प्रभातफेरी अनलाइन० पाठक संख्या | ३० मिनेट अघि
काठमाडौँ/ सामाजिक सञ्जालमार्फत सरकारका गलत क्रियाकलापको विरोध गरेकै आधारमा वाईसीएल नेपाल गण्डकी प्रदेश सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी कास्कीका नेता गोविन्द अधिकारीलाई पक्राउ गरिएको घटनाप्रति योङ कम्युनिष्ट लीग (वाईसीएल) नेपालले गम्भीर आपत्ति जनाएको छ।
वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको निर्देशनमा नेता अधिकारीलाई नियन्त्रणमा लिई गोरखा पुर्याइएको दाबीसहित घटनाको घोर भर्त्सना गरेका हुन्। लोकतान्त्रिक व्यवस्थामा बेथिति, भ्रष्टाचार र जनविरोधी कदमविरुद्ध खबरदारी गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै वाईसीएलले अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले निर्मम प्रहार गरेको आरोप लगाएको छ।
“सरकारको आलोचना गरेकै आधारमा राजनीतिक आस्थासँग जोडेर धरपकड गर्नु, राज्यशक्तिको दुरुपयोग गर्नु र प्रहरी प्रशासनलाई असहमतिका आवाज दबाउने माध्यम बनाउनु लोकतान्त्रिक मूल्य, मान्यता र नागरिक स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो,” विज्ञप्तिमा भनिएको छ, “हत्कडी लगाएर नागरिकको चेतना रोक्न सकिँदैन र दमनबाट विचार कैद हुँदैन।”
विज्ञप्तिमार्फत वाईसीएलले नेता गोविन्द अधिकारीलाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ। अन्यथा सरकारको निरंकुश र दमनकारी कदमविरुद्ध चरणबद्ध रूपमा सडक आन्दोलन चर्काउने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनी संगठनले दिएको छ।