प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ श्रावण ९, शनिबार
काठमाडौं, भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। निट (NEET) पेपर लिक प्रकरणलाई लिएर उनीविरुद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरसहित देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको थियो।
प्रधानले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो राजीनामाको जानकारी दिएका हुन्। उनले देशको वर्तमान परिस्थितिको दुरुपयोग राष्ट्रविरोधी शक्तिहरूले नगरून्, राष्ट्रिय एकता कायम रहोस् र कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नपरोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताएका छन्।
उनले विद्यार्थीहरू आन्दोलन र विवादभन्दा अध्ययन तथा आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सकून् भन्ने चाहनासहित पद त्यागेको उल्लेख गरेका छन्।
यसअघि कांग्रेससहितका विपक्षी दलहरूले पनि निट पेपर लिक प्रकरणको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए।