प्रभातफेरी अनलाइन१० पटक पढिएको | १ घण्टा अघि
काठमाडौं, नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले सोमबार काठमाडौंको घण्टाघरमा प्रदर्शन गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्।
शनिबार उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राम गम्भीरमाथि आक्रमण गरेका थिए। आक्रमणमा घाइते भएका डा. गम्भीरको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
प्रदर्शनकारीहरूले ‘दोषीलाई कारबाही गर’, ‘निलम्बन फिर्ता गर’ र ‘डाक्टर प्रमोदलाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। घटनाको छानबिनका लागि अस्पतालले समिति गठन गरेको छ भने प्रतिवेदन नआउञ्जेल उपचारमा संलग्न पाँच स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाइएको छ।