प्रभातफेरी अनलाइन२४ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
काठमाडौं / युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले नीतिगत तथा संरचनागत सुधार अघि बढाएको बताएका छन्।
विराटनगरमा श्रम तथा रोजगार कार्यालय मोरङको नयाँ भवन उद्घाटन गर्दै मन्त्री यादवले नेपालभित्रको रोजगारीलाई मर्यादित, सुरक्षित र सम्मानजनक बनाउन सरकार प्रतिबद्ध रहेको बताए। बदलिँदो श्रम बजारको आवश्यकता र श्रमिकका आकाङ्क्षा सम्बोधन गर्न नयाँ श्रम नीति निर्माण तथा श्रम ऐन संशोधनको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
सरकारले चालु वर्षलाई ‘रोजगार प्रवर्द्धन दशक’का रूपमा अघि बढाएको उल्लेख गर्दै मन्त्री यादवले कृषि, पर्यटन, हरित रोजगारी तथा केयर सेवाजस्ता क्षेत्रमा रोजगारी विस्तारका कार्यक्रम सञ्चालन गरिने बताए। रोजगारदाता र रोजगारी खोज्नेबीच समन्वय बढाउन ‘श्रम संसार’ प्रणालीलाई समेत परिमार्जन तथा स्तरोन्नति गरिएको उनको भनाइ थियो।
श्रम क्षेत्रको व्यवस्थापनमा ‘क्यारोट एन्ड स्टिक’ नीति अवलम्बन गरिने बताउँदै उनले श्रम कानुन पालना नगर्ने प्रतिष्ठानलाई कारबाहीको दायरामा ल्याउने र जिम्मेवार रोजगारदातालाई सम्मान तथा प्रोत्साहन गरिने स्पष्ट पारे।
मन्त्री यादवका अनुसार गत आर्थिक वर्षमा ३ हजार ८३० प्रतिष्ठान, ३ हजार ६३५ बालश्रमसम्बन्धी क्षेत्र तथा २२० श्रमिक आपूर्तिकर्ता कम्पनीको निरीक्षण गरिएको थियो। सो अवधिमा ७६१ श्रम विवादसमेत समाधान गरिएको उनले जानकारी दिए।