logo
२०८३ श्रावण २२, शुक्रबार |
📰
🔍

आज पाँच संसदीय समितिको बैठक, स्वास्थ्य, अर्थ र सुशासनलगायतका विषयमा छलफल हुने

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ श्रावण २१, बिहिबार
आज पाँच संसदीय समितिको बैठक, स्वास्थ्य, अर्थ र सुशासनलगायतका विषयमा छलफल हुने

काठमाडौँ / आज प्रतिनिधिसभाअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ।

बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजनाबारे छलफल हुनेछ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी त्यसमाथि छलफल गरिनेछ। सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ।

अपराह्न १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पनि प्रस्तुत गरिनेछ।

यस्तै, अपराह्न २:३० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ।