प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
काठमाडौं / नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायले ‘जीवनको उत्सव मनाऔँ, विविधतालाई सम्मान गरौँ, विविधतालाई आत्मसात् गरौँ’ भन्ने नाराका साथ यस वर्ष भदौ १३ गते गाईजात्रा उत्सव मनाउने भएका छन्।
राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घ, मायाको पहिचान नेपाल, लिड नेपाल र इन्क्लुसीभ फोरम नेपाललगायतका संस्थाको संयुक्त आयोजनामा उत्सव हुन लागेको हो।
आयोजकका अनुसार भदौ १३ गते दिउँसो १ बजे काठमाडौंको ठमेलस्थित सञ्चयकोष भवनबाट र्याली सुरु हुनेछ। र्यालीमा सांस्कृतिक तथा कलात्मक प्रस्तुति, सङ्गीत, नृत्य, विशेष पहिरन, हास्य–व्यङ्ग्यसँगै राजनीतिक समावेशीकरण र सहभागिताका लागि आह्वान गर्ने सन्देशहरू प्रस्तुत गरिनेछ।
लैङ्गिक विविधताको उत्सव, सामुदायिक ऐक्यबद्धता, स्मृति र जीवनका रचनात्मक अभिव्यक्तिसमेत र्यालीमा समेटिने आयोजकले जनाएको छ।
र्यालीको समापन वसन्तपुर दरबार क्षेत्रमा दीप प्रज्वलन गरेर गरिनेछ। दिवङ्गत जिएसएम समुदायका सदस्यहरूको सम्झनामा दीप प्रज्वलन गर्दै उनीहरूको जीवन, योगदान र समुदायमा रहेको स्थानप्रति सम्मान व्यक्त गरिने आयोजकले जनाएको छ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले अधिकारकर्मी सुनिल बाबु पन्तको नेतृत्वमा सन् २००२ अर्थात् २०५९ सालदेखि सामूहिक रूपमा गाईजात्रा मनाउन सुरु गरेका हुन्। समयक्रमसँगै गाईजात्रा जिएसएम समुदायका लागि दृश्यता, अभिव्यक्ति स्वतन्त्रता, सामुदायिक ऐक्यबद्धता र सामूहिक पैरवीको महत्वपूर्ण सांस्कृतिक मञ्च बनेको आयोजकको भनाइ छ।
आयोजकका अनुसार गाईजात्राले शोक र उत्सव, हास्य र व्यङ्ग्य, पहिचान र प्रतिरोध तथा परम्परा र सामाजिक परिवर्तनलाई एकै ठाउँमा जोड्ने काम गर्दै आएको छ। समुदायले यसलाई दिवङ्गत सदस्यहरूको सम्झना गर्ने दिनका रूपमा मात्र नभई जीवन, पहिचान, विविधता र आत्मअभिव्यक्तिको स्वतन्त्रता मनाउने अवसरका रूपमा लिँदै आएको छ।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक तथा पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले गाईजात्रा केवल शोकको दिन नभई अस्तित्व, पहिचान, मर्यादा, विविधता र स्वतन्त्रताको उत्सव भएको बताए।
उनका अनुसार गाईजात्राका माध्यमबाट दिवङ्गत समुदायका सदस्यहरूको स्मरणसँगै सामाजिक स्वीकार्यता, समानता, राजनीतिक सहभागिता, सांस्कृतिक स्वतन्त्रता र समावेशी भविष्यका लागि सामूहिक आवाज उठाइनेछ।
पन्तले गाईजात्रा २०८३ मा सहभागी हुन सबैलाई आह्वान गर्दै आफूहरूले गुमाएका प्रियजनप्रति सम्मान व्यक्त गर्न, आफ्नो पहिचानको उत्सव मनाउन तथा समानता, मर्यादा र समावेशी भविष्यका लागि एकताबद्ध हुन आग्रह गरेका छन्।
