logo
२०८३ भाद्र २४, बुधबार |
📰
🔍

प्रोफेसर आर्नोल्ड डिक्स: भोटेकोशीको विपत्ति विश्वमै दुर्लभ, उद्धार चुनौतीपूर्ण

प्रभातफेरी अनलाइन१० पटक पढिएको | १ घण्टा अघि
प्रोफेसर आर्नोल्ड डिक्स: भोटेकोशीको विपत्ति विश्वमै दुर्लभ, उद्धार चुनौतीपूर्ण

काठमाडौं / अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा भएको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति भएको बताउनुभएको छ।

बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहनुभएका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो।

त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले करिब ७२ किलोमिटर क्षेत्र प्रभावित बनेको र अत्यन्तै कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताउनुभयो। साँघुरा गल्छी, क्षतिग्रस्त सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने अवस्थाका कारण उद्धार टोलीले ठूलो जोखिम मोलेर काम गरिरहेको उहाँको भनाइ छ।

डिक्सले यस्तो प्रकृतिको विपत्ति आफूले विश्वमा विरलै देखेको बताउँदै अहिले कसैलाई दोष दिने समय नभएको उल्लेख गर्नुभयो। नेपाल सरकार र ऊर्जा मन्त्रालयले उद्धारमा गरिरहेको समन्वयको प्रशंसा गर्दै उहाँले विपत्ति प्राकृतिक रूपमा आएको र यसमा नेपालको कुनै दोष नरहेको बताउनुभयो।

सतहमा ठूलो विनाश देखिए पनि त्यसकै आधारमा भूमिगत संरचनाभित्र जीवित व्यक्ति नरहेको निष्कर्षमा पुग्न नहुने डिक्सको भनाइ छ। जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो।

उहाँले उद्धारका लागि आयोजनाका इन्जिनियरिङ डिजाइन, नक्सा र प्राविधिक तथ्यांक अध्ययन गरी सम्भावित पहुँचमार्ग पहिचान गरिएको जानकारी दिनुभयो। तर सडक र पुलमा भएको क्षतिका कारण आवश्यक भारी उपकरण घटनास्थलसम्म पु¥याउन कठिनाइ भइरहेको उहाँले बताउनुभयो।

डिक्सका अनुसार केही आवश्यक उपकरणको तौल करिब पाँच टनसम्म रहेकाले हेलिकप्टरबाट ढुवानी सम्भव छैन। त्यसैले सडक निर्माणलाई प्राथमिकता दिइएको र वैकल्पिक रूपमा केबल पुल वा रोपवेको सम्भावनासमेत खोजी भइरहेको छ।

सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारलाई १७ दिनपछि उद्धार गर्ने अभियानमा महत्वपूर्ण प्राविधिक भूमिका निर्वाह गर्नुभएका डिक्सले नेपालमा भइरहेको उद्धार अभियान सामान्य सुरुङ उद्धारभन्दा निकै फरक रहेको बताउनुभयो।

उहाँले हालको घटनाका आधारमा जलविद्युत् आयोजनाका पुराना डिजाइनलाई दोष दिनु उचित नहुने स्पष्ट पार्नुभयो। विगतमा उपलब्ध ज्ञान र जोखिम मूल्यांकनका आधारमा तयार गरिएका डिजाइनलाई अहिले विश्वमै असामान्य मानिएको घटनाका आधारमा मात्र गलत भन्न नमिल्ने उहाँको भनाइ छ।

डिक्सले भविष्यमा यस्ता असाधारण विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार तथा सुरक्षा प्रणालीलाई आयोजना डिजाइनकै चरणदेखि समेट्नुपर्ने आवश्यकता औँल्याउनुभयो। जलविद्युत् नेपालको ऊर्जा सुरक्षा, राष्ट्रिय विकास र सार्वभौमिकतासँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले बाढीबाट भएको क्षतिलाई व्यापक दृष्टिकोणबाट हेर्नुपर्ने उहाँले बताउनुभयो।

उहाँले कठिन भौगोलिक अवस्था, ध्वस्त सडक–पुल, सीमित पहुँच र उपकरण अभावका बाबजुद नेपाली तथा अन्तर्राष्ट्रिय टोलीले गरिरहेको प्रयासको प्रशंसा गर्दै सम्भावित जीवित व्यक्तिको खोजीलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

डिक्सले नेपाली जनतालाई आफूहरू एक्लो नरहेको सन्देश दिँदै अन्तर्राष्ट्रिय समुदायले नेपालमा भइरहेको विपत्तिप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरिरहेको बताउनुभयो।