प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
काठमाडौं / गम्भीर स्वास्थ्य समस्या र पुनर्स्थापनाको चुनौती सामना गरिरहेकी ज्योति महतसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले भेट गरी उनको स्वास्थ्य अवस्था, उपचार तथा आगामी आवश्यकताबारे जानकारी लिएकी छन्।
भेटका क्रममा ज्योतिले उपचारका क्रममा भोग्नुपरेका समस्या, आवश्यक सहयोग तथा आफूले भोगेको यौन हिंसाबारे मन्त्री बादीलाई जानकारी गराएकी थिइन्।
ज्योतिको अवस्थाबारे जानकारी लिएपछि मन्त्री बादीले उपचारका लागि आवश्यक सहयोग तथा स्वास्थ्य सेवामा सहजीकरण गर्ने बताइन्। यौन हिंसासम्बन्धी विषयमा न्यायका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता पनि उनले जनाइन्।
मन्त्री बादीले दीर्घकालीन पुनर्स्थापना र आत्मनिर्भरताका लागि रोजगारी तथा जीविकोपार्जनका अवसर उपलब्ध गराउन पहल गर्ने बताइन्। उपचार गराएर मात्रै राज्यको दायित्व पूरा नहुने भन्दै उनले पीडितलाई न्याय, आत्मनिर्भरता र सम्मानजनक जीवनमा फर्काउन आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिइन्।
उनले ज्योतिको स्वास्थ्य, पुनर्स्थापना र न्यायका लागि आवश्यक सहयोगका क्षेत्र पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्न मन्त्रालयका अधिकारीलाई निर्देशनसमेत दिएकी छन्।
ज्योतिले आफ्नो अवस्थाप्रति चासो राख्दै उपचार, न्याय र भविष्यका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा मन्त्री बादीप्रति आभार व्यक्त गरेकी छन्। मन्त्रालयले प्रभावित तथा जोखिममा रहेका नागरिकको उपचार, संरक्षण, न्यायमा पहुँच, पुनर्स्थापना, सामाजिक सुरक्षा र आत्मनिर्भरताका लागि उपलब्ध सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने जनाएको छ।