प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
नुवाकोट / त्रिशूली नदी तथा सहायक नदीमा आएको असाधारण बाढीबाट रसुवादेखि चितवनसम्म ठूलो जनधनको क्षति भएपछि बाढी प्रभावितलाई खाद्यान्न र लत्ताकपडासँगै अस्थायी तथा स्थायी आश्रय निर्माणलाई प्राथमिकता दिनुपर्ने आवाज उठेको छ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई, नेपालका क्याबिनेट सेक्रेटरी लायन अनुज कुमार श्रेष्ठले तत्काल राहत सामग्री वितरण आवश्यक भए पनि घरबार गुमाएका तथा विस्थापित परिवारका लागि सुरक्षित बासको व्यवस्था अझ महत्वपूर्ण रहेको बताएका छन्।

उनका अनुसार विभिन्न सामाजिक संघसंस्था तथा स्वयंसेवी निकायले खाद्यान्न, लत्ताकपडालगायत राहत सामग्री वितरण गरिरहेका छन्। तर यस्तो सहयोग तत्कालीन आवश्यकता पूरा गर्न मात्र सीमित हुने भएकाले अब राहतसँगै आश्रयस्थल निर्माण, पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
श्रेष्ठले बाढीका कारण पुल तथा सडकमा क्षति पुग्दा नदीपारिका प्रभावितसम्म राहत र उद्धार पुर्याउन चुनौती देखिएको उल्लेख गर्दै पहुँच कठिन भएका क्षेत्रलाई प्राथमिकतामा राखेर विशेष योजना बनाउनुपर्ने बताए।
उनले भने, “जहाँ पुग्न कठिन छ, त्यहाँ सेवा अझ बढी आवश्यक हुन्छ। नदीपारि उद्धारको पर्खाइमा रहेका प्रभावितसम्म पुग्न सुरक्षा निकाय, प्रशासन र सामाजिक संघसंस्थाबीच तत्काल प्रभावकारी समन्वय आवश्यक छ।”
लायन्सले बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सूचना प्रवाह, राहत तथा उद्धार सहयोग, खाना वितरण, स्वास्थ्य सेवा र सचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। स्वयंसेवकहरू विभिन्न समूह बनाएर प्रभावित क्षेत्रमा परिचालित छन्।
श्रेष्ठले राहत कार्यलाई खाद्यान्न र लत्ताकपडा वितरणमा मात्र सीमित नराखी सुरक्षित आश्रय, पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणसँग जोड्नुपर्नेमा जोड दिए।

लगातारको वर्षा तथा नदीको जलसतह बढिरहेकाले त्रिशूली र आसपासका तटीय क्षेत्र अझै जोखिममा रहेको भन्दै नदी किनारमा अनावश्यक गतिविधि नगर्न तथा उच्च जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उनले आग्रह गरे।
सडक तथा राजमार्गसमेत जोखिममा रहेकाले अत्यावश्यकबाहेकका यात्रा स्थगित गर्न र यात्रा गर्नैपरे मौसम तथा सडकको अवस्था बुझेर मात्र अघि बढ्न आग्रह गरिएको छ।
विपद्को समयमा स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था, युवा क्लब, आमा समूह तथा टोल सुधार समितिबीच प्रभावकारी समन्वय आवश्यक रहेको श्रेष्ठले बताए।
“अहिले प्रभावित परिवारलाई राहत मात्र होइन, सुरक्षित बास र भविष्यको सुनिश्चितता आवश्यक छ,” उनले भने, “त्यसैले सबै सामाजिक संघसंस्था, स्थानीय तह, सरकारी निकाय र सहयोगी हातहरूलाई राहतसँगै आश्रयस्थल निर्माण तथा पुनःस्थापनामा जुट्न अपिल गर्दछौँ।”
लायन्स इन्टरनेशनलले विपद्को यस कठिन घडीमा प्रभावितको उद्धार, राहत, स्वास्थ्य तथा पुनःस्थापनाका कार्यमा निरन्तर सहकार्य गर्ने जनाएको छ।