logo
२०८३ भाद्र २१, आईतबार |
📰
🔍

वाईसीएलको राहतसँगै श्रमदान अभियान, नुवाकोटका बाढीपीडित बस्तीमा सक्रिय

प्रभातफेरी अनलाइन५ पटक पढिएको | २४ मिनेट अघि
वाईसीएलको राहतसँगै श्रमदान अभियान, नुवाकोटका बाढीपीडित बस्तीमा सक्रिय

नुवाकोट / नुवाकोटमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले राहत वितरणसँगै श्रमदान अभियान सञ्चालन गरेको छ।

वाईसीएलले जिल्लाका तुप्चे, त्रिशूलीपारि लगायतका प्रभावित बस्ती तथा अस्थायी होल्डिङ सेन्टरमा पुगेर पीडित परिवारलाई आवश्यक राहत सामग्री वितरण गर्नुका साथै बाढीले क्षति पुर्‍याएका संरचनाबाट भग्नावशेष, माटो, हिलो तथा ढुंगा पन्छाउने काममा प्रत्यक्ष श्रमदान गरेको हो।

नेकपाका केन्द्रीय सदस्य राजन दाहाल, वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली र नुवाकोट जिल्ला अध्यक्ष जलन गजुरेलको नेतृत्वमा टोली कार्यक्षेत्रमै खटिएको छ।

अभियान अन्तर्गत प्रभावित परिवारलाई ९२ वटा डसना, ९० वटा तन्ना, ५० थान ओढ्ने पोलार, करिब १०० बालबालिकाका लागि लत्ताकपडा, २ रोल म्याट, २ दर्जन हर्लिक्स र १०० जोर चप्पल वितरण गरिएको छ। त्यस्तै, चामल, दाल, नुनलगायत खाद्यान्न, प्राथमिक उपचारका औषधि तथा बालबालिकाका लागि स्टेसनरी सामग्रीसमेत उपलब्ध गराइएको वाईसीएलले जनाएको छ।

राहत वितरणमा मात्र सीमित नभई वाईसीएलका कार्यकर्ताहरू त्रिशूलीस्थित पुरानो बजार क्षेत्रमा बाढीले क्षति पुर्‍याएका घर तथा संरचनाबाट माटो, हिलो र ढुंगा पन्छाउन गैँती, बेल्चा र अन्य सामग्रीसहित श्रमदानमा जुटेका छन्।

वाईसीएलले आगामी दिनमा पुनर्निर्माण तथा पुनःस्थापनाको चरणमा समेत स्थानीय समुदाय र राज्य संयन्त्रसँग समन्वय गरी ठूलो संख्यामा युवालाई निःशर्त स्वयंसेवाका रूपमा परिचालन गर्ने जनाएको छ।