प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ श्रावण १३, बुधबार
काठमाडौं, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा रहेको नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेड ले १४औँ स्थापना दिवस तथा वार्षिक साधारण सभा बर–पिपलको बिरुवा रोपेर सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बरको र वडा नं. १४ का अध्यक्ष उद्धव नेपालले पिपलको बिरुवा रोपेर गरेका थिए। थानबारेगढी जन्मोत्सव पार्क, घमानेडाँडामा आयोजित कार्यक्रममा वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले वृक्षारोपण गरिएको हो।

नगरप्रमुख सापकोटाले सहकारीहरू स्थानीय आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कृषि उत्पादन, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा सहकारीको भूमिका उल्लेखनीय रहेको बताए। उत्पादन, उत्पादकत्व र बजार व्यवस्थापनमा सहकारीहरूले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। उनले राष्ट्रिय कलाकार स्व. लालबहादुर खाती र पण्डित विद्यापति सापकोटाको सालिकसहित निर्माण गरिएको जन्मोत्सव पार्क राष्ट्रिय पहिचान बोकेको सम्पत्ति भएको पनि बताए।
वडा अध्यक्ष उद्धव नेपालले नेत्रज्योति कृषि सहकारीले विगत १४ वर्षदेखि स्थानीय कृषि विकास र सदस्यहरूको आर्थिक–सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
कार्यक्रममा जिल्ला बार इकाई सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्र थिङ, नेपाल राष्ट्रिय वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष जनक गिरी, जनमिलन बचत तथा ऋण सहकारीका अध्यक्ष शेरबहादुर श्रेष्ठ तथा जनहित दुग्ध उत्पादन सहकारीका अध्यक्ष बद्रीप्रसाद नेपाललगायतले शुभकामना व्यक्त गरेका थिए।
साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी वर्षका कार्यक्रम प्रस्तुत गरिएको थियो। सदस्यहरूले कृषि सीप विकास, उत्पादनको बजारीकरण र सदस्यहरूको क्षमता अभिवृद्धिमा थप ध्यान दिन सुझाव दिएका थिए।
वि.सं. २०६९ मा स्थापना भएको संस्थाले कृषि उत्पादन वृद्धि, प्रविधि हस्तान्तरण तथा सामुदायिक गतिविधिमार्फत स्थानीय कृषकलाई संगठित गर्दै आएको जनाएको छ। स्थापना दिवसको अवसरमा हलगोरु पाल्ने कृषक रामबहादुर सार्की, बाँझो जमिनमा खेती गर्ने चोकबहादुर बस्नेत तथा राम्चे सामुदायिक वनका अध्यक्ष बलराम बस्नेतलाई सम्मान गरिएको थियो।
यसैबीच, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ ले तातोपानी–कोदारी सडक तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
संघका अध्यक्ष बुद्धराज बस्नेतले जारी गरेको विज्ञप्तिमा वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने तातोपानी नाका लामो समयदेखि अवरुद्ध हुँदा सरकारको पर्याप्त चासो नदेखिएको उल्लेख गरिएको छ।
असार ३१ गते भोटेकोशी गाउँपालिका–२ स्थित ‘इको पहिरो’का कारण सडक अवरुद्ध भएपछि १५० भन्दा बढी मालवाहक कन्टेनर रोकिएका छन् भने फलफूल बोकेका कन्टेनरसमेत जाममा परेका कारण व्यवसायीलाई ठूलो आर्थिक क्षति पुगेको संघले जनाएको छ।
उद्योग वाणिज्य संघले तातोपानी नाका राजधानी नजिकको दोस्रो ठूलो राजस्व संकलन गर्ने नाका भएकाले यसको सञ्चालनमा सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेको छ। अध्यक्ष बस्नेतले विगतमा पनि उद्योग वाणिज्य संघ, हिमालय सीमापार तथा ट्रक कन्टेनर व्यवसायी संघले आफ्नै पहलमा सडक खुलाउने काम गर्दै आएको उल्लेख गरेका छन्।