प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र १६, मंगलबार
काठमाडौं / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत अभ्यासबाट बाहिर निस्केर विपद् सहन सक्ने गरी नेपालको विकासको ढाँचा नै परिवर्तन गर्नुपर्ने बताएकी छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले पछिल्ला वर्षहरूमा नेपालले भोग्दै आएका विनाशकारी विपद्हरूले विकास र पूर्वाधार निर्माणमा नयाँ सोचको आवश्यकता देखाएको उल्लेख गरेकी हुन्।
उनका अनुसार पछिल्लो १२–१३ वर्षमा नेपालले जुरेको पहिरो, २०७२ को भूकम्प, भोटेकोशी र मेलम्चीको बाढी, जाजरकोट भूकम्प, थामेको गेग्रान बहाव तथा हालै रसुवामा आएको बाढीजस्ता ठूला विपद् सामना गरेको छ। यस्ता विपद्का कारण वर्षौँ लगाएर र ऋण लिएर निर्माण गरिएका पूर्वाधारसमेत केही घण्टामै ध्वस्त हुने गरेको उनले बताएकी छन्।
मन्त्री गौतमले अब भत्किएका संरचना पुनः निर्माण गर्ने सोचमा मात्र सीमित नभई भविष्यमा विपद् थेग्न सक्ने संरचना निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएकी छन्।
उनले सुरक्षित भू–उपयोग, एकीकृत तथा योजनाबद्ध बस्ती, जलवायु अनुकूल पूर्वाधार र आवश्यकताअनुसार योजनाबद्ध पुनर्वासलाई विकासको अभिन्न हिस्सा बनाउनुपर्ने बताएकी छन्।
विपद् तथा जलवायु उत्थानशीलतालाई छुट्टै कानुनी वा नीतिगत विषयका रूपमा मात्र सीमित नगरी हरेक विकाससम्बन्धी कानुन, नीति, योजना र पूर्वाधार निर्माणको आधारभूत सिद्धान्त बनाउनुपर्नेमा उनले जोड दिएकी छन्।