logo
२०८३ भाद्र २२, सोमबार |
📰
🔍

त्रिशूली–३ बीका बेपत्ताका आफन्त माइतीघरमा, तत्काल खोजी गर्न माग

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ भाद्र २२, सोमबार
त्रिशूली–३ बीका बेपत्ताका आफन्त माइतीघरमा, तत्काल खोजी गर्न माग

काठमाडौँ / माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनामा आफन्त बेपत्ता भएका परिवार तथा आफन्तजनले तत्काल खोजी तथा उद्धारको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन्।

भोटेकोशीमा आएको बाढी र लेदो–पहिरोमा परी बेपत्ता भएकाहरूको अवस्था सार्वजनिक गर्न तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन माग गर्दै उनीहरू माइतीघरमा भेला भएका हुन्। ‘कि सास, कि आश’ भन्दै आफन्तहरूले १३ दिनदेखि बेपत्ता आफ्ना परिवारजनको खोजी तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

रसुवा र नुवाकोटको सीमा क्षेत्रमा रहेको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा बाढी तथा लेदो–पहिरोपछि ४३ जना बेपत्ता भएको पुष्टि भएको छ। प्रारम्भिक चरणमा करिब १९८ देखि २०१ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको विवरण आए पनि पछि विवरण संकलन तथा सम्पर्क स्थापना भएपछि क्याम्प क्षेत्रमा लेदोले पुरिएर ४३ जना बेपत्ता भएको पुष्टि भएको हो।

बेपत्ताको खोजीका लागि नेपाली सेनासहितको टोलीले अत्याधुनिक उपकरण, ड्रोन तथा एक्साभेटर प्रयोग गर्दै निरन्तर खोजी तथा उद्धार कार्य जारी राखेको छ। तर, हालसम्म बेपत्ताहरूको अवस्था पत्ता लाग्न सकेको छैन।