logo
२०८३ कार्तिक १०, सोमबार |
☰
📰
🔍
✕

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले नेता ज्ञवालीको आपत्ति

प्रभातफेरी अनलाइन६ पटक पढिएको | ९ मिनेट अघि
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले नेता ज्ञवालीको आपत्ति

काठमाडौं / नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय सञ्चारमाध्यमको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ।

अर्थमन्त्री वाग्लेले केही दिनअघि नयाँ दिल्लीमा आयोजित भारतीय टेलिभिजनको कार्यक्रममा नेपालमा भारतविरोधी राष्ट्रवादको युग सधैँका लागि अन्त्य भएको उल्लेख गर्नुभएको थियो। उक्त अभिव्यक्तिप्रति टिप्पणी गर्दै नेता ज्ञवालीले यसलाई गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान तथा राष्ट्रिय हितमा आँच पुर्‍याउने खालको भएको दाबी गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो मुलुकको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उचित नहुने बताउनुभएको छ। उहाँले नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नरहेको उल्लेख गर्दै नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित सम्बन्ध चाहेको बताउनुभएको छ।

नेता ज्ञवालीले नेपाल र भारतबीच सीमा समस्या, सन् १९५० को सन्धिका केही प्रावधान, नेपाली उत्पादनलाई भारतीय बजारमा प्रवेश गर्न हुने कठिनाइ, बढ्दो व्यापार घाटा, सीमामा निर्माण गरिएका बाँधका कारण हुने डुबान तथा वैकल्पिक हवाई प्रवेश मार्गसम्बन्धी विषयहरू रहेको औँल्याउनुभएको छ।

यी विषयमा छिमेकी भारतसँग खुला छलफल र गम्भीर कूटनीतिक पहल आवश्यक रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय हितका विषय उठाउनु कुनै देशको विरोध नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय भएको बताउनुभएको छ।

ज्ञवालीले राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्न बलियो राष्ट्रिय एकता, सहमति र प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ।