प्रभातफेरी अनलाइन२७ पटक पढिएको | २०८३ श्रावण १४, बिहिबार
काभ्रे / आँखाको क्षेत्रमा संवेदनशील रहदै आएको रेयूकाई एइको मासुनागा आँखा अस्पताल (REMEH)बनेपा र धुलिखेल नगरपालिका बीच नगरवासीलाई सहज र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ ।
रेयूकाई एइको मासुनागा आँखा अस्पताल (REMEH) सँग मोतियाबिन्दु न्यूनीकरण अभियान सञ्चालन गर्ने सम्बन्धमा आज एक समारोह बीच सम्झौता गरेको धुलिखेल नपाका स्वास्थ शाखा प्रमुख संदिप केसिले जानकारी गराउनु भएको छ ।
सम्झौतापत्रमा कार्यबाहक नगर प्रमुख निराजन जंगम र अस्पतालका प्रतिनिधिबीच बिहीबार हस्ताक्षर भएको हो ।
सम्झौता भनिए अनुसार धुलिखेल नगरपालिकाका नागरिकहरूले निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, निःशुल्क रेटिना शल्यक्रिया तथा निःशुल्क एभास्टिन (Avastin) सेवा प्राप्त गर्नेछन् ।
नगरपालिकाका अनुसार यो अभियानले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ । समयमै उपचार पाउँदा दृष्टि गुमाउने जोखिम कम हुनुका साथै नगरवासीको जीवनस्तरमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको शाखा प्रमुख केसिले बताउनु भएको छ ।
सम्झौता कार्यक्रममा धुलिखेल नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा रेयूकाई एइको मासुनागा आँखा अस्पतालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
धुलिखेल नगरपालिका र रेयूकाई एइको मासुनागा आँखा अस्पतालबीचको यो सहकार्यलाई स्थानीय स्वास्थ्य सेवामा नयाँ उपलब्धिका रूपमा हेरिएको छ । नगरवासीको आँखाको स्वास्थ्य संरक्षण र उपचार सेवाको पहुँच विस्तार गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास अस्पतालका अधिकृत हिरामणी शर्माले बताउनु भयो।