प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको MGT 515: Organizational Behavior विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विश्वविद्यालयको परीक्षा प्रणालीको गोपनीयता र सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
गत बिहीबार दिउँसो १२ बजेदेखि सञ्चालन भएको परीक्षाको प्रश्नपत्र १२ बजेर ६ मिनेटमै विभिन्न ह्वाट्सएप समूह र फेसबुकमा भाइरल भएको थियो। सामान्यतया परीक्षा सुरु हुनुअघि केन्द्राध्यक्षको उपस्थितिमा मात्र शिलबन्दी खोलिने व्यवस्था रहेकाले यति छोटो समयमा प्रश्नपत्र बाहिरिनुले परीक्षा केन्द्रको सुरक्षा व्यवस्थामाथि नै प्रश्न खडा गरेको छ।
घटनापछि त्रिवि व्यवस्थापन सङ्कायका डिन प्रा.डा. महानन्द चालिसेले आइतबार बिहान ७:३० बजे आकस्मिक बैठक बोलाएका छन्। बैठकले डिन कार्यालय र विश्वविद्यालयको संयुक्त छानबिन समिति गठन गरी घटनाको सत्यतथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
यसैबीच, त्रिविले अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई औपचारिक पत्राचार गरेको छ। प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्न प्रयोग भएका मोबाइल नम्बर, च्याट र अन्य डिजिटल प्रमाणका आधारमा साइबर ब्युरोले अनुसन्धान सुरु गरेको जनाएको छ।
डिन चालिसेले भने प्रश्नपत्र परीक्षा सुरु हुनुअघि ‘लिक’ नभएको दाबी गर्दै परीक्षा सुरु भएपछि कसैले मोबाइलबाट फोटो खिचेर बाहिर पठाएको हुन सक्ने बताएका छन्।
घटनाप्रति त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गम्भीर आपत्ति जनाएको छ। स्ववियु सभापति दीपक राज जोशीले दुई दिनभित्र निष्पक्ष छानबिन गरी दोषी सार्वजनिक गर्न माग गर्दै त्यसो नभए व्यवस्थापन सङ्कायका डिन र परीक्षा हेर्ने सहायक डिनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताएका छन्।
व्यवस्थापन सङ्कायका सहायक डिन डा. भरत राईले साइबर ब्युरोलाई पठाएको पत्रमा प्रश्नपत्रसम्बन्धी सामग्री विभिन्न ह्वाट्सएप समूहमा पोस्ट भएको जानकारी ‘टीयू स्टुडेन्ट’ नामक फेसबुक आईडीमार्फत प्राप्त भएको उल्लेख गर्दै घटनामा संलग्न व्यक्ति, संस्था तथा सम्भावित परीक्षा केन्द्रको पहिचान गरी कानुनबमोजिम कारबाहीका लागि आवश्यक अनुसन्धान गर्न अनुरोध गरेका छन्।