प्रभातफेरी अनलाइन५ पटक पढिएको | ४५ मिनेट अघि
काभ्रे / काभ्रेपलाञ्चोकको ऎतिहासिक ब्यापारिक नगरिमा बनेपा बजारमा बुधबार संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखिएको तथा केही होटलका भान्सा फोहोर अवस्थामा रहेको भेटिएको छ ।
अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखिएको पाइएको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय काभ्रेका प्रमुख रविन घिमिरेले बताउनुभएको छ । त्यस्तै, केही होटलका भान्सा तथा खाद्य सामग्री राख्ने स्थानसमेत फोहोर अवस्थामा भेटिएको प्रमुख घिमिरेले जानकारी गराउनु भएको छ । म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि नराख्न तथा होटलको भान्सा र खाद्य सामग्रीको सरसफाइमा विशेष ध्यान दिन सम्बन्धित व्यवसायीलाई तत्काल निर्देशन दिइएको बताउनु भएको छ ।
अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य सामग्रीको गुणस्तर र सरसफाइमा लापरबाही नगर्न व्यवसायीलाई सचेत गराइएको छ ।
अनुगमन टोलीले बजारमा रहेका ग्यास डिपोहरूको समेत निरीक्षण गरेको थियो । प्रमुख घिमिरेका अनुसार विषयगत कार्यालयहरूले उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापनका लागि हरेक महिना कम्तीमा चार पटक र आवश्यकता अनुसार नियमित बजार अनुगमन गर्दै आएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलका प्रमुख मनिषा चापागाईंले उपभोक्ता हित संरक्षणसँगै खाद्य पदार्थको गुणस्तर कायम गर्न संयुक्त बजार अनुगमनलाई निरन्तरता दिइने बताउनुभएको छ । बजारमा गुणस्तरहीन तथा म्याद गुज्रिएका खाद्य सामग्रीको बिक्री–वितरण रोक्न र व्यवसायीलाई जिम्मेवार बनाउन आगामी दिनमा पनि अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभएको छ । प्रमुख चापागाईंले उपभोक्ताले पनि खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, लेबल तथा गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको नेतृत्वमा गरिएको अनुगमनमा उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय काभ्रे, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेललगायतका निकायको सहभागिता रहेको थियो । अनुगमन टोलीले बनेपा बजारका विभिन्न क्षेत्रमा रहेका होटल, किराना पसल, फलफूल पसल तथा खाद्य पदार्थ बिक्री–वितरण गर्ने व्यवसायहरूको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत सुनिता थापाले जानकारी दिनुभएको छ ।