प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
पछिल्लो समय मुलुकका विभिन्न क्षेत्र, विशेष गरी घना बस्ती भएका सहरी इलाकाहरुका आसपासका क्षेत्रमा चोरी, डकैती र लुटपाटका घटना शृङ्खलाबद्ध रूपमा बढ्दै गएका छन्। दिउँसै घरको ताला फोरेर धनमाल चोर्ने, राति हतियार देखाएर परिवारलाई नियन्त्रणमा लिई डकैती गर्ने, र सडकमा हिँडिरहेका सर्वसाधारणको मोबाइल तथा चेन थुतेर भाग्ने गिरोहहरू सक्रिय देखिनुले नागरिकको जीउज्यान र सम्पत्तिको सुरक्षामाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। शान्ति सुरक्षाको जिम्मेवारी पाएको राज्य संयन्त्र र प्रहरी प्रशासनका लागि यो स्थिति पक्कै पनि सुखद र सामान्य होइन।विगतका घटनाक्रमलाई हेर्दा चोरीका प्रकृत्तिहरू थप योजनाबद्ध र आधुनिक बन्दै गएका छन्।
सुरक्षा निकाय परम्परागत शैलीबाट माथि उठेर प्रविधिमैत्री र आक्रामक रूपमा प्रस्तुत हुन जरुरी
चाडपर्वको समयमा मात्र नभई अन्य सामान्य दिनहरूमा पनि नागरिकहरू आफ्नै घरभित्र सुरक्षित महसुस गर्न सकिरहेका छैनन्। दिउँसोको समयमा रोजगार वा अन्य कामको सिलसिलामा घर बाहिर रहँदा वा केही दिनका लागि कतै निस्कँदा घर सखाप हुने त्रासले सर्वसाधारणलाई सताउने गरेको छ। यसले समाजमा भय, त्रास र असुरक्षाको एउटा अदृश्य वातावरण सिर्जना गरेको छ, जसले नागरिकको स्वतन्त्र रूपमा जिउन पाउने मौलिक अधिकारमाथि नै प्रहार गरिरहेको छ।
चोरी र अपराधका घटना यसरी बढ्नुका पछाडि मुख्य दुईवटा कारण देखिन्छन्। पहिलो, आर्थिक शिथिलता, बेरोजगारी र युवा पुस्तामा बढ्दो लागूऔषधको दुर्व्यसन हो, जसले सजिलै पैसा कमाउने गलत बाटोतर्फ उनीहरूलाई धकेलिरहेको छ। दोस्रो र सबैभन्दा महत्त्वपूर्ण कारण, प्रहरीको कमजोर गस्ती, फितलो अनुसन्धान र कानुनी कारबाहीको फितलोपन हो। कतिपय अवस्थामा त चोरी भएका सामानहरू कहिल्यै फेला नपर्ने र चोरहरू कानुनी छिद्रको फाइदा उठाउँदै सजिलै छुट्ने परिपाटीले गर्दा पनि अपराधीहरूको मनोबल बढेको पाइन्छ।अबका दिनमा सुरक्षा निकाय परम्परागत शैलीबाट माथि उठेर प्रविधिमैत्री र आक्रामक रूपमा प्रस्तुत हुन जरुरी छ। टोल-टोलमा प्रहरीको गस्ती बढाउने, मुख्य चोक र गल्लीहरूमा ‘सीसीटीभी’ क्यामेराको सञ्जाल विस्तार गर्ने, र शङ्कास्पद गतिविधिमाथि कडा निगरानी राख्ने काम तत्काल हुनुपर्छ।
सुरक्षाको प्रत्याभूति गराउनु प्रहरीको प्राथमिक कर्तव्य हो
यसका साथै, स्थानीय समुदाय र प्रहरीबीचको सहकार्य (समुदाय-प्रहरी साझेदारी) लाई अझ बढी प्रभावकारी बनाएर नागरिक आफैँ पनि आफ्नो छरछिमेकको सुरक्षामा सचेत बन्नु आवश्यक छ। राज्यले नागरिकलाई ‘म सुरक्षित छु’ भन्ने प्रत्याभूति दिलाउन ढिला गर्नु हुँदैन। अपराधीहरूलाई राजनीतिक वा अन्य कुनै पनि बहानामा संरक्षण नगरी कडा कानुनी कारबाहीको दायरामा ल्याउनै पर्छ।
नागरिकले उपयोग गर्ने किम्ती बस्तु सुरक्षित छैनन् जस्तै गर-गहना, कहाँ छ सुरक्षा निकाय ?दिनप्रतिदिन प्रश्न गर्ने नागरिक कतै पनि सुरक्षित छैनन् भन्ने तथ्य प्रहरीले नै सार्वजनिक गरेको प्रतिवेदनले पुष्टि गरेको छ । मुलुकका विभिन्न सहरी क्षेत्रका सडकमा हिँडिरहेका सर्वसाधारण, विशेष गरी महिलाहरूको गलाको सुनको सिक्री थुतेर भाग्ने घटना डरलाग्दो गरी बढेका छन्। दिउँसै, भिडभाडयुक्त सडक वा सुनसान गल्लीहरूमा मोटरसाइकलमा आउने अपराधीहरूले गुडिरहेकै अवस्थामा वा पैदलयात्रीलाई दिउँसै लुटेर फरार हुने गरेका छन्।
सहरका कुना-काप्चामा सीसीटीभी क्यामेरा जडान गरिएका दाबी गरिए पनि घटनाका बेला कि त ती क्यामेरा बिग्रिएका हुन्छन् ?
गहना लुटिँदा कतिपय महिलाहरू सडकमै पछारिएर घाइते समेत हुने गरेका छन्। नागरिक आफ्नै सहरको सडकमा ढुक्कसँग हिँड्न नसक्ने यो पराकाष्ठाले शान्ति सुरक्षाको दाबी गर्ने राज्य संयन्त्र र प्रहरी प्रशासनलाई गम्भीर गिज्याइरहेको छ।अचम्म र विडम्बनाको कुरा त के छ भने, यस्ता घटनाहरू प्रहरी चौकी वा गस्ती टोलीभन्दा केही मिटरको दूरीमै भइरहेका छन्। तर, सुरक्षा निकाय भने सधैँझैँ ‘बेखबर’ जस्तै देखिन्छ। घटना भइसकेपछि प्रहरीमा उजुरी पर्छ, मुचुल्का उठ्छ, तर विरलै मात्र लुटेराहरू समातिन्छन् र लुटिएको धनमाल फिर्ता हुन्छ। सहरका कुना-काप्चामा सीसीटीभी क्यामेरा जडान गरिएका दाबी गरिए पनि घटनाका बेला कि त ती क्यामेरा बिग्रिएका हुन्छन्, कि त तिनले अपराधीको पहिचान गर्न सक्दैनन्।
प्रहरीको यो सुस्तता र उदासीनताले सर्वसाधारणमा ‘राज्य हुनु’ को अनुभूति गराउन सकेको छैन, बरु अपराधीहरूको मनोबल भने दिनानुदिन आकाशिएको छ।गलाको सिक्री थुत्ने यो अपराध केवल धनमालको चोरी मात्र होइन, यो नागरिकको स्वतन्त्रता र आत्मसम्मानमाथिको सोझो प्रहार हो। सडकमा हिँड्दा सधैँ भयभित हुनुपर्ने र आफ्नै गहना पहिरिन पनि डराउनुपर्ने वातावरण लोकतान्त्रिक मुलुकका नागरिकका लागि सुहाउने विषय होइन। प्रहरी प्रशासन केवल चाडपर्व वा भिआइपीको सवारीमा मात्र केन्द्रित हुने तर सर्वसाधारणको दैनिक सुरक्षा ब्याबस्थामा समर्पित पक्षलाई चुक्ने छुट छैन । अब यस्ता परिपाटी बन्द हुनुपर्छ।सुरक्षा निकाय अब आफ्नो परम्परागत र ‘घटना घटेपछि मात्र ब्युँझिने’ कार्यशैलीबाट बाहिर निस्कनै पर्छ।
मुख्य सडक, गल्ली र चोकहरूमा सादा पोसाकका प्रहरी (क्राइम ब्रान्च) को बाक्लो परिचालन, शङ्कास्पद मोटरसाइकल चालकहरूको कडा चेकिङ, र आधुनिक प्रविधिको चुस्त प्रयोग तत्काल आवश्यक छ। यसका साथै लुटिएका सुनका गहना किन्ने सुनचाँदी व्यवसायी वा लुकाउने गिरोहमाथि पनि कडा कानुनी कारबाही चलाउनुपर्छ। नागरिकलाई सडकमा निर्धक्क हिँड्न पाउने सुरक्षाको प्रत्याभूति गराउनु प्रहरीको प्राथमिक कर्तव्य हो, यसबाट पन्छिने छुट कुनै नागरिकलाई छैन भन्ने ठम्याई मेरो हो।
अपराधीलाई कुनै पनि राजनीतिक वा बाह्य दबाबमा उन्मुक्ति नदिई कारबाही गर्ने हो भने नागरिकले सडकमा निर्धक्क हिँड्न पाउने वातावरण बन्ने निश्चित
विशेष गरी महिला तथा वृद्धवृद्धाको गलाको सुनको सिक्री थुतेर आतङ्क मच्चाउने अपराधीहरू विरुद्ध नेपाल प्रहरीले चालेको पछिल्लो आक्रामक कदम स्वागतयोग्य नै सावित हुँदै आएकोछ। जसका कारण नागरिकले केही राहत महसुस गरेका छन् भन्न सकिन्छ । केही दिन अघिको प्रहरी अप्रेसनमा जुन उपलब्धि हात पर्यो ! त्यसले शृङ्खलाबद्ध रूपमा लुटपाट मच्चाउँदै आएको कुख्यात ‘कर्मा समूह’ का नाइके कर्मा तामाङसहित गिरोहका सदस्यहरूलाई प्रहरीले गोली नै चलाएर नियन्त्रणमा लिनुले सुरक्षा निकाय अब अपराधीहरूविरुद्ध नरम रूपमा प्रस्तुत हुनेवाला छैन भन्ने बलियो सन्देश नागरिकमा पलाएको छ ।
अनुसन्धानका क्रममा यस्ता लुटपाटमा संलग्न गिरोहहरू अत्यन्तै सङ्गठित र योजनाबद्ध रूपमा सक्रिय रहेको डरलाग्दो तथ्य उजागर
यसअघि ‘प्रहरी बेखबर छ’ भन्दै उठ्ने गरेका नागरिकका आक्रोश र गुनासाहरूलाई सम्बोधन गर्दै प्रहरीले देखाएको यो जुझारुपनले समाजमा सुरक्षाको एउटा नयाँ भरोसा जगाएको छ।अनुसन्धानका क्रममा यस्ता लुटपाटमा संलग्न गिरोहहरू अत्यन्तै सङ्गठित र योजनाबद्ध रूपमा सक्रिय रहेको डरलाग्दो तथ्य उजागर भएको छ। मोटरसाइकल चोरी गर्ने, नक्कली नम्बर प्लेट राखेर लुटपाट मच्चाउने, प्रतिकार गर्न खोज्ने पीडितलाई कुटपिट वा घाँटी थिचेर घाइते बनाउने, र लुटिएका गहना सुन पसलमा लगेर स्वरूप बदल्नेसम्मको जालो प्रहरीले भत्काउन सफल भएको छ। लुक्न र भाग्न खोज्ने अपराधीलाई समात्न प्रहरीले ज्यानको जोखिम मोलेर काठमाडौँदेखि काभ्रे र बनेपासम्म गरेको पछिल्लो ‘चेसिङ’ र अपरेशनले नेपाल प्रहरीको व्यावसायिकता र दक्षता प्रमाणित गर्दछ।
प्रहरीको यो सक्रियता र ‘अपरेशन स्न्याचिङ’ जस्ता अभियानहरू केही दिनका लागि मात्र सीमित हुनु हुँदैन
यद्यपि, यो सफलता नै अन्तिम गन्तव्य भने होइन। पक्राउ परेका कतिपय अपराधीहरू हिरासत र कारागारबाट समेत भागेका तथा पटक-पटक लुटपाटमा सजाय पाइसकेका ‘पटके अपराधी’ हुनुले कानुनी कारबाहीको फितलोपनको पराकाष्ठ पनि देखाउँछ।
अपराधीहरू थुनामा परेपछि कानुनी छिद्रको फाइदा उठाउँदै सजिलै उम्कने र पुनः समाजमा आएर त्यही अपराध दोहोर्याउने चक्रलाई तोड्न अब कानुनी रूपमै कडा सजायको व्यवस्था हुन जरुरी छ। यसका साथै, चोरीको सुनचाँदी खरिद गर्ने र स्वरूप परिवर्तन गरिदिने सुन व्यवसायीहरूलाई पनि मतियारका रूपमा कडा कानुनी दायरामा ल्याउनै पर्छ।प्रहरीको यो सक्रियता र ‘अपरेशन स्न्याचिङ’ जस्ता अभियानहरू केही दिनका लागि मात्र सीमित हुनु हुँदैन। यो तदारुकतालाई दीर्घकालीन रूपमा निरन्तरता दिन सडक, चोक र गल्लीहरूमा २४ सै घण्टा सादा पोसाकमा प्रहरीको गस्ती र आधुनिक सीसीटीभी निगरानीको सञ्जाल थप बलियो बनाउनुपर्छ।
अपराधीलाई कुनै पनि राजनीतिक वा बाह्य दबाबमा उन्मुक्ति नदिई कारबाही गर्ने हो भने नागरिकले सडकमा निर्धक्क हिँड्न पाउने वातावरण बन्ने निश्चित छ। सुरक्षा संवेदनशीलता बुझेर मैदानमा उत्रिएको नेपाल प्रहरीको यो पछिल्लो सक्रियता र साहस कदम साँच्चै नै प्रशंसनीय छ भन्ने निचोड मेरो छ ।