प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं, पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै यसलाई आफूले अघि सारेको दूरदर्शी राष्ट्रिय सङ्कल्पको सफल कार्यान्वयनको रूपमा व्याख्या गरेका छन्।
हाल चीनको बेइजिङमा रहेका खनालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै काठमाडौँ उपत्यकामा प्रवेश गर्ने र बाहिरिने लाखौँ नागरिकले वर्षौँदेखि भोग्दै आएको ट्राफिक जाम र सास्तीलाई अन्त्य गर्ने उद्देश्यले आफूले यो आयोजना अघि बढाएको बताएका छन्।
उनले वि.सं. २०६७ माघ २३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन हस्ताक्षर गरेको पहिलो फाइल नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणसँग सम्बन्धित रहेको स्मरण गरेका छन्। साथै, २०६७ माघ २७ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनालाई स्वीकृति दिएको र वि.सं. २०६८ मा नीतिगत रूपमा अघि बढाउने निर्णय भएको उल्लेख गरेका छन्।
खनालका अनुसार आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत आयोजनाका लागि बजेट विनियोजन गरिएको थियो। उनले सुरुङमार्ग सञ्चालनमा आउनुलाई दूरदृष्टि, अटल अठोट, नीतिगत निरन्तरता र राष्ट्रिय प्रतिबद्धताको प्रतिफलका रूपमा वर्णन गरेका छन्।