प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण १७, आईतबार
काठमाडौ / बजारमा नक्कली उत्पादनको बिक्री–वितरण भइरहेको सूचना सार्वजनिक भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले तत्काल बिक्री–वितरण रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिनुभएको छ।
निर्देशनपछि विभागले बजार अनुगमन तीव्र बनाउँदै सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको जनाएको छ। ती उत्पादनहरूको गुणस्तर र मौलिकता परीक्षणका लागि प्रयोगशालामा परीक्षण भइरहेको छ।
मन्त्री यादवले उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलवाड गर्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिनुभएको छ। साथै, बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन पनि विभागलाई आग्रह गर्नुभएको छ।
विभागका महानिर्देशक मोति सापकोटाका अनुसार बजारमा अझै केही नक्कली उत्पादनको बिक्री भइरहेको सूचना प्राप्त भइरहेकाले नियमित अनुगमन जारी छ। परीक्षण प्रतिवेदनपछि सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
विभागले उपभोक्तालाई शंकास्पद वा नक्कली उत्पादन देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको जनाएको छ।