प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
रुपन्देही / सरकारले लुम्बिनी विकास कोषको सदस्यसचिव पदमा खुला प्रतिस्पर्धाका लागि आवेदन नै नदिएका सन्तोष पाण्डेयलाई नियुक्त गरेको छ।
भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालका प्रमुख सल्लाहकारसमेत रहेका पाण्डेयलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव नियुक्त गरेको हो। सोही बैठकले डा. अमित केसी, अर्जुन कुमी, उपेक्षा गुरुङ र दीपक कौशललाई कोषको परिषद् सदस्यमा मनोनयन गरेको छ।
कोषका सदस्यसचिवसहित विभिन्न ६ पदका लागि ७२७ जनाले आवेदन दिएका थिए। आधिकारिक रोस्टर सूचीअनुसार सदस्यसचिव पदका लागि २९६, सदस्य पदका लागि २२३, योजना प्रमुखका लागि ११०, उपाध्यक्षका लागि १०२ र कोषाध्यक्षका लागि ७१ जनाले आवेदन दिएका थिए।
नियुक्त भएकामध्ये अर्जुन कुमी र उपेक्षा गुरुङ मात्रै खुला प्रतिस्पर्धामा सहभागी भएका थिए। पाण्डेय, डा. केसी र कौशलको नाम भने मन्त्रालयले सार्वजनिक गरेको आधिकारिक रोस्टरमा नरहेको र उनीहरूले प्रतिस्पर्धाका लागि आवेदन नदिएको विवरणमा उल्लेख छ।
यसअघि असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्दा पनि खुला प्रतिस्पर्धा र निर्धारित मापदण्ड पालना नगरिएको भन्दै आलोचना भएको थियो। उपाध्यक्ष पदका लागि रोस्टरमा १०३ जना भए पनि प्रतिस्पर्धामा सहभागी नभएकी डोल्मालाई नियुक्त गरिएको भन्दै प्रश्न उठेको थियो।