प्रभातफेरी अनलाइन६ पटक पढिएको | ३३ मिनेट अघि
काठमाडौं, भारतको Hero MotoCorp अन्तर्गतको विद्युतीय दुईपांग्रे ब्रान्ड VIDA ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ। नेपाल प्रवेशसँगै कम्पनीले आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गरेको जनाएको छ।
नेपाली बजारमा VIDA को VX2 EVOOTER सिरिज र युवापुस्तालाई लक्षित DIRT.E K3 विद्युतीय अफ–रोड बाइक उपलब्ध हुनेछन्। यी उत्पादन नेपालमा चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्समार्फत आधिकारिक रूपमा बिक्री हुनेछन्।
दैनिक आवतजावतलाई लक्षित गरी निर्माण गरिएको VIDA VX2 EVOOTER ले अत्याधुनिक प्रविधि, उच्च रेन्ज र स्मार्ट कनेक्टेड फिचरहरू समेटेको कम्पनीले जनाएको छ। यस मोडलले JD Power को Two-Wheeler Initial Quality Study मा समेत उत्कृष्ट स्थान हासिल गरेको दाबी कम्पनीको छ।
VX2 EVOOTER का दुई भेरियन्ट
VIDA VX2 EVOOTER दुई भेरियन्टमा उपलब्ध हुनेछ—VX2 Plus र VX2 Go।
VX2 Plus मा ४.४ kWh क्षमताको दुईवटा निकाल्न मिल्ने ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले वास्तविक प्रयोगमा करिब १४० किलोमिटरसम्मको रेन्ज दिन्छ भने यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ। यसले ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.१ सेकेन्डमा हासिल गर्न सक्छ।
त्यस्तै, VX2 Go मा २.२ kWh क्षमताको निकाल्न मिल्ने ब्याट्री रहेको छ। यसले करिब ७५ किलोमिटरसम्मको वास्तविक रेन्ज दिने र अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्ने कम्पनीले जनाएको छ।
दुवै मोडलमा DC Fast Charging को सुविधा रहेको छ। जसअनुसार ६५ मिनेटमा ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ। निकाल्न मिल्ने ब्याट्रीलाई घरमै सामान्य ५ एम्पियरको सकेटबाट समेत चार्ज गर्न सकिने कम्पनीको भनाइ छ।
यी मोडलमा My VIDA App, नेभिगेसन, जियो–फेन्सिङ, कल तथा एसएमएस सूचना र Over-the-Air (OTA) अपडेट जस्ता स्मार्ट कनेक्टेड सुविधा उपलब्ध छन्।
युवापुस्ताका लागि DIRT.E K3 अफ–रोड बाइक
VIDA DIRT.E K3 विशेषगरी किशोर तथा युवा राइडरलाई लक्षित गरी तयार गरिएको विद्युतीय अफ–रोड बाइक हो। प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार तीन फरक साइजमा समायोजन गर्न सकिने Adaptive System यसमा रहेको कम्पनीले जनाएको छ।
बाइकमा App-based Parental Control सुविधा पनि उपलब्ध छ। यसमार्फत अभिभावकले बाइकको अधिकतम गति नियन्त्रण गर्न तथा आवश्यक स्पिड मोड चयन गर्न सक्नेछन्। यसमा ८–९, १७–१८ र २३–२४ किलोमिटर प्रतिघण्टाको तीन फरक स्पिड मोड उपलब्ध छन्।
३५० वाटको मोटर र निकाल्न मिल्ने ब्याट्रीबाट सुसज्जित यस बाइकले प्रयोगको मोड र सडक अवस्थाअनुसार तीन घण्टासम्म राइडिङ अनुभव प्रदान गर्न सक्ने कम्पनीको दाबी छ। ब्याट्री २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब दुई घण्टा लाग्नेछ।
उत्कृष्ट डिजाइन र नवीन प्रविधिका लागि VIDA DIRT.E K3 ले Red Dot Design Award 2025 र CES Innovation Award 2026 समेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।
‘नेपालबाट VIDA को अन्तर्राष्ट्रिय यात्रा सुरु हुनु गर्वको विषय’
Hero MotoCorp अन्तर्गत Emerging Mobility Business Unit की Chief Business Officer कौशल्या नन्दकुमारले VIDA को अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु कम्पनीका लागि गर्वको विषय भएको बताइन्।
नेपाल विद्युतीय सवारीप्रति आकर्षण तीव्र रूपमा बढिरहेको रणनीतिक बजार भएको उल्लेख गर्दै उनले भारतमा विकसित इन्जिनियरिङ तथा डिजाइन क्षमतालाई नेपाली ग्राहकसम्म पुर्याउन पाउँदा उत्साहित रहेको बताइन्। सीजी मोटर्ससँगको सहकार्यमा नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र अत्याधुनिक विद्युतीय दुईपांग्रे अनुभव प्रदान गर्ने उनको भनाइ छ।
त्यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको बताए। VIDA को नेपाल प्रवेशले विद्युतीय गतिशीलताको विकासलाई थप गति दिने विश्वास व्यक्त गर्दै उनले नयाँ पुस्ता र दैनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएका उत्पादनले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने दाबी गरे।
सन् २०१४ देखि नेपाली बजारमा उपस्थित Hero MotoCorp ले VIDA को प्रवेशसँगै नेपालमा स्मार्ट, दिगो र भविष्यमुखी विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु भएको जनाएको छ।
कम्पनीका अनुसार उल्लेखित रेन्ज, गति तथा चार्जिङ समय आन्तरिक परीक्षणमा आधारित हुन्। वास्तविक प्रयोगमा सडक अवस्था, मौसम, ड्राइभिङ शैली र अन्य कारकका कारण परिणाम फरक पर्न सक्नेछ।