logo
२०८३ भाद्र २४, बुधबार |
📰
🔍

रसुवामा बाढीले क्षतिग्रस्त टेलिकम नेटवर्कको पहिलो चरणको पुनःस्थापना सम्पन्न

प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
रसुवामा बाढीले क्षतिग्रस्त टेलिकम नेटवर्कको पहिलो चरणको पुनःस्थापना सम्पन्न

काठमाडौँ / यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःस्थापना कार्य सम्पन्न भएको छ।

बाढीका कारण रसुवागढी र बेत्रावतीमा एक–एक वटा अप्टिकल लाइन टर्मिनल (ओएलटी), रसुवागढी, बेत्रावती र त्रिशूलीमा एक–एक वटा गरी पाँच वटा फाइबर डिस्ट्रिब्युसन क्याबिनेट (एफडीसी) तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो। यसबाट ती क्षेत्रमा नेपाल टेलिकमका १ हजार ५४४ वटा एफटीटीएच लाइन पूर्ण रूपमा प्रभावित भएका थिए।

विपद्पछि नेपाल टेलिकमले प्राविधिक जनशक्ति र आवश्यक स्रोतसाधन परिचालन गर्दै नेटवर्क मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको थियो। हालसम्म प्रभावितमध्ये १ हजार ९३ वटा एफटीटीएच लाइन पुनःसञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार यससँगै प्रभावित सेवाको पहिलो चरणको पुनःसञ्चालन सम्पन्न भएको हो। बाँकी प्रभावित लाइनहरू सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, बस्तीको स्थिति, प्राविधिक सम्भाव्यता तथा ग्राहकको मागका आधारमा क्रमशः पुनःसञ्चालनमा ल्याइनेछ।

प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिमा समेत सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।