logo
२०८३ भाद्र १८, बिहिबार |
📰
🔍

प्रधानमन्त्री बालेन शाह : ‘विपत्तिसँग लड्नुको विकल्प छैन, शरीर थाके पनि विश्रामको छुट छैन’

प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
प्रधानमन्त्री बालेन शाह : ‘विपत्तिसँग लड्नुको विकल्प छैन, शरीर थाके पनि विश्रामको छुट छैन’

काठमाडौँ / प्रधानमन्त्री बालेन शाहले विपत्तिको सामना गर्नुको विकल्प नभएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो कठिन समयमा देशको नेतृत्वले आँशु होइन, नागरिकलाई हिम्मत र भरोसा दिनुपर्ने बताए।

उनले दृढ संकल्प र साहसका साथ विपत्तिविरुद्ध लड्नुपर्नेमा जोड दिँदै भने, “विपत्तिमा लड्नुको विकल्प छैन र थिएन। हामी लडिरहेका छौँ।”

प्रधानमन्त्री शाहले रसुवामा आएको बाढी सिंगो देशको छातीमा परेको बज्रपात भएको बताए। आफ्ना आफन्त अझै फेला नपरेर उनीहरूको बाटो कुरिरहेका नागरिकको पीडा आफूले गहिरोसँग महसुस गरेको उनको भनाइ थियो।

“यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सिंगो नेपालको छातीमा परेको बज्रपात हो,” उनले भने।

शाहले विपत्तिको समयमा शरीर थाक्यो भन्दै विश्राम लिने वा मन भक्कानियो भन्दै विलौना गर्ने अवस्था नरहेको बताए। अहिले नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सबैले दृढताका साथ काम गर्नुपर्ने उनको भनाइ थियो।