logo
२०८३ श्रावण १२, मंगलबार |
📰
🔍

देवानगञ्जको अवस्था सामान्यतर्फ, निषेधाज्ञापछि सुरक्षा व्यवस्था कडा

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | १ घण्टा अघि
देवानगञ्जको अवस्था सामान्यतर्फ, निषेधाज्ञापछि सुरक्षा व्यवस्था कडा

काठमाडौं, सुनसरीको देवानगञ्जमा दुई स्थानीय समूहबीच भएको झडपपछि उत्पन्न अवस्था क्रमशः सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको उपचारका क्रममा निधन भएको थियो। घटनामा सुरक्षा फौजका १५ जना र स्थानीय ११ जना घाइते भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार घाइतेहरूको उपचार भइरहेको छ।

देवानगञ्ज, हरिनगरा, कप्तानगञ्ज, लौकही र इनरुवालगायत क्षेत्रमा तोडफोड तथा आगजनीका घटना भएपछि स्थानीय प्रशासनले ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं नायब उपरीक्षक चन्द्र खड्काका अनुसार हाल घटनास्थलको अवस्था नियन्त्रणमा छ। यद्यपि पूर्व–पश्चिम राजमार्गको दक्षिणी भेगका केही बजार अझै बन्द रहेका छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा सोमबार सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रशासनले घटनालाई थप साम्य पार्न तथा जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।