प्रभातफेरी अनलाइन६१ पटक पढिएको | २०८३ भाद्र १६, मंगलबार
काठमाडौं / वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै तीन जना युवायुवतीबाट १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–४ बस्दै आएकी ५५ वर्षीया सञ्चमाया तामाङ रहेकी छन्।
तामाङले बेरोजगार युवायुवतीलाई आकर्षक तलबसहितको रोजगारीको प्रलोभन देखाउँदै इराक पठाइदिने भन्दै लामो समयसम्म झुक्यानमा राखेको प्रहरीले जनाएको छ। पछि विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए।
जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा तामाङले तीन जना पीडितबाट कुल १० लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ।
तामाङलाई गत भदौ ११ गते बुढानीलकण्ठ नगरपालिका–४, पासिकोटबाट पक्राउ गरिएको हो।
पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।