logo
२०८३ आश्विन २२, बिहिबार |
☰
📰
🔍
✕

लोककल्याणकारी विज्ञापन कटौती फिर्ता गराउन चरणबद्ध आन्दोलनको तयारी

प्रभातफेरी अनलाइन५१ पटक पढिएको | २०८३ भाद्र २०, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता गराउन चरणबद्ध आन्दोलनको तयारी

काठमाडौं / लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाअन्तर्गत गठित छापा माध्यम बचाउ सुझाव कार्यदलले चरणबद्ध आन्दोलनमा जान प्रस्ताव गरेको छ। कार्यदलले तत्काल सरकार तथा राजनीतिक दलका नेतासँग संवाद गरी समस्या समाधानको प्रयास गर्ने र एक साताभित्र माग सम्बोधन नभए दबाबमूलक तथा भौतिक आन्दोलन सुरु गर्न महासंघलाई सुझाव दिएको हो।

शनिबार बिहान बसेको कार्यदलको बैठकले दामोदरप्रसाद दवाडीलाई संयोजक चयन गर्दै नेपाल पत्रकार महासंघलाई सातबुँदे सुझाव दिएको छ। संशोधित कार्यविधिअनुसार कटौती गरिएको रकमको लोककल्याणकारी विज्ञापनको बिल विज्ञापन बोर्ड वा सम्बन्धित हुलाक कार्यालयमा पेस नगर्न देशभरका छापा माध्यमलाई आह्वान गर्न महासंघ केन्द्रीय समितिसमक्ष अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ।

सरकारी विज्ञापन वितरणमा भइरहेको विभेद, लोककल्याणकारी विज्ञापनको रकम कटौती तथा राष्ट्रिय समाचार समिति (रासस) को बुलेटिन शुल्कमा गरिएको ठूलो कटौती तत्काल सच्याउनुपर्ने कार्यदलको निष्कर्ष छ। समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सम्बन्धित सरकारी निकाय र राजनीतिक दलका नेतासँग भेटघाट गरी दबाब सिर्जना गर्ने निर्णय गरिएको छ।

कार्यदलले एक सातासम्म संवाद, छलफल र परामर्शमार्फत समस्या समाधानको प्रयास गर्ने जनाएको छ। त्यस अवधिमा माग सम्बोधन नभए आन्दोलनलाई चरणबद्ध रूपमा अघि बढाउने प्रस्ताव महासंघसमक्ष गरिएको छ।

छापा माध्यमको आर्थिक संकट गहिरिँदै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनको रकम कटौतीले विशेषगरी साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको अस्तित्वमा थप चुनौती सिर्जना गरेको कार्यदलको ठहर छ। छापा माध्यमको संरक्षणलाई केवल व्यावसायिक विषयका रूपमा नभई प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारसँग जोडेर हेर्नुपर्नेमा पनि कार्यदलले जोड दिएको छ।

सरकारी विज्ञापन नीतिमा समानता, पारदर्शिता र निष्पक्षता कायम गर्नुपर्ने तथा सञ्चारमाध्यमप्रति विभेदपूर्ण व्यवहार अन्त्य गर्नुपर्ने कार्यदलको भनाइ छ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले भदौ १९ गते छापा माध्यमका सम्पादक तथा प्रकाशकसँग सुझाव संकलन तथा छलफल गरेपछि कार्यदल गठन गरेको थियो। दवाडीको संयोजकत्वमा डा. केशव देवकोटा, टंक कार्की, हेमराज सिलवाल, मुक्ति बास्तोला, विश्वराज किराँत, सीता पोखरेल, नृपेन्द्रलाल श्रेष्ठ, डिल्लीराम भट्टराई, पदमराज जोशी र कल्पना खड्का सदस्य रहेको कार्यदल गठन गरिएको हो।

कार्यदलले सरकारलाई तत्काल निर्णय पुनर्विचार गरी छापा माध्यमलाई संकटबाट जोगाउने वातावरण निर्माण गर्न आग्रह गरेको छ। माग सम्बोधनमा ढिलाइ भए नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नेतृत्वमा देशभरका छापा माध्यमलाई आन्दोलनमा सहभागी गराई दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझावसमेत दिइएको छ।