकले जनाएको छ।
कार्यक्रममा सञ्चारकर्मी, शैक्षिक परामर्श व्यवसायी, सरोकारवाला व्यक्तित्व तथा सम्बन्धित पक्षहरूको पनि सहभागिता रहने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमबाट प्राप्त सुझाव तथा निष्कर्ष सम्बन्धित सरकारी निकायसमक्ष औपचारिक रूपमा प्रस्तुत गरी नियमावलीलाई थप व्यावहारिक, सहज र प्रभावकारी बनाउन पहल गरिने आयोजकको भनाइ छ।
आयोजकले सम्पूर्ण स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालालाई कार्यक्रममा सहभागी भई आफ्ना धारणा, सुझाव र अनुभव साझा गर्न आग्रह गरेको छ।