प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ श्रावण २४, आईतबार
काभ्रे / सडक डिभिजन भक्तपुरले बीपी राजमार्ग अन्तर्गतको भकुण्डेबेँसी–धुलिखेल सडकखण्डको स्तरोन्नतिका लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयार गर्ने सम्बन्धमा सार्वजनिक सूचना सार्वजनिक गरेको छ ।
सार्वजनिक सूचनाअनुसार भकुण्डेबेँसी खण्ड (दाप्चा पुल नं. २) देखि धुलिखेलसम्मको करिब २०.६ किलोमिटर सडकखण्ड स्तरोन्नति गरिनेछ । स्तरोन्नतिपछि सडकको चौडाइ १० मिटर (नालीबाहेक) कायम गर्ने प्रस्ताव गरिएको छ ।
सडक स्तरोन्नति आयोजनाको प्रभाव क्षेत्र काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा पर्ने जनाइएको छ । जस अनुसार नमोबुद्ध नगरपालिका वडा नं. १, २ र ७, पनौती नगरपालिका वडा नं. ५, पाँचखाल नगरपालिका वडा नं. ११ तथा धुलिखेल नगरपालिका वडा नं. ४, ६, ७, ९, १० र ११ प्रभावित क्षेत्रका रूपमा उल्लेख गरिएको छ ।
सडक डिभिजन भक्तपुरले वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा आयोजनाबाट त्यस क्षेत्रको जैविक तथा पारिस्थितिकीय प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली, सामाजिक तथा आर्थिक प्रणाली र सांस्कृतिक प्रणालीमा पर्न सक्ने प्रभाव पहिचान तथा मूल्याङ्कन गरिने जनाएको छ ।
यसका लागि सम्बन्धित स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्ति र संस्थाबाट राय–सुझाव माग गरिएको छ । सार्वजनिक सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित कार्यालयमा लिखित राय–सुझाव उपलब्ध गराउन अनुरोध गरिएको छ ।
धुलिखेल–भकुण्डेबेँसी सडकखण्ड बीपी राजमार्गको महत्वपूर्ण खण्ड भएकाले यसको स्तरोन्नतिसँगै सडकको क्षमता, यातायात व्यवस्थापन र यात्रु सुरक्षामा समेत सुधार हुने अपेक्षा गरिएको आयोजनाले जनाएको छ ।
