logo
२०८३ श्रावण ११, सोमबार |
📰
🔍

सुनसरीमा कर्फ्युबीच प्रदर्शन उग्र, तोडफोड र आगजनीपछि सेना परिचालन

प्रभातफेरी अनलाइन५ पटक पढिएको | २४ मिनेट अघि
सुनसरीमा कर्फ्युबीच प्रदर्शन उग्र, तोडफोड र आगजनीपछि सेना परिचालन

काठमाडौं, सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव सोमबार पनि जारी रहेको छ। कर्फ्यु लागू हुँदाहुँदै प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि स्थिति थप तनावपूर्ण बनेको छ।

सोमबार बिहानदेखि देवानगञ्जसहित पूर्व–पश्चिम राजमार्गअन्तर्गत लौकही क्षेत्रमा प्रदर्शन भएको छ। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीहरूले विभिन्न स्थानमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा केही स्थानीय पसलमा तोडफोड तथा आगजनी भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो टोली परिचालन गरिए पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि नेपाली सेना परिचालन गरिएको छ।

आइतबार राति देवानगञ्ज–३ कप्तानगन्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र आसपासका पाँच क्षेत्रमा सोमबार बिहानदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ।