logo
२०८३ श्रावण १५, शुक्रबार |
📰
🔍

सुनसरी तनावबीच धार्मिक अगुवाहरूको संयुक्त अपिल– संयम अपनाउन र सामाजिक सद्भाव जोगाउन आग्रह

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ श्रावण १५, शुक्रबार
सुनसरी तनावबीच धार्मिक अगुवाहरूको संयुक्त अपिल– संयम अपनाउन र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौ / सुनसरीलगायतका जिल्लामा केही दिनयता देखिएको तनावका बीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयम अपनाउन तथा सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन संयुक्त अपिल गरेका छन्।

शुक्रबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्तापछि विश्व हिन्दु महासंघ, अल सलाम सोसाइटी र जमिअत उलमा ए नेपाल का प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै धर्मको नाममा हिंसा फैलाउने प्रयासप्रति सचेत रहन आग्रह गरेका हुन्।

संयुक्त विज्ञप्तिमा सबै धर्मको मूल भावना मानवकल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचारा सुदृढ गर्नु रहेको उल्लेख गर्दै उत्तेजनात्मक, घृणात्मक तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहन सबै नागरिकलाई अनुरोध गरिएको छ।

धार्मिक अगुवाहरूले सामाजिक एकता संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक नेतृत्व, नागरिक समाज, सञ्चारमाध्यम र अन्य सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव पुनर्स्थापित गर्न सक्रिय हुन आग्रह गरेका छन्।

विज्ञप्तिमार्फत सबै नेपालीलाई शान्ति, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन तथा हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न पनि आह्वान गरिएको छ।