logo
२०८३ श्रावण १८, सोमबार |
📰
🔍

वर्षायाममा जोखिमपूर्ण बन्यो विपी राजमार्ग, सावधानीपूर्वक यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह

प्रभातफेरी अनलाइन९ पटक पढिएको | १ घण्टा अघि
वर्षायाममा जोखिमपूर्ण बन्यो विपी राजमार्ग, सावधानीपूर्वक यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह

काभ्रे / २०८१ असोजको बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी सञ्चालन भए पनि वर्षापछि आउने पहिरो र खहरे खोलाका कारण यात्रा अझै कष्टकर बनेको छ।

चौकीडाँडादेखि नेपालथोकसम्मको सडकखण्डमा वर्षा हुँदा खहरे खोलामा पानी बढ्ने, ढुंगा खस्ने र पहिरो जाने जोखिमका कारण सवारी आवागमन पटक–पटक प्रभावित हुने गरेको छ। यात्रु तथा चालकहरूले घण्टौं जाममा बस्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले वर्षायाममा राजमार्गका विभिन्न स्थानमा पहिरो र ढुंगा खस्ने जोखिम उच्च रहेकाले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न, सुरक्षित गतिमा सवारी चलाउन, जोखिमयुक्त स्थानमा अनावश्यक नरोकिन र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

सडक डिभिजनका अनुसार चौकीडाँडा, चारसयबेसी, घुमाउनेबेशी, बोक्सीकुना, चिउरीबास, कालढुंगा र पिप्ले–बर्खेखोला क्षेत्र उच्च जोखिमयुक्त रहेका छन्।

यसैबीच, विपी राजमार्ग पुनर्निर्माणको काम चार खण्डमा विभाजन गरिएको छ। तीन खण्डमा निर्माण कार्य जारी रहेको छ भने चौथो खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा पुनर्निर्माण गरिनेछ।

हाल पिप्लेदेखि डालाबेशीसम्म, डालाबेशीदेखि चारसयबेसीसम्म र चारसयबेसीदेखि भकुण्डेबेशी–चौकीडाँडासम्म सडक पुनर्निर्माण भइरहेको छ। ती खण्डमध्ये क्रमशः २०, २६ र २५ प्रतिशत निर्माण सम्पन्न भएको सडक डिभिजनले जनाएको छ।